अनलाइन कक्षा सञ्चालनकालागि नेपाल टेलिकमको सस्तो ई–शिक्षा प्याकेज


काठमाडौं/२० बैशाख – लकडाउनको कारण यतिबेला सबै शैक्षिक संस्था बन्द रहेका छन् । अधिकांश शैक्षिक संस्थाले अनलाइन कक्षा सञ्चालन गरेका छन् भने कति शैक्षिक संस्था र विद्यार्थी इन्टरनेटको सहज पहुच नहुदा पठनपाठन गर्न सकेका छैनन् । त्यसैले यतिबेला नेपाल टेलिकमले लकडाउनको अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइनबाट सञ्चालन गर्न सहयोग र्पुयाउने उद्देश्यले ई–शिक्षा प्याकेज सञ्चालनमा ल्याएको छ ।

तर यो प्याकेज लिनको लागि विश्वविद्यालय तथा विद्यालयबाट प्राप्त अनुरोध तथा सरकारका शैक्षिक निकायसँग परामर्शको आधारमा सम्बन्धित शैक्षिक संस्थाबाट सिफारिश गरिएका मोबाइल नम्बरलाई मात्र यो सुविधा लिन पाउने छन् । नेपाल टेलिकमले अहिले उपलब्ध गराएको भन्दा निकै सस्तो दररेटमा डाटा उपलब्ध गराउने छ ।
यस अन्र्तगत २६० रुपैंयामा ६ जिबी र ५०० रुपैंयामा १५ जिबी डाटा २८ दिनभित्र उपयोग गर्न सकिने गरी उपलब्ध हुनेछ । २६० रुपैंयामा प्राप्त हुने कूल ६ जिबीमध्ये ३ जिबी डाटा बिहान ५ बजेदेखि बिहान १० बजेसम्म प्रत्येक दिन जम्मा ५ घण्टा प्रयोगमा ल्याउन सकिने छ भने बाँकी ३ जिबी डाटा जुनसुकै समयमा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

त्यस्तै ५०० रुपैयामा २८ दिनसम्म उपलब्ध हुने १५ जिबी डाटामध्ये ६ जिबी डाटा बिहान ५ बजेदेखि बिहान १० बजेसम्म प्रत्येक दिन जम्मा ५ घण्टा मात्र प्रयोग गर्न सकिने छ र बाँकी ९ जिबी डाटा जुनसुकै समयमा प्रयोग गर्न सकिने छ । ई–शिक्षा प्याकेज नेपाल टेलिकमले प्रदान गर्ने सबै प्रकारका जीएसएम मोबाइल डाटा सेवा (टुजी, थ्रिजी र फोरजी) मार्फत प्रयोग गर्न सकिने उल्लखे गरिएको छ ।

बिहान ५ बजेदेखि १० बजेसम्म प्रत्येक दिन ५ घण्टासम्म प्रयोग गर्न सकिने डाटा सुविधालाई कम्पनीको सिस्टमबाटै व्यवस्थित गरिने छ । उक्त सेवाहरु विश्वविद्यालय र विद्यालयहरुको सिफारिशका आधारमा विद्यार्थी र शिक्षकलाई कम्पनीले उपलब्ध गराउने छ । कम्पनीले उपलब्ध गराएको इमेल ठेगानामा विश्वविद्यालय तथा विद्यालयले प्याकेज प्रदान गर्नुपर्ने नम्बरको सूचीसहित सिफारिश पठाउनु पर्ने छ ।

सिफारिश प्राप्त भएका नम्बरहरुलाई ८१४४१३ डायल गरी प्याकेज खरिद गर्नको लागि कम्पनीले एसएमएसमार्फत सूचित गर्नेछ । एसएमएस प्राप्त भएपछि तिनै नम्बरहरुबाट ८१४४१३ डायल गरी उपलब्ध दुईमध्ये कुनै एक प्याकेज खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।