विद्यालय कर्मचारीको कर्णाली भेला : राज्यको पूर्वाग्रही सोचले आन्दोलनमा जान बाध्य भयौँ

सुर्खेत/८ फागुन – नेपाल विद्यालय कर्मचारी परिषद्ले सुर्खेतमा चौथो प्रदेश भेला बुधवार सम्पन्न गरेको छ । शिक्षक महासङ्घले घोषणा गरेको आन्दोलनलाई थप व्यवस्थित तरिकारले ७ जिल्लाका अध्यक्ष र सम्पूर्ण प्रतिनिधिहरूको उपस्थितिमा भेला सम्पन्न भएको हो ।


उक्त भेलामा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी प्रमुख अथितीका रूपमा उपस्थित भएका थिए भने विशेष अतिथिमा परिषद्का केन्द्रीय महासचिव शान्तिनाथ योगी रहेका थिए ।


भेलाले सामुदायिक विद्यालयमा शिक्षण सेवा बाहेकका कर्मचारीहरूको नियुक्ति, सेवा सर्त र सुविधाका विषयमा स्थापना कालदेखि हालसम्म आधार पेट खाएर पनि राज्यले गरेको अन्यायपूर्ण व्यवहारका विरुद्ध सङ्घर्ष गर्नुको विकल्प नरहेको ठहर गरेको छ ।


विद्यालय कर्मचारीलाई राज्यले कुनै पनि सेवा सुविधा नदिएको, २०२९ साल देखिनै पेसागत मागका लागि पटक पटक आन्दोलन गर्नु परेको, यस अघि गरिएका सहमति र सम्झौतालाई राज्यले कार्यान्वयनमा नल्याएको, विद्यालयका कर्मचारी विशुद्ध रूपमा विद्यालयको कर्मचारी मात्र भएको भन्ने जस्ता अनभिज्ञता प्रस्ट गर्ने, पूर्वाग्रही सोच अभिव्यक्त गर्ने लगायतका कुराले आन्दोलनमा जानुपर्ने बाध्यता रहेको प्रदेश भेलाको निष्कर्ष छ ।