स्थानीय तहमा शिक्षा कोष आवश्यक छ : शिक्षामन्त्री

काठमाडौं/१६ माघ – संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा विषयगत समितिको बैठक तथा शिक्षा सुधारसम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । राजधानीको होटल शंकर, लाजिम्पाटमा भएको कार्यक्रममा सातै प्रदेशका सामाजिक विकास मन्त्री, सचिव तथा विभिन्न स्थानीय तहका प्रतिनिधिहरूको सहभागितामा कार्यक्रम आयोजना गरिएको थियो ।


बैठकमा सहभागीहरू र शिक्षामन्त्री भट्टराईबिच शिक्षा सुधारका विभिन्न मुद्दाहरूमा छलफल गरिएको थियो । सहभागीहरूले शिक्षामा सुधारका लागि नीतिगत परिवर्तन, समन्वय र कार्यान्वयनको आवश्यकता औँल्याए । साथै मन्त्री भट्टराईले शिक्षासम्बन्धी नीतिगत सुधार, शिक्षक व्यवस्थापन तथा बजेटको सुनिश्चितता गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारीन ।


विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयन, स्थानीय शिक्षा योजना निर्माण, अनिवार्य तथा निःशुल्क शिक्षाको कार्यान्वयन, विपद् प्रभावित विद्यालयको पुनर्निर्माण, माध्यमिक शिक्षा परीक्षा (एसईई) सुधार, सामुदायिक तथा संस्थागत विद्यालयको नियमन र व्यवस्थापन तथा शिक्षक तलब भुक्तानीका विषयमा छलफल भएको थियो ।


छलफलका क्रममा विभिन्न प्रतिनिधिहरूले बाढीबाट प्रभावित विद्यालयहरूको पुनर्निर्माणमा विशेष ध्यान दिनुपर्ने, भूकम्प प्रभावित विद्यालयहरूको पुनर्निर्माणमा शीघ्र पहल गर्नुपर्ने बताएका थिए । यसैगरी शिक्षाको गुणस्तर सुधार गर्दै विश्वस्तरीय प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नुपर्ने, पाठ्यक्रमलाई समयानुकूल बनाउनुपर्ने र अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयनका लागि तीन तहका सरकारले मिलेर काम गर्नुपर्ने सहभागीहरूले धारणा राखे ।


स्थानीय सरकारलाई विद्यालय शिक्षाको पूर्ण जिम्मेवारी दिनुपर्ने विचार राख्दै, स्थानीय तहको निगरानीले शिक्षाको गुणस्तरमा सुधार आएको साथै, माध्यमिक शिक्षा परीक्षा एसईईको सुधारका लागि शिक्षाको आधारभूत तहबाट नै गुणस्तर सुधार गर्न आवश्यक रहेको कुरा सहभागीहरूले बताए । धेरै सहभागीहरूले पहाडी क्षेत्रमा जनसंख्या घटिरहेको र तराई तथा शहरी क्षेत्रमा विद्यार्थीको चाप बढिरहेको हुँदा दरबन्दी मिलान आवश्यक रहेको र शिक्षा क्षेत्रमा सुधारका लागि तीन तहका सरकारले समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिए ।


शिक्षामन्त्री विद्या भट्टराईले संघीय सरकार शिक्षा सुधारमा अभिभावकीय भूमिका लिन तयार रहेको बताइन । शिक्षासम्बन्धी विषयगत समितिको बैठकले उठाएका मुद्दाहरू महत्त्वपूर्ण भएको भन्दै समाधानका लागि समन्वयात्मक प्रयास आवश्यक रहेको उनको भनाई थियो ।


साथै पाठ्यक्रमको बोझिलो संरचनाबारे सहमति जनाउँदै विद्यार्थीको रुचिलाई प्रोत्साहित गर्ने शिक्षा प्रणाली विकास गर्नुपर्ने र अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम प्रभावकारी बनाउन राम्रा अभ्यासहरूलाई आत्मसात गर्नुपर्ने बताउँदै शिक्षामा पर्याप्त बजेट विनियोजन आवश्यक रहेको धारणा व्यक्त गरिन । मन्त्री भट्टराईले स्थानीय तहमा शिक्षा कोष र योजना आवश्यक रहेको बताउँदै एसईईको परीक्षा प्रदेशस्तरमा हस्तान्तरण गर्ने, शिक्षक तलब मासिक रूपमा निकासा गर्ने विषयमा कानुनी अड्चन हटाउन अर्थ मन्त्रालयसँग समन्वय गरिने बताइन ।


मन्त्री भट्टराईले शिक्षा विधेयक संसदमा पेश गर्ने प्रक्रियालाई तीव्रता दिइएको जानकारी दिँदै शिक्षक दरबन्दी पुनरावलोकनका लागि कार्यदल गठन भइसकेको र आवश्यक परेमा कानुनी सुधार गरिने बताइन । उनले संस्थागत विद्यालयहरूको नियमनका लागि पाठ्यक्रम र शुल्क प्रणालीलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिँदै संस्थागत विद्यालयका शिक्षकका लागि अध्यापन अनुमति पत्र लागु गरिने जानकारी दिइन ।