काठमाडौँ/२२ कार्तिक – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेशमा रहेका नेपाली वैज्ञानिक, अनुसन्धानकर्ता र प्राविधिकलाई देशको हितका लागि योगदान गर्न आह्वान गरेका छन् ।
विदेशमा आर्जन गरेको ज्ञान, सीप, दक्षता र अन्तर्राष्ट्रिय अनुभव केवल विदेशी मुलुकका लागि मात्रै नभई नेपालका लागि पनि ठूलो सम्पत्ति रहेको भन्दै आह्वान गरेका हुन ।
मन्त्री पुनले लेखेका छन्, ‘विदेशमा तपाईँहरूले आर्जन गर्नुभएको ज्ञान, सीप, दक्षता र अन्तर्राष्ट्रिय अनुभव केवल विदेशी मुलुकका लागि होइन, नेपालका लागि पनि ठूलो सम्पत्ति हो । तर, देशले तपाईंहरूको प्रतिभालाई प्रयोग गर्न, आकर्षण गर्न र सम्मान गर्न अझै सकिरहेको छैन ।’
उनले आफूले शिक्षा मन्त्रालयको नेतृत्व गरेको छोटो अवधिमा विज्ञान र प्रविधिको विकासका सम्भावनाबारे सुझाव संकलन गर्न खोजिरहेको पनि उल्लेख गरेका छन् । ‘अहिलेको अवस्थामा धेरै ठोस काम गर्न नसकिए पनि देशको हितका लागि तपाईंहरूका नवीन विचार, अनुसन्धान प्रस्ताव र सम्भावित सहकार्यबारे सुन्न इच्छुक छु,’ उनले भनेका छन् ।
मन्त्री पुनले विज्ञान तथा प्रविधि क्षेत्रमा नयाँ सोच, अनुसन्धान र नवप्रवर्तनका अल्पकालीन प्रस्ताव वा सहकार्यका सुझाव इमेल mबजबदष्च२mयभकत.नयख.लउ मार्फत पठाउन पनि आग्रह गरेका छन् ।



