काठमाडौं/१ माघ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक सेवा आयोगको सदस्य नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । हाल रिक्त रहेको र रिक्त हुने एक महिलासहित दुईजना सदस्य नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो ।
दुईजना सदस्य नियुक्ति गर्ने प्रयोजनका लागि सिफारिस समितिद्वारा स्वीकृत “शिक्षक सेवा आयोगका सदस्य नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिको बैठक र छनोट सम्बन्धी कार्यविधि, २०८१” बमोजिम दरखास्त दरखास्त माग गरिएको छ । साथै पेश गर्ने उम्मेदवारहरूबीच योग्यता क्रम निर्धारण गरी उच्चतम अङ्क प्राप्त गर्ने उम्मेदवारलाई तोकिए बमोजिम आयोगको सदस्य नियुक्तिका लागि नेपाल सरकार समक्ष सिफारिस गरिने छ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र रीतपूर्वकको दरखास्त दिनुपर्ने छ । दरखास्त फाराम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट www.moest.gov.np बाट डाउनलोड गर्न सकिनेछ ।
योग्यता तथा अनुभव
शिक्षक सेवा आयोगको सदस्यको पदमा नियुक्तिका लागि देहायका योग्यता पुगेको हुनुपर्नेछ :
(क) नेपाली नागरिक,
(ख) नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको,
(ग) नियुक्ति हुनुभन्दा कम्तीमा दुई वर्ष अगाडिदेखि कुनै राजनीतिक दलको सदस्य नरहेको,
(घ) चालीस वर्ष उमेर पूरा भई पैँसठ्ठी वर्ष ननाघेको,
(ङ) कानून, शिक्षा वा प्रशासनको क्षेत्रमा कम्तीमा पन्ध्र वर्ष काम गरेको ।



