सिराहामा शिक्षामन्त्री माथि अभद्र व्यवहार, यस्तो छ शिक्षामन्त्रीको प्रतिक्रिया

काठमाडौं/२७ भदौ – शैक्षिक कार्यक्रम र पाठ्यक्रम परिमार्जनका लागि मधेस प्रदेशमा सुझाव संकलनको लागि पुगेका शिक्षामन्त्री सस्मित पोखरेल माथी अभद्र व्यवहार गरिएको छ । सिराहाको एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनी बोल्दै गर्दा उनको विरोध गर्दै होहल्ला गरिएको र उनीमाथि अभद्र व्यवहार गरिएको हो ।


कार्यक्रममा सम्बोधन गर्दै गर्दा होहल्ला र अभद्र व्यवहार भएपछि उनि सम्बोधनलाई विचमै स्थगित गरेर बाहिरिएका थिए ।


साथै उनलाई लखेटिएको भन्दै सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि शिक्षामन्त्री पोखरेलले प्रतिक्रिया दिएका छन् । उक्त घटनालाई लिएर प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले घटनाको एक मिनेटभन्दा छोटो भिडियो क्लिप काटेर सामाजिक सञ्जालमा सम्पूर्ण सन्दर्भ बङ्ग्याउने प्रयास भएको उल्लेख गरेका छन् ।


उनका अनुसार सिरहा र सप्तरीमा आयोजित अन्तरक्रियामा १०० जनाभन्दा बढी सरोकारवालाको सहभागिता थियो । कार्यक्रममा दुई जना व्यक्तिले आएर हल्ला गरेपछि विद्यार्थी, शिक्षक र अभिभावकको सहभागिता प्रभावित हुने अवस्था बनेकाले आफूहरू कार्यक्रमस्थलबाट बाहिरिएको बताए ।


‘लोकतान्त्रिक पद्धतिमा असहमति जनाउने अधिकार सबैलाई हुन्छ । तर, पूरा सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउनु वा नियोजित भ्रमको पछि लाग्नु उचित हुँदैन,’ पोखरेलले सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिएका छन् ।


कार्यक्रममा अवरोध सिर्जना भए पनि शिक्षा सुधारको अभियान प्रभावित नहुने उल्लेख गर्दै घटनापछि आफूहरू सिरहास्थित बहिरा बालबालिका अध्ययन गर्ने विद्यालय तथा मदरसा शिक्षालयमा पुगेर विद्यार्थीहरूसँग संवाद गरेको बताए ।


मन्त्री पोखरेलका अनुसार सुझाव सङ्कलन अभियानअन्तर्गत टोली भोलि सप्तरीहुँदै मोरङतर्फ जानेछ ।