अन्तर्राष्ट्रिय शिक्षा दिवसको अवसरमा काँग्रेसको ’ग्लोबल वेबनार’

काठमाडौं/१२ माघ – नेपाली काँग्रेसको शिक्षा विभागले ७औँ अन्तर्राष्ट्रिय शिक्षा दिवस २४ जनवरीको अवसरमा शुक्रवार भर्चुअल माध्यमबाट ग्लोबल वेबनार कार्यक्रमको आयोजना गरेको थियो । शिक्षा नीति बहसअन्तर्गत चौथो श्रृंखलाका रुपमा विभागले ग्लोबल वेबनार आयोजना गरेको थियो ।


शिक्षा विभाग प्रमुख एवं काँग्रेस केन्द्रीय सदस्य नैनसिंह महरको संयोजकत्वमा आयोजित कार्यक्रममा १ लाख ५ हजारभन्दा धेरैले सहभागिता जनाएका थिए । उक्त कार्यक्रममा दिनहुँ विश्वव्यापी रूपमा परिवर्तन भइरहेका शिक्षा प्रणाली र यसका आयामबारे चर्चा गरिएको थियो ।


आर्टिफिसियल इन्टेलिजेन्टको माध्यमले शिक्षामा कसरी प्रभाव परिरहेको छ र शिक्षालाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा कार्यक्रमका सहभागीहरूले आफ्नो धारणा राखेका थिए ।


कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले प्रविधि अनुरूप चल्न सक्नुपर्ने बताएका छन् । ’समय सापेक्ष शिक्षा नीति अंगिकार गर्दै चल्न सकेनौँ र प्रविधिलाई अँगाल्न सकेनौँ भने हामीले विश्व बजारसँग प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्न सक्दैनौँ। त्यसैले प्रविधि विकासमा ध्यान दिनुपर्छ,’ उनले भने ।


सेमिनारमा शिक्षा विभाग प्रमुख महरले एआईलाई सञ्चालन गर्न जीवनपद्धति पनि आदर्शवादी हुनु जरुरी रहेको औँल्याएका छन् । ’जस्तो हामीले व्यवहार र कर्म ग¥यौं, त्यही अनुसार एआईले पनि कपि गर्ने भएकाले राम्रो सोच्दा र राम्रो नियम पालन गर्दा एआईले पनि त्यसै अनुसार काम गर्छ । एआईको प्रयोग राम्रो नभएमा विश्वमा ठूला खतरा पनि हुनसक्छन्,’ उनले भने ।


यसको सदुपयोग गर्न, शिक्षाभित्र प्रवेश गराउन विद्यार्थी, शिक्षक र अभिभावकका लागि एआईका माध्यमले काम गर्न सबै देशको जनता प्रविधिमा सचेत हुनु आवश्यक रहेको महरले बताए । यसलाई कानुनबद्ध गर्दा राम्रो सन्देश दिने र नत्र खतरा उत्पन्न हुनसक्ने तर्फ उनले सचेत गराएका छन् ।


खुला विश्व विद्यालयका डिन सुरेन्द्र श्रेष्ठ, पावर अथिरिटीका निर्देशक सुरेन्द्र लम्साल, वातावरण विद् डा. धर्म उप्रेती, भाषा आयोगका पूर्वअध्यक्ष लवदेव अवस्थी लगायतका विज्ञले यस विषयमा आफ्नो धारणा राखेका थिए ।


विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख, एनआरएनका प्रतिनिधि, ३५ देशका जनसम्पर्क समिति, विश्वमा रहेका प्रोफेसर र नेपालमा रहेका विश्व विद्यालयका प्रतिनिधि भिसि, रेक्टर, रजिस्ट्रार, मन्त्री, काँग्रेस पदाधिकारीलगायत एक लाख बढी छलफलमा जोडिएका थिए ।