क्यानडाको विद्यालयमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा नौ जनाको मृत्यु

क्यानडा/२८ माघ – क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तस्थित एक माध्यमिक विद्यालय र नजिकैको आवासीय क्षेत्रमा भएको गोलीकाण्डमा नौ जनाको ज्यान गएको छ । दशकौँयताकै घातक मानिएको यो हिंसात्मक घटनाले शान्त मानिने टम्बलर रिज सहरलाई स्तब्ध बनाएको छ ।


मंगलबार दिउँसो टम्बलर रिज सेकेन्डरी स्कुलमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसीएमपी) का अनुसार घटनास्थलमै छ जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए ।
अस्पताल लैजाँदै गर्दा थप एक जनाको मृत्यु भएको र संदिग्ध आक्रमणकारी पनि मृत फेला परेको प्रहरीले जनाएको छ । आक्रमणकारीले आफैँलाई गोली हानेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।


विद्यालयमा भएको नरसंहारको केही समयपछि प्रहरीले सोही घटनासँग सम्बन्धित मानिएको एक घरमा थप दुई जनालाई मृत फेला पारेको थियो । यससँगै मृतकको संख्या नौ पुगेको छ । गम्भीर अवस्थामा रहेका दुई जनालाई हेलिकप्टरमार्फत अस्पताल पु¥याइएको छ भने अन्य २५ जनाको स्थानीय मेडिकल सेन्टरमा उपचार भइरहेको छ ।


करिब दुई हजार चार सय जनसंख्या रहेको यो पहाडी सहरमा भएको घटनापछि प्रहरीले थप घरहरूको खानतलासी गरिरहेको छ । प्रहरीले हाललाई सर्वसाधारणका लागि कुनै खतरा नरहेको स्पष्ट पारेको छ। यसअघि जारी गरिएको घरभित्रै सुरक्षित बस्न दिइएको आदेश पनि साँझतिर हटाइएको थियो । घटनाको गाम्भीर्यलाई हेर्दै उक्त क्षेत्रका विद्यालयहरू साताभरका लागि बन्द गरिएको छ ।