सुर्खेत/८ पुस – अस्ट्रेलियाका राजदूत लिआन जोनस्टनले मध्यपश्चिम विश्वविद्यालयको अवलोकन गर्नुका साथै उच्च शिक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी भएका छन् । उनको सहभागीताले नेपाल र अस्ट्रेलियाबीचको शैक्षिक र कूटनीतिक सम्बन्धलाई थप सुदृढ गर्ने महत्वपूर्ण अवसर बनेको विश्वविद्यालयले जनाएको छ ।
उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले दुई देश बीच विद्यमान सम्बन्ध र सहकार्यको प्रशंसा गर्दै आगामी दिनमा मध्यपश्चिम विश्वविद्यालय र अस्ट्रेलियाली विश्वविद्यालयहरूबीच थप शैक्षिक साझेदारी विस्तारको आवश्यकता औंल्याउँदै अनुसन्धानका कार्यक्रमहरूमा थप सहकार्यका लागि आग्रह गरे ।
लिआन जोनस्टनले अस्ट्रेलिया र नेपालबीचको दीर्घकालीन सम्बन्ध र सहकार्यलाई प्रकाश पार्दै शिक्षा, शासन र सांस्कृतिक आदानप्रदानमा आपसी सहकार्य सम्बन्धी चर्चा गरेका थिए । कार्यक्रमले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो ।



