काठमाडौँ /२४ साउन – प्रारम्भिक बालविकासका धेरै बालबालिका आधारभूत सिप पूर्ण रूपमा विकास नगरी कक्षा १ मा प्रवेश गरिरहेको एक अध्ययनले देखाएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले बागमती प्रदेशमा कक्षा १ मा भर्ना हुने समयमा बालबालिकाको विद्यालय तत्परता बारे गरेको अनुसन्धानमा ५३.९% बालबालिका मात्र अपेक्षित स्तरमा रहेका छन् ।
परिमाणात्मक तथा गुणात्मक दुवै किसिमका तथ्याङ्क सङ्कलन गरिएको यो अध्ययनमा २०८२ जेठ ९–२८ सम्म सञ्चालन गरिएको थियो । साथै ९१ विद्यालयका कक्षा १ मा भर्ना भएका ५ सय ९२ जना बालबालिकाको तथ्याङ्कमा आधारित रहेको छ ।
अध्ययन अनुसार बागमती प्रदेशका ५३.९% बालबालिका अपेक्षित स्तर (सहि मार्ग) मा छन् । ४४.६% प्रगतिशील अवस्थामा छन् र १.५% सङ्घर्षरत अवस्थामा छन् । यसले धेरै बालबालिका आधारभूत सिप पूर्ण रूपमा विकास नगरी कक्षा १ मा प्रवेश गरिरहेको देखाउँछ ।
विद्यालय तत्परताको अवस्था हेर्दा बहुआयामिक देखिन्छ । संज्ञानात्मक ६४.९%, शारीरिक ६३.२% र भाषिक ६२.२% क्षेत्रमा तुलनात्मक रूपमा राम्रो उपलब्धि देखिन्छ । तर सामाजिक–संवेगात्मक विकासमा ठुलो कमजोरी देखिन्छ । जहाँ केवल ३९.७% बालबालिका मात्र अपेक्षित स्तरमा छन् भने १७% सङ्घर्षरत स्तरमा छन् ।
साथै साना र ठुला कक्षाका बालबालिकाको सिकाइ र विकास स्तरमा पनि भिन्नता देखिएको छ । ठुला कक्षामा ५४.२% बालबालिका अपेक्षित स्तरमा छन् भने साना कक्षामा ५०.३% बालबालिका अपेक्षित स्तरमा छन् । ठुला विद्यालयका बालबालिकाले अधिकांश क्षेत्रमा राम्रो प्रदर्शन गरेका छन्, तर शारीरिक क्षेत्रमा साना कक्षाका बालबालिका अलि राम्रो देखिन्छन् । तथ्याङ्कको विश्लेषणले यो सम्बन्ध देखाए तापनि अन्य कारकहरू नियन्त्रण गर्दा यसको प्रभाव कमजोर देखिएको छ , जसले विद्यालय आकार मात्र सिकाइ र विकास स्तरका लागि निर्णायक नभएको अध्ययनबाट देखिएको छ ।
६० महिनाभन्दा माथिका बालबालिकाले तुलनात्मक रुपमा सबै क्षेत्रमा राम्रो प्रदर्शन गरेका छन् । समग्रमा ६० महिनाभन्दा माथिका ५७.३% बालबालिका अपेक्षित स्तरमा छन्, जबकि ४८–६० महिनाका बालबालिकामध्ये २९.८% र ४८ महिनाभन्दा कम उमेरका बालबालिकामध्ये २३.४% मात्र अपेक्षित स्तरमा छन् ।
यसैगरी सहरी क्षेत्रका बालबालिकाले सबै क्षेत्रमा राम्रो प्रदर्शन गरेका छन् । समग्रमा, सहरी क्षेत्रका ५९.२% बालबालिका अपेक्षित स्तरमा छन्, जबकि ग्रामीण क्षेत्रका बालबालिकामध्ये ३१.२% मात्र अपेक्षित स्तरमा छन् ।
