इम्पेरियल वर्ल्ड स्कुलद्वारा बाढीपीडितलाई राहत सहयोग

काठमाडौँ /२२ भदौ – इम्पेरियल वर्ल्ड  स्कुलले रसुवामा बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाएको छ ।


विद्यालयले श्रद्धाञ्जली कार्यक्रमसँगै विपद् प्रभावितका लागि आर्थिक तथा राहत सामग्री समेत सहयोग गरेको छ ।


विद्यालय परिसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा विद्यालयका अध्यक्ष कुमार कार्की, प्रिन्सिपल जुनीता कार्की, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरूले बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा मैनबत्ती बाली तथा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।


विद्यार्थीहरूले आफ्ना भावना समेटिएका समवेदना तथा श्रद्धाञ्जली सन्देश लेखिएका नोटहरू समेत समर्पित गरेका थिए । कार्यक्रमअघि विद्यालयकी प्रिन्सिपल जुनीता कार्कीले बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै विपद्को समयमा प्रभावित व्यक्तिहरूप्रति सहानुभूति राख्नु, सहयोग गर्नु र मानवीय संवेदना प्रदर्शन गर्नु सबैको सामाजिक दायित्व भएको बताउनुभएको थियो ।


विद्यालयले श्रद्धाञ्जली कार्यक्रमलाई केवल औपचारिक कार्यक्रमका रूपमा नभई बालबालिकालाई मानवीयता, सहानुभूति, सहयोग, सामाजिक उत्तरदायित्व र सामूहिक भावनाको व्यवहारिक सिकाइ प्रदान गर्ने माध्यमका रूपमा लिएको थियो ।


यसै क्रममा विद्यालयले रसुवा बाढीपहिरो पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५ लाख १ हजार सहयोग रकम जम्मा गरेको छ । त्यस्तै, विद्यार्थीहरूको अगुवाइमा सहयोग सङ्कलन गरी रु. १ लाख ४० हजार रकमसमेत सोही कोषमा जम्मा गरिएको छ ।


आर्थिक सहयोगसँगै विद्यार्थीहरूको अगुवाइमा विद्यालय परिवारले खाद्यान्न, लत्ताकपडा लगायत आवश्यक राहत सामग्री समेत सङ्कलन गरेको थियो । सङ्कलित राहत सामग्री शुक्रवार नै बुढानीलकण्ठ नगरपालिका मार्फत प्रभावित क्षेत्रका नागरिकसम्म पु¥याउने उद्देश्यले हस्तान्तरण गरिएको थियो ।


राहत सामग्री ग्रहण गर्दै बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले विद्यार्थीहरूले आफ्नै अगुवाइमा यति ठूलो परिमाणमा राहत सामग्री सङ्कलन गर्नु अत्यन्तै प्रशंसनीय कार्य भएको बताउनुभयो ।


उहाँले विपद्को यस कठिन समयमा पीडितहरूका लागि विद्यार्थीहरूले गरेको सहयोग ठूलो मानवीय योगदान भएको उल्लेख गर्दै बालबालिकाको पहलको प्रशंसा गर्नुभयो ।


उपप्रमुख लामाले हस्तान्तरण गरिएको राहत सामग्री यथाशीघ्र प्रभावित क्षेत्रमा पठाइने जानकारी दिनुभयो ।


त्यस अवसरमा विद्यालयकी प्रिन्सिपल जुनीता कार्कीले विद्यार्थीहरूको अगुवाइमा विद्यालय परिवारले गरेको सहयोग सानो भए पनि बाढीपहिरोबाट प्रभावित व्यक्ति तथा परिवारलाई केही हदसम्म राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


“हाम्रो सहयोग सानो हुन सक्छ, तर विपतमा परेका व्यक्तिका लागि यसले केही हदसम्म भए पनि साथ र राहतको अनुभूति दिलाउन सक्छ भन्ने हाम्रो अपेक्षा हो,” प्रिन्सिपल कार्कीले भन्नुभयो ।


विद्यालयले यस पहलमार्फत विपतमा परेका समुदायप्रति सहयोग र ऐक्यबद्धता जनाउनुका साथै विद्यार्थीहरूमा मानवीय संवेदना, नेतृत्व, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने प्रयास गरेको छ ।