काठमाडौं/३१ चैत – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधनका लागि सरकार गम्भीर बन्नु पर्ने बताएका छन् ।
नेपाली कांग्रेसको शिक्षा विभाग प्रमुख समेत रहेका महर लाई ध्यानाकर्षण गर्न महरको सचिवालय पुगेका नेपाल शिक्षक संघका प्रदेश र जिल्ला अध्यक्षहरूसँग कुरा गर्दै नेता महरले भने ’ देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू लामो समय देखि काठमाडौँ केन्द्रीत आन्दोलनमा छन । विगतको सरकार सँगको सहमति कार्यान्वयनका लागि सरकार खासै संवेदनशील देखिएन ।
मन्त्रीपरिषद्को बैठबाट मात्र पनि सम्बोधन गर्न सकिने थुप्रै मागहरू भएको बताउँदै महरले हुन सक्ने मागका लागि छिटो मन्त्रीपरिषद् बैठक राखेर टुङ्ग्याईनु पर्ने र बाँकी विषयको वर्गीकरण गर्दै समय तालिका निर्माण गरेर अगाडि बढन सकिने तमाम आधार लाई सरकारले गम्भीर रूपमा लिनुपर्ने बताए ।
शैक्षिक आमहड्ताल घोषणा गरेर आन्दोलनरत शिक्षक समुदायको आत्मसम्मानको ख्याल गरेर निष्कर्ष निकाल्नका लागि प्रधानमन्त्रीको थप क्रियाशीलता खाँचो रहेको र देशको वर्तमान परिस्थितिको आँकलन गरेर सामुदायिक विद्यालयका आन्दोलनरत शिक्षकहरूले वार्ता सम्वाद गरेर निष्कर्षमा पुग्नु पर्ने महरको भनाई थियो ।



