काठमाडौँ /२३ वैशाख – क्लोज–टु–रिसर्चको मोडेलले दीर्घकालीन शिक्षक सिकाइ सुदृढीकरणमा शिक्षकहरूलाई वास्तविक कक्षाकोठाका समस्याहरू समाधान गर्न सहयोग हुने विज्ञहरूले बताएका छन् ।
काठमाडौँ विश्वविद्यालयको नेतृत्वमा बेलायत स्थित एङ्ग्लिया रसकिन विश्वविद्यालय तथा त्रिभुवन विश्वविद्यालयका विज्ञहरूसँगको सहकार्यमा केही विद्यालयमा ८ महिना पाइलट अध्ययनका लागि सञ्चालन गरिएको मोडेलले वास्तविक कक्षाकोठाका समस्याहरू समाधान गर्न सहयोग गरेको बताएका हुन् ।
शिक्षकहरूलाई व्यावसायिक सिकाइ नियमित, स्थानीय स्वामित्वमा आधारित र दीर्घकालीन रूपमा टिकाउ बन्न र ’पटके तालिम कार्यक्रम’ बाट विद्यालयमै निहित क्षमतामा आधारित, निरन्तर रूपमा विस्तार गर्न सकिने सुधार प्रक्रियातर्फ रूपान्तरण गर्न मद्दत गर्ने पाइलट अध्ययनले देखाएको विज्ञहरूको निष्कर्ष छ ।
नेपालमा शिक्षकको पेसागत विकास अझै पनि मुख्यतः छोटो अवधिका, केन्द्रीय तहबाट योजना र तयार गरिएका ’क्यास्केड’ तालिम मोडेलमा निर्भर रहदै आएकोले यस्ता तालिमहरू व्यवस्थापकीय हिसाब र सञ्चालनका दृष्टिले प्रभावकारी देखिए पनि कक्षाकोठामा दीर्घकालीन र गुणात्मक परिवर्तन ल्याउन कमजोर देखिएको अध्यायनमा उल्लेख छ ।
क्लोज–टु–रिसर्चले शिक्षकहरूलाई साना समूहमा आफ्नै विद्यालयमा आफ्नो पठनपाठनमा भोगिरहेका व्यावहारिक चुनौतीहरूलाई सम्बोधन गर्न सहकार्यको माध्यमबाट काम गर्न एकत्रित गर्ने दाबी गरे ।
यसले शिक्षकहरूले दैनिक अध्यापन अनुभव, विद्यार्थीका कार्यहरू र छनोट गरिएका अनुसन्धान प्रमाणहरूका आधारमा समाधानका उपायहरूको परीक्षण, परिमार्जन गर्नुका साथै सिकाइको आदान–प्रदान गर्दछन् । शिक्षकहरूले विश्वविद्यालयको सहजीकरण र अनुसन्धानमा सहकार्य गर्दा शिक्षकको पेसागत विकासमा निर्णय गर्ने क्षमता बढनुका साथै, सुधार विधिहरूलाई निरन्तर रूपमा लागु गर्न सहज हुने विज्ञहरूको तर्क छ ।
शिक्षाविद् प्रा.डा. लक्ष्मण ज्ञवालीले शिक्षकहरूले विद्यालयमा क्लोज–टु–रिसर्चको अभ्यास गर्न सके व्यावसायिक सिकाइलाई सांस्कृतिक रूपमा उपयुक्त, स्थानीय रूपमा सान्दर्भिक र विभिन्न सन्दर्भहरू जस्तै बहुभाषिक कक्षाकोठा तथा फरक सामुदायिक अपेक्षाहरू – अनुसार कार्यान्वयन गर्न सकिने बताए ।
शिक्षाविद् डा. गंगाराम गौतमले पटके तालिमले शिक्षकहरूमा प्रभावकारि रूपमा काम नगरेको देखिएपछि यो मोडेलले काम गर्छकी भनेर अनुसन्धान गरिएको बताए । कुन अवस्थामा कस्तो मोडेलले काम गर्छ भनेर अहिले अभ्यास भईरहेको र शिक्षकले आफ्ना समस्या आफै पक्ता लगाएर आफै समस्याको समाधान गर्न सके उत्कृष्ट हुने विचार व्यक्त गरे । तर विद्यालय अनुसार फरक फरक समस्या हुनसक्ने र विद्यार्थीमा एउटै समस्या भएपनि फरक फरक उपाय अवलम्बन गर्नुपर्ने भएकोले यस्तो अवस्थामा शिक्षकहरू अलमल भए विज्ञहरूले सहजिकरण गर्ने उनको भनाई छ ।
शिक्षाविद् डा. विनोद पन्तले यसलाई मोडेल भन्न नसकिने तर्क राख्दै यो फ्रेमवर्क भएकोले सबै विद्यालयमा एकै पटक काम गर्न नसक्ने धारणा व्यक्त गरे । क्लोज–टु–रिसर्चलाई थोरै विद्यालयमा प्रयोग गरेर मात्रै हेर्दा त्यसको प्रभावकारितालाई अनुसन्धान गर्न अझै सजिलो हुने उनको सुझाब छ ।



