शैक्षिक संस्थाहरूबिचको समन्वय अभावले निम्त्याउने प्रश्नपत्र सम्बन्धी कमजोरीहरू

काठमाडौँ/२९ मंसिर – “सार्वजनिक परीक्षाले घोकन्ते शिक्षालाई मात्र जोड दिएको छ ।” “धेरैजसो प्रश्नहरू संज्ञानात्मक क्षेत्रका निम्न तहहरूबाट मात्र निर्माण गरिएका छन् ।” “प्रश्नपत्रले पाठ्यक्रममा समावेश भएका सबै विषयवस्तुहरू समेट्न सकेको छैन ।” यी उल्लेखित भनाइहरू वा प्रश्नपत्रमा देखाइने कमजोरीहरू विशेषगरी राष्ट्रिय परीक्षा बोर्ड (रापबो) द्वारा सञ्चालन गर्ने कक्षा १० र १२ को सार्वजनिक परीक्षाको नतिजा प्रकाशन भएपछि आउने मौसमी गुनासाहरू हुन् । परीक्षाको उत्तीर्ण प्रतिशतलाई हेरे जस्तै प्रश्नपत्रका हरेक प्रश्नहरूलाई विश्लेषण गरेर आएका गुनासाहरू हुन् वा होइनन् निश्चित छैन । तर जे होस्, यी सबै गुनासाहरू राष्ट्रिय परीक्षा बोर्डको वर्तमान परीक्षा पद्धति अन्तर्गत प्रश्न निर्माण कार्यसँग सम्बन्धित छन् । त्यसैले यी गुनासाहरू संस्थागत रूपमा राष्ट्रिय परीक्षा बोर्डलाई हुन् भने व्यक्तिगत रूपमा प्रश्नपत्र निर्माणकर्तालाई हुन् ।


१. प्रश्नपत्र निर्माणकर्ताको विशिष्टीकरण तालिकासँगको सम्बन्ध


प्रश्नपत्र निर्माणकर्ताले विशिष्टीकरण तालिकामा आधारित भएर प्रश्नहरू निर्माण गर्नुपर्ने हुन्छ । किनकि परीक्षाको सिद्धान्त अनुसार प्रश्नपत्र निर्माण विशिष्टीकरण तालिकाको आधारमा हुनुपर्छ । त्यसैले प्रश्नपत्र निर्माण गर्न पाठ्यक्रम विकास केन्द्र (पाविके)ले हरेक विषयमा विशिष्टीकरण तालिका तयार गरेको छ । उक्त तालिकामा (१) पाठ्यक्रममा उल्लेखित पाठ्यवस्तुको हरेक एकाइको शीर्षक (२) हरेक एकाइको लागि छुट्याइएको शिक्षण भार (पिरिएड) (३) विभिन्न एकाइहरूबाट संज्ञानात्मक क्षेत्र अन्तर्गत ज्ञान, बोध, प्रयोग र उच्च दक्षता तहबाट सोधिने विभिन्न प्रकारका प्रश्नहरूको सङ्ख्या (४) विभिन्न एकाइहरूको लागि छुट्याइएका एकमुस्ट पूर्णाङ्क आदि दिइएका छन् । पाविकेले तयार गरेको विशिष्टीकरण तालिकाको आधारमा प्रश्नपत्र निर्माणकर्ताहरूले प्रश्नपत्र तयार गरेमा उक्त प्रश्नपत्रले सबै पाठ्यवस्तु समेटिनुको साथै संज्ञानात्मक क्षेत्रका ज्ञान, बोध, प्रयोग र उच्च दक्षताको तहबाट निर्धारित सङ्ख्यामा प्रश्नहरू निर्माण भई प्रश्नपत्र राम्रो हुन्छ भन्ने पाविकेको मान्यता हो ।


२. प्रश्नपत्रले पाठ्यक्रममा उल्लेखित सबै पाठ्यवस्तुहरू नसमेट्नुको कारण


अधिकांश विषयमा पाविकेले पाठ्यवस्तुको हरेक एकाइको शीर्षक समेत उल्लेख गरी विशिष्टीकरण तालिकाहरू निर्माण गरेको छ । तथापि सार्वजनिक परीक्षामा कतिपय विषयको प्रश्नपत्रमा सबै पाठ्यवस्तुहरू नसमेटिएको भन्ने गुनासो आउने गरेको छ । यसका दुई वटा कारण छन् जुन विशिष्टीकरण तालिकासँग सम्बन्धित छन् ।


