काठमाडौं/७ मंसिर – नेपालको औपचारिक शैक्षिक इतिहासलाई हेर्ने हो भने शिक्षण पेशालाई प्रारम्भिक अवस्थामा बाहेक गम्भीरतापूर्वक ग्रहण गरिएको पाइँदैन । अन्य पेशाको तुलनामा यस पेशालाई प्रतिस्पर्धी जनशक्तिको रूपमा स्थापित गर्ने प्रयास विगतमा नभएको तीतो सत्य हो । घरपायक, सजिलो, क्षमताभन्दा सम्पर्क र पहुँचको भरमा सजिलैसँग प्राप्त हुने रोजगारीको रूपमा यसले मान्यता पाइराख्यो । देश, काल, परिस्थिति अनुसार चलेको भनेर छुटकारा पाउने तर्क त अघि सारिएला । जसले आफ्नो पेशागत इमान्दारी अनुभव गरे तिनले आफ्नो क्षमता अभिवृद्धि गर्दै लगे । राम्रा शिक्षक बने ।उदाहरणीय भए । जसले जागीर मात्र खाए तिनका भरमा विद्यालय । सुध्रने कुरा भएन । हो, त्यतिबेला शिक्षामा निजी लगानी न्यून थियो । २०२८ सालमा नया शिक्षा योजना लागु नभइन्जेल समुदायको सरसहयोगमा विद्यालय सञ्चालन भइरहेको हुन्थ्यो । विद्यालय व्यवस्थापन समितिले शिक्षकको विषयमा तुरुन्तै जस्तोसुकै निर्णय पनि लिन सक्थ्यो । पेशागत सुरक्षाका लागि पनि शिक्षकले क्षमताअनुसार काम गर्नुपर्ने हुन्थ्यो ।
राज्यले विद्यालयलाई अनुदान दिन थालेपछि स्थिति पतनोन्मुख हुनपुग्यो । समुदायले विद्यालयप्रति आँखा चिम्लिन थाल्यो । ०४६ सालको राजनीतिक परिवर्तनपछि उदारीकरणको नीतिले शिक्षामा निजी लगानी भित्राएपछि शिक्षा नै दुईथरि भयो । यता सामुदायिक विद्यालयमा दलीय राजनीतिको स्वार्थ र प्रतिस्पर्धाले गर्दा विद्यालय व्यवस्थापनमा विभिन्न खाले समस्या देखा परे भने नीतिगत अन्यौलता पनि उत्तिकै बढन थाल्यो । अस्थायी जति सबैलाई स्वतः स्थायी, स्वतः बढुवा, राजनीतिक पहुँचका आधारमा जथाभावी दरबन्दी वितरण गरिँदा यसले भविष्यमा कस्तो नकारात्मक प्रभाव पार्ला भनेर सोचिएन । दुःखद कुरा अहिले पनि शिक्षण पेशालाई अन्यभन्दा दोयम दर्जाको सेवा ठानिएको छ । शिक्षा मन्त्रालयले शिक्षा शास्त्र अध्ययन गर्नका लागि तय गरेको नीति हेर्दा यस्तै अनुभूति हुन्छ । यसको प्रमाण हो ।
शिक्षा मन्त्रालयले कक्षा ११ पढ्नका लागि निर्धारण गरेको मापदण्डअनुसार जिपीए १.६ ल्याउनेले शिक्षा विषय पढ्न पाउने भनेर तोकेको छ । यसको सोझो अर्थ भयो – एसइइमा कमजोर उपलब्धि हासिल गर्ने व्यक्ति भविष्यमा शिक्षक हुने योग्यता राख्दछन् अरु विषय पढ्न अयोग्य जति शिक्षाशास्त्र पढ्न योग्य छन् । विद्यालय तहमा अति सामान्य विद्यार्थी रहेको जनशक्तिबाट नै भविष्यमा गुणस्तरीय शिक्षाको अपेक्षा राख्नु कत्तिको विवेकपूर्ण हुन्छ मननीय विषय हो । यसका लागि शिक्षाशास्त्र अध्ययनलाई प्राथमिकतामा राखेर नीति तर्जुमा गर्नु आवश्यक छ ।
