काठमाडौं/६ फागुन – शिक्षण सिकाइ क्रियाकलापहरूमा डिजिटल सीप भनेको शिक्षकहरूले सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउन डिजिटल उपकरण, प्रविधि र अनलाइन स्रोतहरू प्रयोग गर्ने क्षमतालाई जनाउँछ । डिजिटल शिक्षण सीपमा मल्टिमिडियाबाट प्रस्तुतीकरण, इन्टरएक्टिभ ह्वाइटबोर्ड, शैक्षिक एपहरू र अनलाइन सिकाइ प्लेटफर्महरू प्रयोग गरेर विद्यार्थीहरूलाई सिकाइमा संलग्न गराउने कार्य गरिन्छ । डिजिटल सीप भएका शिक्षकहरूले भर्चुअल कक्षा सञ्चालन गर्न, डिजिटल सामग्री सिर्जना गर्न, डिजिटल माध्यमबाट विद्यार्थीहरूको मूल्याङ्कन गर्न र सहकार्यात्मक सिकाइ गर्न सक्छन्।
यस्ता सीपहरूमा अनलाइन सुरक्षा, तथ्याङ्क व्यवस्थापन र पाठ योजना सम्बन्धी प्रविधिको उपयोग गर्ने क्षमता पर्दछन् । डिजिटल सीपको विकासले सिकाइलाई अझ अन्तर्क्रियात्मक, व्यक्तिगत आवश्यकतामा आधारित सिकाइ र पहुँचयोग्य बनाउन सहयोग गर्छ । शिक्षण क्रियाकलापमा Digital Skill को भूमिका आजको शिक्षण सिकाइ क्रियाकलापमा Digital Skill (डिजिटल सीप) अपरिहार्य बनेको छ । डिजिटल संसारमा शिक्षक र विद्यार्थी दुवैले प्रविधिको प्रभावकारी प्रयोग गरिरहेका छन् ।
डिजिटल सीप अन्तर्गत कम्प्युटर, इन्टरनेट, स्मार्टफोन, शैक्षिक एप्लिकेसन, प्रेजेन्टेसन, भिडियो सामग्री, ई-लर्निङ प्लेटफर्म तथा एआईको प्रयोग गर्न सक्ने क्षमता दैनिक रुपमा बढिरहेको छ ।
शिक्षणमा Digital Skill को प्रयोग
१. शैक्षिक सामग्री तयार गर्न : PowerPoint, Canva, Google Slides जस्ता उपकरण प्रयोग गरेर आकर्षक शैक्षिक सामग्री निर्माण गरी सिकाउन सकिन्छ । YouTube, Khan Academy जस्ता प्लेटफर्मबाट शैक्षिक भिडियोहरू खोजी गरी शिक्षण गर्न सकिन्छ ।
२. ई-लर्निङ र अनलाइन स्रोतको प्रयोग: Google Classroom, Microsoft Teams, Moodle जस्ता प्लेटफर्महरू प्रयोग गरी विद्यार्थीलाई डिजिटल माध्यमबाट सिकाउन सकिन्छ। Wikipedia, Coursera, Edmodo जस्ता स्रोतबाट अनलाइन शिक्षण सामग्री अध्ययन गरी सिकाउन सकिन्छ ।
३. इन्टरएक्टिभ शिक्षण विधिहरू : Kahoot, Quizizz जस्ता एप्सबाट खेल-आधारित भई सिकाउन सकिन्छ Google Earth, VR Headset जस्ता उपकरण प्रयोग गरी विद्यार्थीहरूलाई वास्तविक अनुभव दिई शिक्षण गर्न सकिन्छ ।
४. विद्यार्थीहरुको मूल्यांकन : Google Forms, Kahoot, Mentimeter जस्ता उपकरण प्रयोग गरी अनलाइन परीक्षण तथा सुझाव लिई प्रभावकारी तरिकाले शिक्षण गर्न सकिन्छ ।
५. सहकार्य र संचार सुधार : Zoom, Google Meet, Microsoft Teams जस्ता उपकरण प्रयोग गरी भर्चुअल माध्यमबाट पनि सिकाउन सकिन्छ। विद्यार्थीहरूलाई ब्लग लेखन, पोडकास्ट निर्माण, भिडियो प्रोजेक्ट जस्ता विषयवस्तुहरु डिजिटल माध्यमबाट सिकाउन सकिन्छ ।
शिक्षण सिकाइ क्रियाकलाप Digital Skill मा
१. एकाइसौं शताब्दीमा Skills को आवश्यकता : वर्तमान अवस्थाको शिक्षण सिकाइ 4C’s (Critical Thinking, Creativity, Collaboration, Communication) मा केन्द्रित रहेको छ । यसको प्रयोग गर्न डिजिटल सीप आवश्यक हुन्छ । प्रविधिमा सक्षम व्यक्ति उत्पादन गर्न डिजिटल शिक्षा अनिवार्य रहेको छ ।
२. स्रोतको सहज पहुँच : अनलाइन स्रोतहरूले विद्यार्थीलाई ज्ञानका साथै सिक्न सहज बनाउँछन् । डिजिटल माध्यमबाट विद्यार्थीहरू स्व-अध्ययन गर्न सक्षम हुन्छन् ।