पहिलो : विशिष्टीकरण तालिकामा हरेक एकाइबाट कति अङ्कको कस्ता प्रकारका (अति छोटो, छोटो र लामो) कति वटा प्रश्नहरू सोधिने हुन् एकाइगत रूपमा छुट्याइएको छैन । अर्थात् हरेक एकाइबाट कति वटा प्रश्न, ती प्रश्नहरूका प्रकार र पूर्णाङ्क उल्लेख गरिएको छैन । कतिपय विषयका विशिष्टीकरण तालिकाहरूमा ३र४ वटा एकाइहरूबाट सोधिने प्रश्न सङ्ख्या तथा पूर्णाङ्क एकमुस्ट रूपमा दिइएका छन् । कुन एकाइबाट कति वटा प्रश्नहरू सोधिने प्रश्नपत्र निर्माणकर्ताको स्वविवेकमा छोडिएको छ । त्यसैले प्रश्नपत्र निर्माणकर्ताले प्रश्नपत्र निर्माण गर्दा कुनै कुनै एकाइबाट प्रश्न निर्माण नगर्न पनि सक्छ ।


दोस्रो : पाठ्यक्रममा हरेक एकाइ अन्तर्गत पनि उप–एकाइहरू दिइएका छन् । तर विशिष्टीकरण तालिकामा एकाइका मूल शीर्षकहरू मात्र दिइएका छन् । सैद्धान्तिक रूपमा विशिष्टीकरण तालिकामा पाठ्यवस्तुहरू विस्तृत रूपमा दिइनु पर्ने भए तापनि उप–एकाइका शीर्षकहरू दिइएका छैनन् । ती सबै एकाइ तथा उप–एकाइहरूको प्रतिनिधित्व हुने गरी प्रश्नहरू निर्माण गरिनु पर्ने भए तापनि विशिष्टीकरण तालिकामा ती सबै उप–एकाइहरू नदिइएको हुँदा प्रश्नपत्र निर्माणकर्ताले प्रश्नहरू निर्माण गर्ने क्रममा सबै पाठ्यवस्तुहरू नसमेट्ने संभावना हुन्छ ।


३. प्रश्नहरू संज्ञानात्मक क्षेत्रका निम्न तहहरूबाट मात्र आउनुको कारण


कक्षा १२ को अङ्ग्रेजी विषयमा अरू विषयहरूमा जस्तो “ज्ञान”, “बोध”, “प्रयोग” र “उच्च दक्षता” तहबाट कति–कति अङ्कका कति वटा प्रश्नहरू सोधिने भनेर उल्लेख भएको पाइँदैन । त्यसैले कुनै वर्षको एसईई तथा एसएलसीको अङ्ग्रेजी विषयको प्रश्नपत्रमा ज्ञान तथा बोध तहबाट धेरै प्रश्नहरू आउँछन् भने कुनै वर्षको प्रश्नपत्रमा धेरै प्रश्नहरू प्रयोग तहबाट आउन सक्छन् । किनकि यसबारेमा प्रश्न निर्माणकर्तालाई विशिष्टीकरण तालिकामा कुनै प्रकारको निर्देशन दिइएको छैन । अङ्ग्रेजी विषय बाहेक विशिष्टीकरण तालिकामा ज्ञान, बोध, प्रयोग, र उच्च दक्षता तहबाट सोधिने प्रश्न सङ्ख्या तथा पूर्णाङ्क उल्लेख भएका विषयहरूमा पनि यो समस्या आएको छ । यसका तीनवटा कारणहरू छन् ।