वर्तमान समयमा शिक्षाशास्त्र अध्ययन गरिरहेका विद्यार्थी नै भविष्यका शिक्षक हुन् यिनीहरू सक्षम भएमात्र भविष्यमा शिक्षाको गुणस्तर कायम गर्न सम्भव छ भन्ने कुरा मनन गरेर कायक्रम तय गरिनु उपयुक्त हुन सकिन्छ । कमसेकम आगामी वीस वर्षका लागि कुन विषयका कति शिक्षक कहाँ कहाँ आवश्यक पर्न सक्छन् भन्ने अनुसन्धान गरिनुपर्छ । सोही अनुरूप शिक्षाशास्त्रका जनशक्ति तयार गर्नुपर्छ । एसईईमा राम्रा उपलब्धि हासिल गरेका विद्यार्थीलाई आकर्षित गराउने योजना बनाइनुपर्छ । स्थानीय सरकारले बजेट तर्जुमा गर्दा यस क्षेत्रका लागि विशेष छात्रवृत्तिको योजना परिणाममुखी हुन सक्छ ।
भनिन्छ – शिक्षक राष्ट्रसेवक कर्मचारी हुन् पनि होइनन् पनि । राष्ट्रसेवक यस अर्थमा हुन् कि शिक्षकको तलब राज्यले बेहोर्छ, यस कारण राष्ट्रसेवकसरह होइनन् कि शिक्षक र निजामती कर्मचारीको तलबमान, सुविधा, भर्ना प्रक्रिया, कार्यदिवस आदिमा भिन्नता छ । यसबाट सबैखाले शिक्षकको मनोबल घटने एवम् कर्तव्यविमुख हुने अवस्था सिर्जना हुनसक्छ ।
सामुदायिक विद्यालयका लगभग ८७ प्रतिशत शिक्षक तालिमप्राप्त छन् । तालिमप्राप्त गरिसकेपछि विद्यार्थीको सिकाइस्तरमा कत्तिको परिवर्तन भयो त ? यसको जवाफ शिक्षकदेखि लिएर केन्द्रसम्म कसैले पनि दिन सक्ने अवस्था छैन । तथ्याङ्कले त के बताउँछ भने सिकाइस्तर खस्कदों छ । के तालिम दिएपछि शिक्षकहरूको सीप घटदै जाने हो र ? पक्कै तालिमको होइन । तर, परिणामले भने यस्तो सोच्न बाध्य बनाउने परिस्थिति विद्यमान छ । उपयोगिता, प्रक्रिया र अवलम्बनको विषयमा अद्योपान्त अनुसन्धान हुनु जरुरी छ । शिक्षकले तालिममा सहभागी हुने इच्छा के कारणले देखाएका हुन् ? बढुवाको अङ्क बढाउनका लागि हो कि दक्षता बढाउन हो ? यस विषयमा विद्यालय प्रशासन, व्यवस्थापन समिति, शैक्षिक कार्यालय कसलै पनि अनुगमन गरिरहेको पाइँदैन ।
तालिम प्राप्त गरिसके पनि शिक्षकले तालिममा सिकेको शिक्षणविधि अपनाउन स्रोतको व्यवस्था छ कि छैन ? यो पनि महत्वपूर्ण प्रश्न हो । राज्यले विद्यालयलाई वितरण गरेको स्रोत नगण्य छ, जसबाट शैक्षिक सामग्री निर्माणका लागि थोरथार रकम पनि विद्यालयले उपलब्ध गराउन सक्दैन । आफ्नै स्रोत भएका विद्यालय जसको प्रधानाध्यापक कर्तव्यनिष्ठ छ्न् तिनले मात्र यस विषयमा ध्यान दिएको पाइन्छ । सामुदायिक विद्यालयको गुणस्तरोन्नतिका लागि तालिमको अद्योपान्त विश्लेषण हुनु जरुरी छ ।
शिक्षक पेशा बालबालिकाको मात्र होइन, समग्र मुलुककै भविष्यसँग प्रत्यक्ष सरोकार राख्ने पेशा भएकाले यसलाई विशेष महत्व दिइनु पर्दछ । शिक्षाशास्त्र अध्ययन गर्नेलाई छात्रवृत्ति एवम् उम्दा विद्यार्थीहरूलाई यो विषय पढन अभिप्रेरित गर्न लगाउने खालका कायक्रम तर्जुमा आवश्यक देखिन्छ जसले गर्दा भविष्यका शिक्षक दक्ष हुन सकून् ।
यो लेख शिक्षाविद् तथा रत्नराज्य उच्च माध्यमिक विद्यालयकी पूर्वप्रधानाध्यापक डा. गीता शिवाकोटी (खरेल) को अठतीस वसन्त पुस्तकबाट साभार गरिएको हो ।



