सिरहा/२३ वैशाख – शिक्षा विकास तथा समन्वय इकाइ सिरहाले जिल्लाका सबै विद्यालयलाई साताको दुई दिन विदा गर्न निर्देशन दिएको छ । सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई परिवर्तित शैक्षिक सत्र तथा विदा अनुसार शैक्षिक कार्यक्रम संचालन गर्न निर्देशन दिएको हो ।
इकाइले जिल्लाका १७ वटै स्थानीय तह तथा सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरुलाई पत्र जारी गर्दै नेपाल सरकार मन्त्रिपरिषद्को २२ चैत २०८२ को निर्णय र २३ चैतदेखि साताको शनिबार र आइतबार दुई दिन विदा दिने निर्णय अनुसार शैक्षिक गतिविधिहरु संचालन गर्न भनिएको छ ।
पत्रमा भनिएको छ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको च.नं.४३५, २४ चैत २०८२ को पत्रानुसार २०८३ सालको शैक्षिक सत्र १५ वैसाखबाट थालनी गर्ने नेपाल सरकार मन्त्रिपरिषद्को २२ चैत २०८२ को निर्णय र २३ चैतदेखि साताको शनिबार र आइतबार दुई दिन विदा दिने निर्णय भएको सन्दर्भमा परिवर्तिक शैक्षिक सत्र एवम् सार्वजनिक विदा अनुसार शैक्षिक कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने व्यवस्थाका लागि अनुरोध गरिन्छ ।’