पहिलो : पाठ्यक्रममा दिइएका संज्ञानात्मक क्षेत्रका ज्ञान, बोध, प्रयोग र उच्च दक्षता तहहरूका सिकाइ उपलब्धिहरूका प्रतिशत र विशिष्टीकरण तालिकामा यी तहहरूबाट आउने प्रश्नहरूका लागि छुट्याइएका पूर्णाङ्कबिच धेरै भिन्नता हुनु हो । उदाहरणको लागि कुनै विषयको विशिष्टीकरण तालिकामा कुल पूर्णाङ्कको २० प्रतिशत प्रश्नहरू बोध तहबाट निर्माण गर्नुपर्छ भनेर उल्लेख भएको छ भने त्यही विषयको पाठ्यक्रममा समावेश गरिएका सम्पूर्ण सिकाइ उपलब्धिहरूमध्ये ६० प्रतिशत भन्दा बढी सिकाइ उपलब्धिहरू र ती सिकाइ उपलब्धिहरू प्राप्त गर्न छुट्याइएका शिक्षण भार बोध तहको मात्र हुन सक्छ । यसले प्रश्नपत्र निर्माणकर्तालाई विशिष्टीकरण तालिका अनुसार प्रश्न निर्माण गर्ने वा पाठ्यक्रममा उल्लेखित सिकाइ उपलब्धिको आधारमा प्रश्नहरू निर्माण गर्ने दुविधा हुन्छ । किनकि सिकाइ उपलब्धिहरू अनुरूप प्रश्नपत्र निर्माण गर्दा विशिष्टीकरण तालिका अनुरूप नहुने र विशिष्टीकरण तालिका अनुरूप तयार गर्दा प्रश्नपत्र सिकाइ उपलब्धि अनुरूप नहुने हुन्छ ।


दोस्रो : अधिकांश विषयमा ज्ञान, बोध, प्रयोग, र उच्च दक्षता तहबाट कति पूर्णाङ्कको, कस्तो प्रकारको प्रश्नहरू, कति वटा बनाउने विशिष्टीकरण तालिकामा स्पष्टसँग उल्लेख गरिएका छन् । तर हरेक संज्ञानात्मक तहका लागि छुट्याइएका ती अङ्कहरूको आधार के के हुन पाविकेले स्पष्ट गरेको छैन । जस्तो कक्षा १२ को “सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा” विषयमा बोध तहको लागि २७ प्रतिशत छुट्याइएको छ । तर यसको आधार के हो स्पष्ट गरेको छैन । यो प्रतिशत बोध तहसँग सम्बन्धित सिकाइ उपलब्धिहरूको प्रतिशत वा ती सिकाइ उपलब्धिहरू प्राप्त गर्नका लागि दिइएका शिक्षण भारको प्रतिशतसँग पनि मिल्दैन । फलस्वरूप यसबारे प्रश्नपत्र निर्माणकर्ता आफू स्पष्ट नभएको हुँदा प्रश्नहरू निर्माण गर्दा कमजोरीहरू हुन सक्छन् ।


तेस्रो : कक्षा ११ र १२मा अध्यापनरत कतिपय शिक्षकहरू यस विषयमा तालिम अप्राप्त छन् । त्यसैले कतिपय शिक्षकहरूसँग संज्ञानात्मक क्षेत्र अन्तर्गत विभिन्न तहहरूबाट प्रश्नहरू निर्माण गरिने ज्ञान तथा सीपहरूको अभाव हुन्छ । यसको लागि समयानुकूल कार्यमूलक परीक्षा सम्बन्धी तालिम दिने कार्य रापबो हो । तर विद्यालय शिक्षाको अन्तमा हुने कक्षा १२ को परीक्षा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दृष्टिकोणले धेरै महत्वपूर्ण भए तापनि रापबोले कक्षा १२ का प्रश्नपत्र निर्माणकर्ताहरूलाई तालिम दिने कार्यलाई कक्षा ८ र १० को तुलनामा त्यति प्राथमिकतामा राखेको देखिँदैन । त्यसैले संज्ञानात्मक क्षेत्रबाट प्रश्नहरू निर्माण सम्बन्धी तालिम नपाएका प्रश्न निर्माणकर्ताहरूबाट बनाइएका प्रश्नहरू घोकन्ते शिक्षामा मात्र सम्बन्धित हुन सक्छन् ।


