शिक्षकका माग मन्त्रीपरिषद् र मन्त्रालयले निर्णय गरेर आजै सम्बोधन गर्नुपर्छ

काठमाडौं/२९ चैत – नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विगतका गल्ती स्वीकारेर सामूहिक प्रयासबाट शिक्षकका माग सम्बोधन गरी कक्षाकोठा फर्काउनु पर्ने बताएका छन् । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा हुनु दुर्भाग्यपूर्ण र लज्जास्पद विषय रहेको भन्दै सो कुरा बताएका हुन् ।


उनले बैशाख २ बाट सुरु हुने नयाँ शैक्षिक सत्रअघि नै यो विषय नटुङ्ग्याए सार्वजनिक शिक्षामा दीर्घकालीन असर पर्न सक्ने उल्लेख गर्दै प्रधानमन्त्री र सरकारले जिम्मेवारीबोध गर्नुपर्ने बताए ।


उनले भने ‘यो अवस्था संसदले बनाउनुपर्ने कानुन समयमा नबनाउँदा आएको हो । अब विगतका गल्ती स्वीकारेर सामूहिक प्रयासबाट शिक्षकका माग सम्बोधन गरी उनीहरूलाई कक्षाकोठा फर्काउनुपर्छ । बैशाख २ बाट सुरु हुने नयाँ शैक्षिक सत्रअघि नै यो विषय टुङ्ग्याउनुपर्छ, नत्र सार्वजनिक शिक्षामा दीर्घकालीन असर पर्न सक्छ । प्रधानमन्त्री र सरकारले जिम्मेवारीबोध गर्नुपर्छ भने शिक्षकहरूले पनि समयको संवेदनशीलता बुझ्नुपर्छ ।’


समस्या समाधानका लागि दुई चरणमा काम गर्नुपर्ने बताउँदै पहिलो कानुन नबनाई गर्न सकिने विषय र दोस्रो कानुन निर्माणसँग जोडिएका विषय छुट्टयएर शिक्षकका माग सम्बोधन गर्नुपर्ने विचार व्यक्त गरेका छन् ।


पहिलोमा मन्त्रीपरिषद्ले निर्णय गरेर गर्न सकिने करिब १५ वटा विषय रहेको जसमा शिक्षकहरूको मर्यादाक्रम, स्वास्थ्य उपचार, सामाजिक सुरक्षा, प्राविधिक ग्रेड, दरबन्दी मिलाउने, शिक्षक विद्यार्थी अनुपात, ईसीडी शिक्षकको तलबमान, विद्यालय कर्मचारी र राहत शिक्षकको बिरामी बिदा जस्ता विषयका लागि आवश्यक स्रोत जुटाएर तत्काल निर्णय गर्नुपर्ने बताए । यसो गर्दा विश्वासको वातावरण बनने उनको भनाई छ ।


यसैगरी दोस्रोमा कानुन निर्माणसँग जोडिएका विषयमा संसदको अधिवेशन तत्काल बोलाएर ७–८ दिनभित्र शिक्षा विधेयक पारित गर्ने समझदारी गर्नुपर्ने उनको भनाई छ । उनले भने ‘विधेयकको अन्तर्वस्तुमा शिक्षक संघ महासङ्घसँग भएको समझदारी र अन्य मागहरूलाई समेटेर फास्ट ट्रयाकबाट विधेयक टुङ्ग्याउनुपर्छ । संसद सुरु भएको ५–६ दिनभित्र विधेयक पारित गर्ने गरी काम गर्नुपर्छ । यसो गर्दा शिक्षकहरूलाई बैशाख १२–१८ भित्र विधेयक पारित हुन्छ भन्ने भरोसा हुन्छ र उनीहरू काममा फर्कन सक्छन् । यो सबै गर्न विश्वासको वातावरण बनाउनुपर्छ । मन्त्रीपरिषद् र मन्त्रालयले निर्णय गरेर गर्न सकिने १५ वटा विषयमा आजै सम्बोधन गर्नुपर्छ ।’