काठमाडौं/१६ बैशाख – अख्तियार अनुसन्धान आयोगले नक्कली अध्यापन अनुमति पत्र पेस गर्ने शिक्षक विरुद्ध मुद्दा दायर गरेको छ । सिराहाको महावीर मा.वि. चैनपुरमा कार्यरत शिक्षक टिक बहादुर मगर उपर मुद्दा दायर गरिएको हो ।
मगरले विद्यालयको मा.वि. तहमा नियुक्ति हुनका लागि झुट्टा अनुमतिपत्र पेस गरी भ्रष्टाचारजन्य कसुर गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा निज टिका भन्ने टिक बहादुर मगरले शिक्षक सेवा आयोगबाट जारी भएको नि.मा.वि. तहको अध्यापन अनुमति पत्रलाई मा.वि. तहको बनाई पटक पटक झुट्टा कागजात पेस गरी कार्यरत रहेको पाइएको आयोगले जनाएको छ ।
उनलाई राष्ट्रसेवक कर्मचारीको रूपमा सुविधा समेत प्राप्त गरेको देखिएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिबाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।