४. राष्ट्रिय परीक्षा बोर्ड र पाठ्यक्रम विकास केन्द्रबिच समन्वयको अभाव


सार्वजनिक परीक्षाका प्रश्नपत्रहरूमा देखिएका कतिपय कमजोरीहरू ती विषयहरूका विशिष्टीकरण तालिकाहरूसँग सम्बन्धित छन् भने ती विशिष्टीकरण तालिकाहरू प्रश्नपत्र निर्माणका लागि आवश्यक मात्रामा विस्तृत नहुनु रापबो र पाविकेबिच प्रशासनिक तथा प्राज्ञिक समन्वयको अभाव हुनु हो । किनकि हरेक विषयमा विशिष्टीकरण तालिका पाविकेले तयार गर्छ भने यसको प्रयोग रापबो गर्दछ । विशिष्टीकरण तालिका तयार गर्ने संस्था र त्यसको प्रयोग गर्ने संस्था फरक फरक छन् । त्यसैले यी दुई संस्थाहरूबिच समन्वय हुनु अनिवार्य छ । तर हाल प्रयोग भइरहेका विशिष्टीकरण तालिकाहरू निर्माण गर्दा ती तालिकाहरूमा कुन कुन तत्वाहरू समावेश हुनुपर्छ र कति विस्तृत रूपमा दिनुपर्छ भन्ने कुरामा पाविके र रापबोको बीचमा समन्वय भएको देखिएन । फलस्वरूप, पाविकेले तयार गरेका विशिष्टीकरण तालिकाहरूको विस्तृतीकरण प्रश्नपत्र तयार गर्न नपुग भएको कारणले रापबोले विशिष्टीकरण तालिकाहरू विस्तृतीकरण गरेको थियो । एउटै कार्य दुई वटा संस्थाहरूले दुई पटक अलग्ग अलग्ग गर्दा अनावश्यक रूपमा समय, आर्थिक खर्च तथा मानवीय स्रोत बढी हुन गएको छ । यसको मूल कारण यी दुई शैक्षिक संस्थाहरूबिच समन्वयको अभाव हो ।


५. सबै पाठ्यवस्तुहरूका प्रतिनिधिमूलक तथा उच्च दक्षता तहबाट प्रश्नपत्र निर्माण गर्न चालिनु पर्ने कदमहरू


कार्यक्षेत्रको निर्धारण : विषयगत पाठ्यक्रमभित्र रहने विभिन्न तत्वहरूमध्ये मूल्याङ्कन पनि एउटा महत्वपूर्ण तत्व भएको नाताले मूल्याङ्कनका सामान्य निर्देशनहरू पाठ्यक्रमभित्र आउनु पर्छ । उक्त निर्देशन अन्तर्गत तयार हुने विशिष्टीकरण तालिकाको निर्माण पाविके वा रापबो कुन संस्थाको कार्यक्षेत्रभित्र पर्छ सैद्धान्तिक र अन्तर्राष्ट्रिय अभ्यासको आधारमा टुङ्गो लगाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पहलमा शिक्षा ऐनमा सम्बन्धित संस्थाको काम कर्तव्य तथा अधिकारमा वा सम्बन्धित संस्थाको कार्यविधिमा स्पष्ट रूपमा उल्लेख हुनु जरुरी छ ।


पाविके र रापबोबिच समन्वय : पाविकेले तयार गरेको विशिष्टीकरण तालिका तथा पाठ्यक्रममा उल्लेख भएका सिकाइ उपलब्धिहरूको आधारमा प्रश्नपत्र निर्माण गर्ने संस्था रापबो भएको हुँदा यी दुई संस्थाहरूबिच संस्थागत तथा प्राज्ञिक रूपमा समन्वय हुनु अनिवार्य छ । यस सन्दर्भमा माननीय पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको पालामा कामको थालनी भएको थियो, तर यसले निरन्तरता पाउन सकेन । यी दुई संस्थाबिच समन्वय भएमा सिकाइ उपलब्धिहरू तथा विशिष्टीकरण तालिकालाई परीक्षाको दृष्टिकोणले कामयोगी बनाउन सकिन्छ । हाल जस्तो पाविकेले तयार गरेका विशिष्टीकरण तालिकाहरूलाई रापबोले पुनः विस्तृतीकरण गर्नु आवश्यक हुँदैन । अतः यी दुई संस्थाहरूबिच प्रशासनिक तथा प्राज्ञिक समन्वयको लागि हाल पारित हुन बाँकी शिक्षा विधेयकको सम्बन्धित दफा तथा उपदफाहरूमा आवश्यक बुँदाहरू थपिनु जरुरी छ र यसको लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पहल गर्नुपर्छ ।


