काठमाडौं/७ मंसिर – पोखरा विश्वविद्यालयले व्यवस्थापन अध्ययन संकायको स्नातक र स्नातकोत्तर तहमा नयाँ पाठ्यक्रम लागु गरेको छ । स्नातक तहमा बिबिए, बिबिए (फाइनान्स), बिबिए (ट्राभल एण्ड टुरिज्म) र स्नातकोत्तर तहमा एमबिए, एमबिए (फाइनान्स) र एमबिए (ग्लोबल बिजनेस) का नयाँ पाठ्यक्रम लागु गरेको हो ।
शैक्षिक सत्र २०२४ फलबाट लागु हुने गरी पाठ्यक्रम परिमार्जित र परिष्कृत गरिएको विश्वविद्यालयले जनाएको छ । विद्यमान बद्लिँदो विश्व परिवेश, आर्थिक, सामाजिक, व्यावसायिक र प्राविधिक गतिविधिहरूलाई मध्यनजर गर्दै वर्तमान र आगामी केही वर्षमा नेपाल लगायत विश्व जगत्मा व्यवस्थापन, व्यापार, उद्यमशीलता र अन्य व्यवसायहरूको लागि दक्ष मानव संसाधन उत्पादन गर्ने नयाँ पाठ्यक्रमको मुख्य उद्देश्य रहेको डिन डा. दयाराज ढकालले बताए ।
लागु गरिएका स्नातक तहका पाठ्यक्रमहरूमा प्रत्येक सेमेष्टरमा प्रयोगात्मक र व्यावहारिक ज्ञानको लागि प्राक्टिकम कोर्सहरू, प्रोजेक्ट वर्क र कम्युनिटी इङगेजमेन्ट प्रोजेक्ट जस्ता कोर्सहरू समावेश गरिएको बताए ।
अन्तिम आठौँ सेमेष्टरमा इन्टर्नशीप राखिएको र सो सेमेष्टरमा कलेजमा हाजिर हुनेगरी कुनै पनि कोर्स नराखिएको विश्वविद्यालयले जनाएको छ । यसरी कलेज आउनु नपर्ने हुँदा सातौँ सेमेष्टर पछि विद्यार्थीहरू इन्टर्नशीप सहित रोजगारीमा वा व्यवसायमा आबद्ध हुन सक्नुका साथै इन्टर्नशीपको लागि आफू अध्ययन गरिरहेको कलेज भन्दा अन्य टाढाको स्थान तथा विदेशमा समेत गई अनुभव लिन सक्ने भएकोले यो कोर्स विद्यार्थीहरूका लागि अति नै उपयोगी, रोजगारमुखी र व्यवसाय मुखी हुने विश्वविद्यालयको दाबी छ ।
स्नातक तहमा जम्मा १२० क्रेडिट आवरको कोर्स, प्रयोगात्मक सिकाई, प्रोजेक्ट र अनुसन्धानमूलक कार्यहरू गराईने र यस तहमा ४२ महिना कलेजको कोर्स वर्क र ६ महिनाको इन्टर्नशिप गरी जम्मा ४८ महिनामा अध्ययन पूरा हुनेछ ।
त्यसैगरी नयाँ पाठ्यक्रम परिमार्जन गर्दा बिबिए–बिआई कार्यक्रमलाई बिबिए (फाइनान्स) नामाकरण गरिएको छ । यस कार्यक्रममा फाइनान्समा विशिष्टीकरण कोर्सहरू अनिवार्य हुनुको साथै बैंकिङ्ग, बिमा, कर्पोरेट फाइनान्स र पूँजी बजार मध्ये कुनै दुईवटा विधामा विशिष्टीकरण गर्न सकिने गरी पाठ्यक्रम निर्माण गरिएको छ ।
स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरूमा प्राक्टिकम र सेमिनार कोर्सहरू थपिएको छ । यसमा विद्यार्थीले अध्ययनको सिलसिलामा इन्डष्ट्री अथवा रिसर्च मध्ये एउटा बाटोमा रोज्नुपर्ने व्यवस्था गरेको छ । इन्डष्ट्री विधामा विद्यार्थीहरूले उद्यमशीलता विकास सँगै नव उद्यम प्रवर्धन गर्न सहयोग पुग्ने र रिसर्च कार्य पनि गहन र विस्तृत तरिकाबाट सिकियोस भन्ने उदेश्यले ६ क्रेडिट आवरको बनाइएको छ ।
स्नातकोत्तर तहमा जम्मा ६० प्रतिशत क्रेडिट आवरको कोर्स, प्रयोगात्मक सिकाई, प्रोजेक्ट र अनुसन्धानमूलक कार्यहरू गराइने र २० महिनाको कलेजको कोर्स वर्क र ४ महिनाको इन्टर्नशिप सहित जम्मा २४ महिनामा अध्ययन पूरा हुनेछ ।
चार महिनाको एक ट्राइमेष्टर र २ वर्षमा ६ ट्राइमेस्टर हुँदा एक क्रेडिट आवर र दुई क्रेडिट आवरका छोटा छोटा तर समय सान्दर्भिक कोर्सहरू लगायत ३ क्रेडिट देखि ६ क्रेडिट आवरसम्मका गहन कोर्सहरू समेत समावेश गरिएको विश्वविद्यालयको भनाई छ ।
स्नातक तहका हरेक कार्यक्रमहरूमा करिब ३० प्रतिशत क्रेडिट आवरका कोर्सहरू र स्नातकोत्तर तहमा करिब ८० प्रतिशत कोर्सहरू सम्बन्धित स्कुल÷कलेजहरूलाई नै स्वायत्त तरिकाले सञ्चालन गर्ने व्यवस्था विश्वविद्यालयले गरेको छ ।
विएचएम र बिसिएसआइटी कार्यक्रमहरूका नयाँ पाठ्यक्रमहरू गत शैक्षिक सत्र २०२३ फल देखि नै लागु भई पठनपाठन भईरहेका छन् ।



