काठमाडौँ /१ चैत – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक सम्बन्धनबाट सञ्चालनमा रहेका कलेजहरूले अनिवार्य सामाजिक विषयको पठनपाठन गर्नुपर्ने निर्णय गरेको छ । नेपालका सन्दर्भमा विद्यार्थीलाई जानकारी गराउने उदेश्यले अप्सनल विषयका रूपमा सामाजिक विषय पढाउनुपर्ने मन्त्रालयले जनाएको हो ।
शिक्षा सचिव चूडामणि पौडेलले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजलाई सामाजिक विषय अनिवार्य गर्न लागिएको जानकारी दिए । उनले यस सम्बन्धी पाठ्यक्रम बन्ने प्रक्रियामा रहेको उल्लेख गर्दै यदी कुनै पनि कलेजले सामाजिक विषय नपढाएको खण्डमा अनुमति नविकरण नहुने बताए ।
“मन्त्रालयले सञ्चालनका लागि अनुमति दिएको छ । त्यसैले सामाजिक विषयको पाठ्यक्रम पनि लागु गर्न लागिएको हो । यदी कुनै कलेजले कार्यान्वयन गर्दैन भने नविकरण पनि हुँदैन । अहिले पाठ्यक्रम बन्ने प्रक्रियामा छ” उनले भने ।
उक्त विषयको परीक्षा सञ्चालन र नतिजा प्रकाशन कलेजलेनै गर्ने पौडेलको भनाई छ । साथै मार्कसिटमा समेत व्यवस्था गर्नका लागि विश्वविद्यालयसँग पनि छलफल गरिने बताए ।



