काठमाडौं/८ फागुन – वार्षिक रक्तदान कार्यक्रम २०८१ भोलि, फागुन ९ गते, काठमाडौंको हट्टीसारस्थित नेपाल हाउस रेस्टुरेन्टमा आयोजना हुँदैछ । यो कार्यक्रम हब इन्टरनेशनल एजुकेशनले लायन्स क्लब अफ काठमाडौं अरनिको र लायन्स क्लब अफ काठमाडौं अनेकाको सहकार्यमा आयोजना गर्न लागेको हो ।
“रक्तदान, जीवनदान“ भन्ने मूल नारासहित आयोजना हुन लागेको कार्यक्रममा, रक्तदाताहरूलाई रक्तदान गर्न प्रेरित गरिनेछ । बिहान ११ बजे देखि अपराह्न ४ बजे सम्म चल्ने कार्यक्रममा रक्तदाताहरूलाई निःशुल्क बिएमआई तथा स्वास्थ्य परीक्षण सेवा प्रदान गरिनेछ ।
यस रक्तदान कार्यक्रमलाई त्रिभुवन विश्वविद्यालय लायन्स ब्लड ट्रान्सफ्यूजन तथा अनुसन्धान केन्द्र द्वारा समर्थन गरिनेछ, जसले रक्तदान प्रक्रिया सहज बनाउनेछ । आयोजकहरू स्वयंसेवकहरू र रक्तदाताहरूको सक्रिय सहभागिता रहने अपेक्षा गर्दै छन् ।
आयोजकहरूले सम्पूर्ण व्यक्तिहरूलाई रक्तदानमा सहभागी भई यस पुण्य कार्यमा योगदान दिन आग्रह गरेका छन् ।



