काठमाडौं/१२ पुस – राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) २०८१ सालमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइइ) मा समावेश हुनका लागि परीक्षा आवेदन फाराम खुला गरेको छ । २०८१ मा कक्षा १० मा नियमित रूपमा अध्ययनरत विद्यार्थीहरूका लागि परीक्षा आवेदन फाराम खुला गरेको हो ।
माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धार तर्फका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि समेत आवेदन फाराम खुला गरिएको बोर्डले जनाएको छ ।
आवेदन पुस १२ देखि माघ १२ गते भित्र प्रति परीक्षार्थी परीक्षा दस्तुर पाँच सय सहित आवेदन फाराम भर्ने भराउने कार्यका लागि सम्बन्धित सबै शिक्षा विकास निर्देशनालय, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश शाखा कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तहका शिक्षा शाखा महाशाखा, विद्यालय तथा विद्यार्थीको जानकारी गराएको छ ।
त्यसैगरी साधारण, परम्परागत तथा प्राविधिक धारतर्फका विद्यालयमा हाल कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूका लागि हाल कक्षा १० मा नियमित विद्यार्थीको रूपमा अध्ययनरत विदयार्थीहरूले रजिष्ट्रेसनको अर्धकट्टीको प्रतिलिपि, शैक्षिक सत्र २०७९ वा सो भन्दा पहिले आधारभुत तह (कक्षा ८) उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र प्रधानाध्यापकबाट प्रमाणित संलग्न गरी विद्यालय पोशाकमा हालसालै खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो निर्दिष्ट ठाउँमा टाँसी आवेदन फाराम भरी परीक्षा दस्तुर सहित सम्बन्धित विद्यालयमा बुझाउनु पर्ने छ ।
खुला, वैकल्पिक तथा अनौपचारिक प्रौढ विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले दूर शिक्षा÷खुला सिकाइ कार्यक्रम सञ्चालन निर्देशिका, (संशोधन सहित) २०६३ को दफा १५ र १७ अनुसार भर्ना भई निर्देशिकाले तोकेको सबै शर्तहरू पूरा गरेको सिफारिस सहित प्रधानाध्यापकले प्रमाणित गरेको कागजात संलग्न गरी हालसालै खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो निर्दिष्ट ठाउँमा टाँसी फाराम भरी परीक्षा दस्तुर सहित सम्बन्धित विद्यालयमा बुझाउने खुला बैकल्पिक तर्फका विद्यार्थीहरूले निर्देशिका बमोजिम कक्षा ८ बा सो सरहको आधारभुत तह उत्तीर्ण गरी दुई वर्ष पुगेको (शैक्षिक सत्र २०७९ वा सोभन्दा पहिले प्रमाणपत्र (प्रमाणपत्र जारी गर्ने निकायबाट यो सूचना प्रकाशित भए पछि भेरिफिकेशन गरिएको) र जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि प्रधानाध्यापकबाट प्रमाणित गरी पेश गर्नुपर्ने छ ।
अनौपचारिक प्रौढ विद्यालय वा खुला वैकल्पिक विद्यालयको बारेमा समन्वय इकाइहरूले विद्यालयको अनुमति पत्र लगायत अन्य कागजात हेरी निर्देशिका बमोजिमको विद्यार्थी भए नभएको एकीन गर्नुपर्नेछ ।
अनौपचारिक प्रौढ विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले प्रौढहरूका लागि सञ्चालित अनौपचारिक विद्यालय सञ्चालन निर्देशिका २०६५ ले तोकेको सबै सर्तहरू पूरा गरेको सिफारिस सहित सम्बन्धित प्रधानाध्यापकले प्रमाणित गरेको कागजात संलग्न गरी पासपोर्ट साइजको दुईप्रति फोटो निर्दिष्ट ठाउंमा टाँसी फाराम भरी परीक्षा दस्तुर सहित सम्बन्धित विद्यालयमा बुझाउनु पर्ने सूचनामा उल्लेख गरेको छ ।