३. समावेशी सिकाइ : डिजिटल शिक्षणका माध्यमबाट विशेष आवश्यकता भएका विद्यार्थीहरू सहजरूपमा अध्ययन गर्ने अवसर पाउँछन् । E-books, Audio Books, Text-to-Speech जस्ता प्रविधिले शिक्षामा समावेशिता बढाउँन सहयोग गर्छ ।
४. स्मार्ट कक्षा: डिजिटल शिक्षणले कक्षाकोठालाई स्मार्ट कक्षामा रूपान्तरण गर्छ। शिक्षक र विद्यार्थीबीचको अन्तरक्रियालाई प्रभावकारी बनाउँछ ।
Digital Skill को प्रयोग गरी शिक्षण गर्दा सिकाइमा पार्ने प्रभाव
१. सिकाइलाई रुचिकर र प्रभावकारी भिडियो, एनिमेसन र चित्रात्मक सामग्री प्रयोग गर्दा विद्यार्थीहरुले सहज रूपमा बुझ्न र लामो समयसम्म सम्झन सक्छन् । जस्तै वातावरणका बारेमा सिकाउँदा YouTube भिडियो, एनिमेसन वा VR प्रविधि प्रयोग गर्दा विद्यार्थीले ध्यानपूर्वक अध्ययन गर्न सक्छन् । Kahoot, Quizizz, Duolingo जस्ता डिजिटल खेलहरू प्रयोग गर्दा सिकाइमा जागरुकता भई सहभागिता बढ्न सक्छ ।
२. सिकाइको पहुँच विद्यार्थीहरूले अनलाइन स्रोतहरू (Google Classroom, Coursera, Khan Academy) मार्फत आफ्नो समयअनुसार अध्ययन गर्न सक्छन् । दूरदराजका विद्यार्थीहरू पनि इ-लर्निङ मार्फत सहज रुपमा शिक्षा हासिल गर्न सक्छन् । श्रवण (Audio Books), दुष्य (E-books, Large Texts) र अन्य सहायक प्रविधि प्रयोग गरेर विशेष आवश्यकता भएका विद्यार्थीहरूको लागि सिकाइ सहज बनाउन सकिन्छ ।
३. विद्यार्थीको सक्रिय सहभागिता विद्यार्थीहरूले डिजिटल माध्यम (Google Docs, Padlet, Mentimeter) मा आफ्ना विचारहरू आदान प्रदान गर्न सक्छन् । अनलाइन सेमिनार, भिडियो कन्फरेन्स जस्ता कार्यले विद्यार्थी-शिक्षक अन्तरक्रियामा सुधार ल्याउन सक्छ ।
४. व्यक्तिगत सिकाइमा सम्भावना एआईमा आधारित प्रविधि (Google Assistant, ChatGPT, Smart Learning Apps) प्रयोग गरेर विद्यार्थीको क्षमता अनुसार पाठ योजना बनाई सिकाउन सकिन्छ । Learning Analytics मार्फत विद्यार्थीको उपलब्धि लेखाजोखा गर्न सकिन्छ ।
५. विद्यार्थी मूल्यांकन शिक्षकहरूले Google Forms, Quizizz, Kahoot मार्फत तुरुन्तै विद्यार्थीहरुले हासिल गरेको नतिजा मूल्यांकन गर्न सक्छन् । विद्यार्थीको मौलिकता Plagiarism Checker मार्फत परीक्षण गर्न सकिन्छ ।
६. एक्काइसौ शताब्दीको सीप विकास एआई, तथ्याङ्क विश्लेषण, डिजिटल सञ्चार र समस्या समाधान जस्ता सीपहरूले सिक्न र सिकाउन प्रेरित गर्छन् । विद्यार्थीहरु डिजिटल उपकरणहरू प्रयोग गरी आत्मनिर्भर बन्न सक्छन् ।
निष्कर्ष
डिजिटल युगमा शिक्षण र सिकाइ डिजिटल सीपविना पूर्ण नहुन सक्छ । डिजिटल शिक्षण सीपको ज्ञानले पहुँच बढाउने मात्र नभई प्रभावकारी शिक्षण सिकाइ प्रक्रियालाई सहज बनाउँछ । प्रविधिमा आधारित शिक्षाले विद्यार्थीलाई सिर्जनशील, स्वतन्त्र रूपमा सोच्न र समस्या समाधान गर्न सक्षम बनाउँछ । डिजिटल सीपले अनलाइन स्रोतहरूको उपयोग, तथ्याङ्क विश्लेषण, कोडिङ, मल्टिमिडियाबाट प्रस्तुति तथा प्रभावकारी सञ्चार जस्ता क्षमताहरू विकास गर्न सहयोग गर्छ। शिक्षण विधिमा डिजिटल उपकरणको प्रयोगले विद्यार्थीको सक्रिय सहभागिता र सिकाइमा प्रभावकारिता ल्याउँछ । वर्तमान शिक्षण पद्दतिमा शिक्षकले डिजिटल शिक्षण विधि अपनाउनु आवश्यक रहेको छ । डिजिटल सीपले विद्यार्थीलाई भविष्यका अवसरहरूमा प्रतिस्पर्धी बनाउन सहयोग गर्छ । त्यसैले शिक्षकहरूले डिजिटल सीप सिक्ने र विद्यार्थीहरुलाई डिजिटल माध्यमबाट सिकाउने कुरामा ध्यान दिनु जरुरी देखिन्छ ।
– लेखक खिलानाथ धमला, पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम विज्ञ हुनुहुन्छ ।



