राष्ट्रिय शिक्षा नीति परिवर्तन गर्न आवश्यक छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ /२४ पुष – पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय शिक्षा नीति परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।


नेपाल राष्ट्रिय अभिभावक सङ्घको २४औँ स्थापना दिवसका अवसरमा बुधवार साउथवेस्र्टन कलेज वसुन्धरामा आयोजित कार्यक्रममा बोल्दै अहिलेको युग सुहाउँदो शिक्षा मुलुकका लागि आवश्यक भएको र त्यसका लागि राष्ट्रिय शिक्षा नीति परिवर्तन गर्न आवश्यक रहेको बताएका हुन् ।


मुलुकको हित हुने शिक्षा जरुरी रहेको र शिक्षा व्यवस्थालाई विकास गर्न धेरै कुरामा आमूल परिवर्तन गर्नुपर्नेमा उनको भनाइ थियो ।


नेपाल राष्ट्रिय अभिभावक सङ्घका अध्यक्ष कोषबहादुर जिसीले मुलुकको शिक्षालाई गुणस्तरीय बनाउनका लागि अभिभावक सङ्घले सरकारको ध्यानाकर्षण गर्दै आइरहेको बताए । उनले देशभरका ८० लाख अभिभावकको चाहना प्रविधिमूलक शिक्षामा जोड दिनुपर्छ भन्ने रहेको उल्लेख गरे ।


सङ्घका उपमहासचिव हरिभक्त महर्जनले सुलभ, सस्तो र निःशुल्क शिक्षा मुलुकको आवश्यकता रहेको बताए । उनले उत्पादनमूलक र रोजगारमूलक शिक्षामा राज्यले ध्यान दिनुपर्ने उल्लेख गरे ।