शोधपत्र लेखन र प्रकाशनका लागि सिप विकासको वर्कसप सञ्चालन

काठमाडौं/२६ कार्तिक – आंलिया रस्किन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयको संयुक्त आयोजनामा शोधपत्र लेखन र प्रकाशनका लागि सिप विकासको वर्कसप आजदेखि सञ्चालन गरिएको छ । अनुसन्धान गरिसकेपछि पेपरको ढाँचा कसरी निर्माण गर्ने, कस्ता शब्द राख्ने र कसरी निष्कर्ष निकाल्ने भन्ने मुख्य उदेश्यका साथ वर्कसप सञ्चालन गरिएको हो ।


पाँच दिनसम्म सञ्चालन हुने सो वर्कसपमा काठमाडौं विश्वविद्यालय, खुला विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, संस्कृत विश्वविद्यालय र राजर्षि जनकपुर विश्वविद्यालयका २५ जना अनुसन्धान कर्ताहरूको सहभागिता रहेको छ ।


एकेडेमिक लेखाइमा जस्तो मन लाग्यो त्यस्तै लेखेर नहुने र अन्तर्राष्ट्रिय स्तरमा सूचीकृत भएका जर्नलमा प्रकाशन गर्नका लागि कुनै पनि पत्रको ढाँचा कस्तो हुनुपर्छ भन्ने मानक रहेकोले त्यस मानकमा रहेर कसरी शोधपत्र लेख्ने भन्ने यो वर्कसपमा सिकाईने काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनका प्रा.डा लक्ष्मण ज्ञवालीले बताए ।


वर्कसपमा सहभागी हुनका लागि आवेदन मागिएको र तथ्यांक विभागको जनजातिको लिस्ट अनुसार तथा सबै प्रदेशबाट समावेशिताका आधारमा छनोट गरिएको ज्ञवालीले बताए । सहभागीहरूले आफ्नो शोधपत्र पठाई सकेको र त्यही शोधपत्रमा रहेर पाँच दिन वर्कसप सञ्चालन गरिने छ ।

पाँच दिनमा डेटा एनलाईसिस, शब्द चयन, ढाँचा, सन्दर्भ सामग्रीलाई कसरी लेख्ने र बौद्धिक चोरी नहुने गरी शोधपत्र लेखन विधि सिकाईनुका साथै त्यसलाई प्रकाशन गर्न सक्नेसम्म बनाइने र एक वर्षसम्म सहभागीहरूलाई मेन्टरिङ गरिने छ ।