काठमाडौं/७ माघ – शिक्षक दरबन्दी पुनरावलोकन समितिले प्रतिवेदनको अध्ययन, सूचना तथा अन्य विधिबाट सुझाव माग, जनसङ्ख्या/विद्यार्थी/शिक्षकको तथ्याङ्क विश्लेषण गर्ने आदि काम सकिएको जनाएको छ । आइतवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईसँगको छलफलमा सो कुरा जनाएको हो ।
प्रतिवेदन तयार गर्ने क्रममा आधारभूत तह भन्नाले बालविकास देखि कक्षा ८ हो की कक्षा १ देखि कक्षा ८ सम्म, पहिलेका माध्यमिक र उच्च माध्यमिक शिक्षकलाई माध्यमिक शिक्षकमा भनी समायोजन गर्ने, पहाडी र हिमाली क्षेत्रमा कतिपय विद्यालयमा विद्यार्थी सङ्ख्या अत्यन्त कम भएको तथा तराई र सहरी क्षेत्रमा विद्यार्थीको चाप भएको कारण शिक्षक÷विद्यार्थी अनुपात कायम गर्ने जस्ता विषयमा शिक्षा मन्त्रालयले केही नीतिगत स्पष्ट पारिदिन समितिले मन्त्रालयसँग आग्रह गरेको छ ।
शिक्षा सचिव डा. दीपक काफ्लेले समितिले गर्न लागेको काम मेघा काम भएको र समितिले दिने सुझाव मूल्यवान् हुने कुरा व्यक्त गरे । समितिले प्रतिवेदन तयार गर्दा चालु ऐन÷सिद्धान्त अनुसार गर्ने र आगामी दिनका लागि प्रतिवेदनले सुझाव दिनु पर्ने उनको भनाई थियो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले कतिपय विषय छलफलमै रहेकोले विद्यमान ऐन तथा नियममा आधारित रहेर आफ्नो प्रतिवेदन तयार गर्न ठीक हुने धारणा व्यक्त गरिन । तथ्याङ्कको सही विश्लेषण गर्ने, विज्ञहरूसँग छलफल गर्ने, स्थानीय सरकार, विद्यालय तथा शिक्षकहरूसँग समेत छलफल र अन्तक्र्रिया गरी निचोडमा पुग्न समितिलाई उनको सुझाव थियो ।
समितिबाट प्राप्त प्रतिवेदनमा भएका सुझावहरू ग्रहण गरी कार्यान्वयन जाने र समितिमा छलफलका क्रममा रहेको शिक्षा विधेयकमा सुझाव दिन र समितिलाई मन्त्रालयका तर्फबाट धारणा दिने सैद्धान्तिक आधार प्राप्त हुने बिचार मन्त्री भट्टराईले राखिन ।



