पाठ्यक्रम विकास केन्द्रका ६ निर्णय : नेपालमा बोलिने भाषाहरूको छुट्‍टै समूह बनाउने

काठमाडौं/२४ पुस – राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को ९४ औं बैठक आज सम्पन्न भएको छ । बैठकले पाठ्यक्रम विकास केन्द्रबाट विकास भएको मातृभाषातर्फ आधारभूत तह कक्षा (६–८) को चाम्लिङ भाषाको पाठ्यक्रम स्वीकृतिका लागि सिफारिस गर्ने र माध्यमिक तह कक्षा (९–१०) को इतिहास र वातावरण विज्ञानको पाठ्यक्रम सम्बन्धमा प्राप्त भएका सुझाव समावेश गरी स्वीकृतिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।


यसैगरी विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार माध्यमिक तह कक्षा (९–१०) मा हाल कार्यान्वयनमा रहेको ऐच्छिक पहिलो समूहमा रहेका २७ भाषाहरु मध्ये नेपालमा बोलिने भाषाहरुको छुट्टै समूह बनाउने र तीन समूहमध्ये कुनै दुई समूहबाट एक एक ओटा विषय छनोट गर्न पाउने व्यवस्था गर्ने निर्णय गरेको केन्द्रले जनाएको छ ।


विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार माध्यमिक तह कक्षा (११–१२) मा ऐच्छिक तेस्रो समूहमा रहेको १४ भाषाहरु मध्ये नेपालमा बोलिने भाषाहरुको छुट्टै समूह बनाउने र पाँच समूहमध्येबाट तीन विषय लिन पाउने व्यवस्था गर्ने, विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार माध्यमिक तह कक्षा (११–१२) को ऐच्छिक दोस्रो समूहमा रहेको जनसङ्ख्या अध्ययनलाई ऐच्छिक तेस्रो समूहमा र तेस्रो समूहमा रहेको Gerontology and Care Taking Education विषयलाई दोस्रो समूहमा राख्ने बैठकको निर्णय छ ।


विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ को माध्यमिक तह कक्षा (११–१२) अन्तर्गत चौथो समूहमा रहने गरी पाठ्यक्रम र मूल्याङ्कन विषयको पाठ्यक्रम तयार गरी पेस गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिने, कक्षा (१–३) को ५ पाठ्यघण्टाको मातृभाषिक /स्थानीय विषयवस्तु सम्बन्धी क्रियाकलाप र कक्षा (४–५) को ४ पाठ्यघण्टाको मातृभाषी/स्थानीय विषयमध्ये स्थानीय आवश्यकता तथा उपलब्ध स्रोत साधनको आधारमा कुनै एक वा पाठ्यघण्टा विभाजन गरी दुवै विषयको पठनपाठन गराउन सकिने जनाएको छ ।


साथै घरायसी एवम दैनिक जीवनका कार्यलाई आधारभूत तह कक्षा (६–८) तथा माध्यमिक तह कक्षा (९–१०) को आन्तरिक मूल्याङ्कन समावेश गर्न पाठ्यक्रम विकास केन्द्रलाई सैद्धान्तिक सहमति दिने, माध्यमिक तह कक्षा (९ – १०) मा ४ पाठ्यघण्टा (क्रेडिट) को एक विषय व्यावसायिक तथा उद्यमशीलता शिक्षा अतिरिक्त विषयको २० पमा राखी मूल्याङ्कन शतप्रतिशत आन्तरिक मूल्याङ्कन हुने र यो विषयको पाठ्यक्रम स्थानीय तहले आवश्यकता अनुसार विकास गरी लागु गर्न सम्बन्धमा आवश्यक छलफल तथा अध्ययन गर्ने, माध्यमिक तह कक्षा (११–१२) मा हाल ५ पाठ्यघण्टाको १ अतिरिक्त विषय रहेकामा १ विषय थप गरी २ विषय (प्रतिविषय ५ क्रेडिट) अतिरिक्त विषयको रहेकोमा विद्यार्थीले अध्ययन गर्न सम्बन्धमा आवश्यक छलफल तथा अध्ययन गर्ने निर्णय भएको केन्द्रले जनाएको छ ।