कन्सल्टेन्सी माथि कडाइ : स्वीकृत वा नविकरण नगरेका संस्थाको सेवा बन्द गर्न निर्देशन

चितवन/१ चैत – जिल्ला प्रशासन कार्यालय, चितवनले स्वीकृत वा नविकरण नगरी शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) सञ्चालन गरेको पाइए बन्द गर्ने चेतावनी दिएको छ । प्रचलित कानुनअनुसार इजाजतपत्र नलिई सञ्चालन भइरहेका तथा नविकरण नगरेका संस्थाहरूलाई १५ दिनभित्र सेवा बन्द गर्न प्रशासनले आदेश दिएको हो ।


कार्यालयका अनुसार केही कन्सल्टेन्सीहरूले विभागबाट ‘बन्द गराउन पत्राचार’ भइसकेको अवस्थामा पनि कार्यालय सञ्चालन गरिरहेको, भिसा प्रोसेस गर्ने, ‘जव–ग्यारेन्टी’ दिने जस्ता झुटा तथा गैरकानुनी आश्वासन दिइरहेको पाइएकाले उक्त निर्देशन दिएको जनाएको छ ।


सूचनामा भनिएको छ इजाजत÷स्वीकृति नलिई वा नविकरण नगरी सञ्चालनमा रहेका कन्सल्टेन्सी तथा म्यानपावरका शाखा/सम्पर्क कार्यालयहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सेवा बन्द गर्न वा नविकरण गर्नुपर्ने छ ।


अन्यथा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको हस्ताक्षरित सूचनामा प्रचलित कानुनअनुसार आवश्यक कारबाही गरिने चेतावनी समेत दिइएको छ ।