काठमाडौँ /४ वैशाख – निजी विद्यालयका छाता संगठनहरुले विद्यालयले प्रदान गर्ने शैक्षिक सेवा, भौतिक पूर्वाधार, शिक्षक–कर्मचारीको पारिश्रमिक तथा अतिरिक्त सेवाहरूका आधारमा शुल्क निर्धारण हुने प्रष्ट पार्दै शुल्कसम्बन्धी विषयलाई लिएर सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा फैलिएका भ्रमपूर्ण र अतिरञ्जित सामग्रीप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन् ।
विभिन्न निजी विद्यालयसम्बद्ध सङ्घसंस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै निजी विद्यालयहरू नेपाल सरकारबाट स्वीकृति प्राप्त संस्था भएको र शिक्षा ऐन, नियमावली तथा सम्बन्धित निर्देशकअनुसार सञ्चालन हुँदै आएको उल्लेख गर्दै शुल्क निर्धारणसम्बन्धी प्रचलित कानुनी व्यवस्था र मापदण्डअनुसार नै विद्यालयले सेवा प्रवाह गर्दै आएको जनाएका हुन् ।
विद्यालयले प्रदान गर्ने शैक्षिक सेवा, भौतिक पूर्वाधार, शिक्षक–कर्मचारीको पारिश्रमिक तथा अतिरिक्त सेवाहरूका आधारमा शुल्क निर्धारण हुने र कुनै गुनासो वा समस्या भए सम्बन्धित निकाय वा विद्यालय प्रशासनमार्फत समाधान खोज्नसमेत अनुरोध गरिएको छ ।
सङ्घसंस्थाले विद्यार्थी र अभिभावकमा भ्रम सिर्जना हुने गरी विद्यालयप्रति नकारात्मक प्रचारप्रसार नगर्न आग्रह गर्दै यस्ता गतिविधिले समग्र शैक्षिक वातावरणमा असर पर्ने विज्ञप्तिमा उल्लेख छ ।




