हामी स्टन्ट गर्न होइन, शिक्षा क्षेत्रमा वास्तविक परिवर्तन ल्याउन आएका हौँ : शिक्षामन्त्री

काठमाडौँ /२७ भदौ – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि मधेश प्रदेशमा भइरहेको सुझाव संकलन कार्यक्रमलाई प्रभावित पार्ने गरी घटनाको सन्दर्भ तोडमोड गरेर भ्रामक प्रचार गरिएको बताउनुभएको छ ।


मन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै कुनै पनि भ्रम वा भ्रामक प्रचारले शिक्षा सुधारको मूल उद्देश्यलाई रोक्न नसक्ने स्पष्ट पार्नुभएको हो ।


उहाँका अनुसार सिरहा र सप्तरीमा आयोजित अन्तरक्रिया कार्यक्रममा १०० भन्दा बढी विद्यार्थी, शिक्षक, अभिभावक तथा अन्य सरोकारवालाको सहभागिता थियो । कार्यक्रममा दुई जना व्यक्तिले हल्लाखल्ला गरेपछि सहभागीको सहभागिता प्रभावित हुने अवस्था आएपछि आफूहरू कार्यक्रमस्थलबाट बाहिरिएको उहाँले बताउनुभयो ।


“एक मिनेटभन्दा पनि छोटो भिडियो क्लिप काटेर सम्पूर्ण घटनाको सन्दर्भ नै बङ्ग्याएर अनावश्यक भ्रम फैलाउने प्रयास गरिएको छ,” मन्त्री पोखरेलले भन्नुभएको छ ।


उहाँले लोकतान्त्रिक व्यवस्थामा असहमति जनाउने अधिकार सबैलाई भए पनि घटनाको पूर्ण सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउनु उचित नहुने बताउनुभयो ।


मन्त्री पोखरेलले उक्त घटनापछि पनि शिक्षा सुधारका लागि आफ्नो अभियान नरोकिएको जानकारी दिनुभयो । उहाँका अनुसार सिरहास्थित बहिरा बालबालिका अध्ययन गर्ने विद्यालय र मदरसा शिक्षालयमा पुगेर विद्यार्थीहरूसँग संवाद गर्नुका साथै सोमबार मात्रै करिब आठदेखि १० वटा विद्यालयमा पुगेर सुझाव संकलन गरिएको थियो ।


उहाँले मधेश प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बढ्दो प्रभाव र शिक्षा क्षेत्रमा भइरहेका सकारात्मक कामप्रति असन्तुष्टि हुन सक्ने भए पनि त्यसका आधारमा भ्रम फैलाउनुभन्दा सरकारले गरिरहेको कामको मूल्याङ्कन जनतालाई नै गर्न दिनुपर्ने बताउनुभयो।


“हामी राजनीतिक स्टन्ट वा हल्ला गर्न होइन, ग्राउन्डमै पुगेर शिक्षा क्षेत्रमा वास्तविक र सकारात्मक परिवर्तन ल्याउन आएका हौँ,” उहाँले भन्नुभएको छ । हल्लाभन्दा काम ठूलो भएकाले आफ्नो काम र नियतको मूल्याङ्कन जनताले गर्ने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो ।


मन्त्री पोखरेलले नेपालको विद्यालय शिक्षालाई थप व्यवहारिक, सीपमूलक र समयसापेक्ष बनाउने उद्देश्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले विभिन्न जिल्लामा विद्यार्थी, शिक्षक र अभिभावकसँग सुझाव संकलन गरिरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार आगामी शैक्षिक सत्रदेखि कार्यान्वयन गर्ने लक्ष्यसहित ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ लगायतका अवधारणाबारे पनि सरोकारवालासँग सुझाव लिइनेक्रम जारी रहेको छ । मधेश प्रदेशको कार्यक्रमपछि टोली सप्तरी हुँदै मोरङतर्फ जाने कार्यक्रम रहेको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले पहिलो चरणमा भदौ २४ गतेदेखि सातै प्रदेशका २८ जिल्लामा विद्यार्थी, शिक्षक, अभिभावक तथा अन्य सरोकारवालासँग अन्तरक्रिया गरी सुझाव तथा पृष्ठपोषण संकलन गरिरहेको छ । यो अभियान भदौँ ३० गतेसम्म सञ्चालन हुनेछ । दोस्रो चरणमा ७७ वटै जिल्लामा सरोकारवालासँग सुझाव लिइनेछ ।