काठमाडौँ/१७ कार्तिक – नेपाल लगायत बाह्र देशका कलाकार सम्मिलित लालाबाला काठमाडौँ अन्तर्राष्ट्रिय बालनाटक महोत्सवको पाँचौँ संस्करण इम्पेरियल वल्र्ड स्कुलको प्रेक्षालयमा आजदेखि सुरु भएको छ ।
महोत्सवमा नेपाल, भारत, बङ्गलादेश, श्रीलंका, इरान, थाईल्यान्ड, युके, जापान, स्लोभाकिया, चेक रिपब्लिक, लातभिया, ब्राजिलका कलाकारको नाट्य प्रस्तुति हेर्न पाईने छ । यी विभिन्न देशका कलाकारले विभिन्न शैलीका नाटक आफ्नै भाषा र संस्कृतिमा प्रस्तुत गर्नेछन् । साथै बालबालिकासँग नाट्य कार्यशाला समेत हुनेछ ।
आजको उद्घाटनमा बुढानीलकण्ठ नगरपालिकाकी उप प्रमुख अनिता लामा तथा कलाकार, सङ्गीत नाट्य एकेडेमीका पुर्व उपकुलपति हरिहर शर्मा, प्रो. डा अभि सुवेदी, प्रो. डा सावित्री कक्षपति, नाट्य निर्देशक, लेखक अषेश मल्ल, रङ्गकर्मी आकाङ्क्षा कार्की, रङ्गकर्मी प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, राम केयसी, मञ्जु गिरी, पुष्पराज अवस्थी लगायतका अतिथिहरुको सहभागी रहेको थियो ।
अन्तर्राष्ट्रिय बालनाटक महोत्सव कार्तिक १७ गतेदेखि २२ गते सम्म आयोजना हुनेछ । बालनाटकको अग्रणी संस्था लालाबालाको अवधारणा र सक्रियतामा यो महोत्सव हरेक वर्ष आयोजना भईरहेको छ ।
आफ्नो विद्यालयमा कलाको अन्तर्राष्ट्रिय हब बनाउने उदेश्यले लालाबालासँग सहकार्य गरिएको विद्यालयका संस्थापक अध्यक्ष कुमार कार्कीले बताए । ‘विदेशी कलाकारहरू बस्ने, खाने, नाटक प्रस्तुत गर्ने एउटा अन्तर्राष्ट्रिय भेन्यु बनाउने रहर छ । जसमा हाम्रा विद्यार्थीले पनि अन्तर्राष्ट्रियस्तरको नाट्य प्रशिक्षण प्राप्त गर्नेछन्’ उनले भने ।
यो महोत्सवले विद्यार्थीमा कलाको महत्व बुझाउन र नेपालबाट संसारभरिलाई सकारात्मक सन्देश दिने महत्वपूर्ण मञ्च हने विद्यालयकी प्रिन्सिपल जुनीता कार्कीले बताईन ।
आजको उद्घाटनमा बाह्र देशका पचास भन्दा बढी कलाकार आआफ्ना देशका भेषभूषा लगाएर, झन्डा बोकेर एकैसाथ एकै ठाउँमा देखिँदा थरीथरीका फूल फुलेका बगैँचाजस्तो देखिएको महोत्सव निर्देशक टंक चौलागाईंको भनाई थियो ।
यो वर्ष अप्ठ्यारो समय भएपनि विभिन्न देशका कलाकार एउटै मञ्चमा उभिएर एक स्वर बनाएर सकारात्मक सन्देश प्रवाह गर्न चाहेकोले महोत्सवको आयोजना गरिएको उनले बताए ।
सोमवारबाट सुरु भएको नाट्य महोत्सवमा सोमवारनै उद्घाटनपछि आयोजक स्कुल, ब्रजिल र बङ्गलादेशले नाटक प्रस्तुति गरेका थिए । यसैगरी मंगलबार जापान, युके/थाईल्यान्ड, लातिभया, इरानको प्रस्तुति रहेको छ । बुधवार जोय हाउस कलेक्टिभ नेपाल र श्रीलंकाको प्रस्तुति रहेको छ । बिहिवार भ्याली भ्यु स्कुल र चेक रिपब्लिकको नाटक मञ्चन हुनेछ । शुक्रवार श्रीयन्त्र एजुकेसन फाउन्डेसन, भारत र स्लोभाकियाको नाटकपछि समापन हुनेछ । नाटक मञ्चन समय हरेक दिन १०ः३०, १ः०० र ५ः०० बजे रहने छ ।



