काठमाडौँ /२५ फागुन – त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालय, अनुसन्धान निर्देशनालयले राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रमा गरिने अनुसन्धान परियोजना प्रस्ताव आह्वान गरेको छ ।
आ.व. २०८०÷०८१ को अनुसन्धान अनुदान कार्यक्रम अन्तर्गत त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण निकायहरूबाट (अनुसन्धान केन्द्रहरू सहित ) सोह्रौँ पञ्चवर्षीय योजना तथा दिगो विकासका लक्ष्यहरू हासिल गर्ने उद्देश्यले राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रहरूमा अनुसन्धान गर्नको लागि अनुसन्धान प्रस्ताव आह्वान गरेको हो ।
अनुसन्धान सञ्चालन सम्बन्धी मापदण्ड एवं निर्देशिका २०८१ (संशोधित) अनुसार अनुसन्धानका प्रकार, प्रस्तावको ढाँचा, मूल्याङ्कन विधि एवं त्यस सम्बन्धी विस्तृत जानकारी त्रिविको वेभसाइट www.tu.edu.np मा हेर्न सकिने छ ।
कार्यविधि अनुसार आफ्नो परियोजनाको प्रकार स्पष्ट खुलाई तीन प्रति अनुसन्धान प्रस्ताव र त्यसका डिजिटल कपी समेत निर्देशनालयमा चैत १३ गतेसम्म पेस गर्नु पर्ने त्रिविले जनाएको छ ।