मातृभाषा नेपाली भएका बालबालिकाले अधिकांश क्षेत्रमा राम्रो प्रदर्शन गरेका छन्, तर शारीरिक क्षेत्रमा भने दुवै समूहबिच प्रदर्शन समान देखिन्छ । समग्रमा, मातृभाषा नेपाली भएका ५५.७% बालबालिका अपेक्षित स्तरमा छन्, जबकि अन्य मातृभाषा भएका बालबालिकामध्ये ४७.५% अपेक्षित स्तरमा छन् ।
भौगोलिक असमानता पनि उल्लेखनीय रूपमा रहेको अध्ययनले देखाएको छ । काठमाडौं उपत्यकाका बालबालिकाले बागमती प्रदेशका अन्य भौगोलिक क्षेत्रका बालबालिका भन्दा राम्रो प्रदर्शन गरेका छन् । समग्रमा, काठमाडौं उपत्यकाका ६१.३% बालबालिका अपेक्षित स्तरमा छन्, जबकि बागमती प्रदेशकै तराई क्षेत्रमा ५२.८%, हिमाली क्षेत्रमा ४१.२%, र पहाडी क्षेत्रमा ३८.७% बालबालिका मात्रै अपेक्षित स्तरमा रहेको देखिएको छ ।
विद्यालय व्यवस्थापन अनुसार, संस्थागत विद्यालयका बालबालिकाले सामुदायिक विद्यालयका बालबालिका भन्दा सबै विकासात्मक क्षेत्रमा उच्च विद्यालय तत्परता प्रदर्शन गरेको अध्ययनमा उल्लेख छ । समग्रमा, संस्थागत विद्यालयका ६६.७% बालबालिका अपेक्षित स्तरमा छन्, जबकि सामुदायिक विद्यालयमा यो प्रतिशत ३४.१% छ । तथापि, संस्थागत विद्यालयहरूमा भर्ना हुने परिवारको आयस्तर तथा संस्थागत विद्यालयमा फरक इसिइडी सहभागिताको अवधिलाई यो अध्ययनमा विश्लेषण नगरिएको जनाइएको छ ।
यसरी अध्ययनलाई विक्ष्लेशष गर्दा शिक्षक तालिम तथा सहयोग प्रणालीलाई सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याउँछ । उच्च बालविकास शिक्षक सूचकाङ्क भएका विद्यालयमा अध्ययन गर्ने बालबालिकाले शारीरिक क्षेत्रबाहेक अधिकांश क्षेत्रमा राम्रो प्रदर्शन गरेका छन् । समग्रमा, उच्च बालविकास शिक्षक सूचकाङ्क (अङ्क ४–६) भएका विद्यालयका ५६.२% बालबालिका अपेक्षित स्तरमा छन् । जबकि मध्यम बालविकास शिक्षक सूचकाङ्क भएका विद्यालयका बालबालिकामध्ये ४१.९% र न्यून शिक्षक सूचकाङ्क भएका विद्यालयका बालबालिकामध्ये ५३.१% अपेक्षित स्तरमा रहेको देखिन्छ ।
यसैगरी बालविकासको पूर्वाधारले बालबालिकाको विद्यालय तत्परताको नतिजासँग धेरै अन्तर देखिएको छ । जसमा सबैभन्दा उच्च पूर्वाधार सूचकाङ्क भएका विद्यालयमा अध्ययन गर्ने ७२.७% बालबालिका अपेक्षित स्तरमा छन् । जबकि सबैभन्दा न्यून पूर्वाधार सूचकाङ्क भएका विद्यालयमा अध्ययन गर्ने बालबालिकामध्ये २१.२% मात्र अपेक्षित स्तरमा रहेको अध्ययनले देखाएको छ ।
विद्यालय सुशासन तथा सहयोग प्रणालीले पनि बालबालिकाको विद्यालय तत्परता नतिजासँग बलियो सम्बन्ध हुने गरेको देखाएको छ । सबैभन्दा उच्च सुशासन तथा सहयोग सूचकाङ्क भएका विद्यालयमा अध्ययन गर्ने ६०.४% बालबालिका अपेक्षित स्तरमा छन् भने सबैभन्दा न्यून सुशासन तथा सहयोग सूचकाङ्क भएका विद्यालयका बालबालिकामध्ये २७.२% मात्र अपेक्षित स्तरमा रहेको अध्ययनले देखाएको छ ।



