स्याङजा/४ बैशाख – भिरकोट नगरपालिका–८ नम्बर वडा कार्यालयले यहाँका ११ सामुदायिक विद्यालयमा अध्ययनरत ६०० जना विद्यार्थीको स्वास्थ्य बिमा गर्न थालेको छ ।
यही वैशाख १ गतेदेखि वडाले बालमैत्री शीर्षक अन्तर्गत बाल कक्षादेखि १० कक्षासम्म अध्ययनरत विद्यार्थीलाई रु एक लाखसम्मको निःशुल्क स्वास्थ्य बिमा गर्न सुरु गरेको हो ।
वडाध्यक्ष नन्दलाल खनालका अनुसार वडाका सामुदायिक विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई वडाले जन्मदर्ताका आधारमा हरेक विद्यार्थीको रु एक लाख बराबरको स्वास्थ्य बिमा गर्न प्रारम्भ गरेको हो । उनले भने, ‘८ नं वडा भएको भिरकोट नगरपालिकाभित्रका जुनसुकै सामुदायिक वा संस्थागत विद्यालयमा अध्ययन गरे तापनि वडाले निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको हो ।’
स्वास्थ्य बिमा लागू भएका अस्पतालबाट बिमा अनुसार नै उपचार हुने र अन्य अस्पतालहरूमा उपचारको रसिदका आधारमा भुक्तानी हुने उनले जानकारी दिए । यो वडाले जन्मदर्ता प्रोत्साहन गर्न बच्चा जन्मेपछि खाता खोलेर रु पाँच हजार जम्मा गरिदिँदै आएको छ ।



