चिसोबाट बच्न विद्यालयको झ्यालमा बोरा ठोकेर पठनपाठन

रौतहट/२३ पुष – तराईमा परेको शीतलहरका कारण जनजीवनसँगै शैक्षिक गतिविधि पनि प्रभावित भएको छ । अत्यधिक चिसो बढेपछि अधिकांश पालिकाहरूले अवस्था हेरेर विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरेका छन् ।


अत्यधिक चिसो भई बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै विद्यालयको दैनिक पठनपाठन प्रभावित भएपछि विद्यालयमा विदा गरिएको हो ।


धेरै विद्यार्थीहरूसँग बाक्ला र न्यानो कपडाको अभाव हुँदा चिसो झन् कष्टकर बनेको रोतहटको चन्द्रपुर १० खौराहा स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयले जनाएको छ ।


विद्यालयको भौतिक संरचना पनि चुनौतीपूर्ण अवस्थामा रहेको र कक्षाकोठाका झ्यालहरूमा पल्ला नहुँदा चिसो हावा कक्षाकोठामा सजिलै प्रवेश गर्दा पठन–पाठन निकै कठिन भएको विद्यालयको भनाई छ ।


पठनपाठनलाई निरन्तरता दिन विद्यालयले झ्यालमा बोरा ठोकेर चिसो हावा रोक्ने अस्थायी उपाय अपनाउँदै आएको छ । यस्तो सीमित साधन र प्रतिकूल मौसमका बाबजुद शिक्षक तथा विद्यालय परिवारको प्रतिबद्धताले कक्षा सञ्चालन सम्भव बन्दै गएको विद्यालयले जनाएको छ ।