विशिष्टीकरण तालिकामा सुधार : पाविकेले तयार गरेका विशिष्टीकरण तालिकाहरू रापबोले सार्वजनिक परीक्षाका लागि प्रश्नपत्रहरू निर्माण गर्न आवश्यक मात्रामा विस्तृत नभएको हुँदा रापबोले विस्तृतीकरण गरिसकेका विषयहरूका विशिष्टीकरण तालिकाहरू बाहेक अन्य सबै विषयका विशिष्टीकरण तालिकाहरूलाई रापबोको समन्वयमा पाविकेले विस्तृतीकरण गर्नु जरुरी छ ।
तालिम सञ्चालन : बि.एड. तथा एम.एड. योग्यता भएका शिक्षकहरूले विशिष्टीकरण तालिका, त्यसभित्र रहने तत्वहरू बुझेका हुन्छन् र सो अनुसार प्रश्नपत्र निर्माण गर्न सक्षम हुन्छन् । तर अन्य सङ्कायबाट स्नातक तथा स्नातकोत्तर तह पार गरेका शिक्षकहरूलाई विशिष्टीकरण तालिका सम्बन्धी ज्ञान हुँदैन । विशिष्टीकरण तालिका प्रयोग गरी प्रश्नपत्र निर्माण गरिने काम रापबोले गर्ने हुँदा उक्त बोर्डले सम्बन्धित सबै प्रश्नपत्र निर्माणकर्ताहरूलाई विशिष्टीकरण तालिका र सो तालिकामा आधारित भएर प्रश्नपत्र निर्माण सम्बन्धी तालिम सञ्चालन गर्नु अत्यावश्यक छ । कतिपय मुलुकहरूले सक्षमतामा आधारित प्रश्नपत्र निर्माण गरी परीक्षा सञ्चालन गरिसकेको सन्दर्भमा रापबो पनि सम्बन्धित व्यक्तिहरूलाई आवश्यक तालिम दिई यो दिशामा समयमा नै अगाडि बढ्नु पर्छ । अन्यथा अहिले प्रश्नपत्रमा मात्र सीमित गुनासाहरू भोलि गएर परीक्षाकै कारण कक्षा १२ उत्तीर्ण गर्ने विद्यार्थीहरू उच्चशिक्षा लागि योग्य छैनन् र रोजगारीका लागि पनि सक्षम छैनन् भने आलोचनाहरू आउने सम्भावना रहन्छ ।


प्रश्नपत्रको विश्लेषण : भारतमा CBSE, सिङ्गापुरमा Ingapore Examination and Assessment Board, चीनमा शिक्षा मन्त्रालय तथा अन्य विकसित मुलुकहरूमा पनि विद्यालय तहको सार्वजनिक परीक्षा सकिना साथ सम्बन्धित परीक्षा बोर्डले प्रश्नपत्रहरूको विश्लेषण गरी सो अनुसार अङ्कन योजनामा आवश्यक सुधार गर्नुको साथै उक्त प्रश्नपत्र विश्लेषणको नतिजा पछिल्ला वर्षहरूका प्रश्नपत्रहरूमा सुधार ल्याउन प्रयोग गर्ने गर्दछ । रापबोले यो अभ्यास कुनै विषयमा हालै मात्र सुरु गरेको छ । प्रश्नपत्रमा त्रुटिहरू दोहरिन नदिन रापबोले परीक्षा सकिनासाथ प्रश्नपत्रहरू विश्लेषण गर्नु जरुरी छ ।
(लेखक प्रा.डा. प्रकाश मान श्रेष्ठ त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका पूर्व डिन हुनुहुन्छ)