गणित विषय व्यवहारिक जीवनसँग जोडेर पढाउन आवश्यक छ : शिक्षा सचिव पौडेल

काठमाडौँ/१ चैत – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणि पौडेलले विद्यार्थीलाई गणित विषय बुझाएर भन्दा पनि घोकाएर पढाएका कारण एसईईमा धेरै विद्यार्थी सफल हुन नसकेको बताएका छन् ।


पाई डेको अवसरमा इम्पेरियल वर्ल्ड  स्कुलले आयोजना गरेको गणित सम्मेलनको उद्घाटन सत्रमा बोल्दै कसरी भयो भन्ने सिकाउने भन्दा पनि सूत्र घोकाएर पढाईने गरिएकाले विद्यार्थीलाई गणित कठिन लाग्ने गरेको बताए ।


उनले भने “एसईईको नतिजालाई हेर्दा धेरै विद्यार्थी गणितमा असफल हुने गरेका छन् । नतिजा आएको एक हप्तासम्म चर्चा गर्छौ तर केही समयपछि बिर्सन्छौँ । गणित यस्तो विषय हो जहिले पढाउँदा पनि सूत्र एउटै रहन्छ । तर सैद्धान्तिक विषय मात्रै हेरफेर भएपनि सूत्र उही नै हुन्छ । कसरी भयो भनेर बुझाउने भन्दा पनि सूत्र घोकाएर पढाउने गर्दा विद्यार्थी असफल हुने समस्या देखियो ।”


पौडेलले पेपर पेन्सिलमा सिकाइएको तर व्यवहारिक जीवनसँग जोडेर नसिकाइएकाले विद्यार्थीलाई बुझ्न कठिन हुने गरेको बताए ।


शिक्षकले आफ्नो प्रत्येक कक्षामा गणित छ भन्ने विषयलाई जोड्न नसकिएकै कारण गणित विषय जानेका विद्यार्थीका लागि मात्रै भएको, गणित जान्ने विद्यार्थी जान्ने विद्यार्थीमा कहलिएको र गणित नजान्ने विद्यार्थी कमजोर विद्यार्थी भन्ने वातावरण निर्माण भएको उनको भनाई छ ।


सानै कक्षादेखि विद्यार्थीलाई गणित प्रयोग गर्ने गरी शिक्षण विधि अपनाउन सकिए गणित विषय सामान्य विषय हुने उनको तर्क छ ।


इम्पेरियल वर्ल्ड  स्कुलको आयोजनामा गणित सम्मेलन

पाई डेलाई हरेक वर्ष उत्सवका रूपमा मनाउँदै आएको इम्पेरियल वर्ल्ड  स्कुलले यो वर्ष पनि गणित सम्मेलन गरेको छ । “गणित र आशा“ मूल नारासहित विभिन्न गणित विज्ञ र गणित शिक्षकहरूको सहभागीतामा चैत १ गते गणित सम्मेलन र २ गते विद्यार्थीले निर्माण गरेका गणित सम्बन्धी परियोजनाहरू प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ ।


कार्यक्रममा गणित विज्ञहरू, गणित शिक्षक लगायतको प्रस्तुति, प्यानल छलफल, कार्यशाला आयोजना गरिएको छ । गणितीय अन्वेषणमा सहकार्य र ह्यान्ड्स–अन सिकाइलाई प्रेरित गर्ने उदेश्यले पाई डेको अवसरमा गणित सम्मेलन र गणित सम्बन्धी प्रदर्शनी गरिएको विद्यालयले जनाएको छ ।


गणित शिक्षाको महत्व र गणितीय सोचको विकास गर्ने उदेश्यले हरेक वर्ष पाई डेमा गणित सम्बन्धी सम्मेलन गर्ने गरिएको प्रिन्सिपल जुनीता शाहीले बताइन । उनले गणितका विज्ञहरूले गरेका अनुसन्धान, गणित शिक्षकहरूका विचार, विद्यार्थीहरूको गणित प्रतिको बुझाई र यसको महत्वका बारेमा बृहत् छलफल गरिने जानकारी दिइन ।