काठमाडौँ /२४ चैत – संस्थागत विद्यालय शिक्षक युनियन (ईष्टु)ले सबै सामुदायिक र संस्थागत विद्यालय बन्द गरी काठमाडौँको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन सबै शिक्षक–कर्मचारीहरूलाई निर्देशन दिएको छ । नेपाल शिक्षक महासङ्घको स्थापनादेखिकै सम्बद्ध घटक संगठन रहेको उल्लेख गर्दै गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने सवालमा यो अन्तिम र निर्णायक आन्दोलन रहेको भन्दै सो निर्देशन दिएको हो ।
आज विज्ञप्ति जारी गर्दै भनिएको छ ‘नेपाल शिक्षक महासङ्घ २०८१ माघ २० गतेबाट निरन्तर आन्दोलनमा छ । यसैक्रममा २०८१ चैत्र २० गतेबाट काठमाडौँ शैक्षिक सडक आन्दोलन चिलरहेको छ । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने सवालमा यो अन्तिम र निर्णायक आन्दोलन हो । यो आन्दोलनमा थप उर्जा भर्न २०८१ चैत्र २५ गतेबाट नेपाल शिक्षक महासङ्घले आम शैक्षिक हडतालको घोषणा गरेको छ र देशभरका सबै सामुदायिक र संस्थागत विद्यालय बन्द गरी काठमाडौँको शैक्षिक सडक आन्दोलनमा सहभागी हुन अनिवार्य आउन सबै शिक्षक–कर्मचारी साथीहरूलाई आग्रह गरेको छ ।’
साथै यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै शिक्षकहरूसँग आग्रह गरेको छ । आन्दोलन निजि विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको पनि रहेको ईष्टुको भनाई छ ।
यसैगरी आन्दोलन सामुदायिक विद्यालय शिक्षकहरूको मात्र हो भनी भ्रमित नहुन अनुरोध गर्दै विद्यालय सञ्चालकहरूको लगानीको मुद्दा पनि विद्यालय शिक्षा ऐनमा जोडिएको हुँदा प्यब्सन र एन प्यब्सनलाई आम शैक्षिक हडतालको आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्न र विद्यालय बन्द गरेर सहयोग गर्न पनि अनुरोध गरिएको छ ।




