दरबन्दी र राहतमा कार्यरत शिक्षकको १ दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नुपर्ने

काठमाडौँ /९ कार्तिक – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूले एक दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नुपर्ने जनाएको छ ।


असोज ११ र १२ गतेको अविरल वर्षाबाट सृजित बाढी पहिरो तथा डुबानबाट जनधनको क्षति भएको र विपत्बाट प्रभावित घर परिवारलाई राहत उपलब्ध गराउने जानकारी दिँदै शिक्षकहरूको एक दिनको तलब कोषमा जम्मा गर्न भनेको हो ।


मन्त्रालयले मन्त्रीस्तरीय निर्णय भएको बताउँदै राष्ट्रसेवक निजामती कर्मचारीहरूको हकमा राजपत्रांकित अधिकृतहरूको २ दिन र अन्य कर्मचारीहरूको १ दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नुपर्ने जनाएको छ । साथै । सोही आधारमा स्वीकृत दरबन्दी र राहत अनुदानमा कार्यरत विद्यालयका शिक्षकहरूको १ दिनको तलब कोषमा जम्मा गर्न भनिएको छ ।


त्यसैगरी स्थानीय तहहरूलाई समेत उक्त निर्णय अनुसार तलब जम्मा गर्न अनुरोध गर्दै निर्णय कार्यान्वयनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई निर्देशन दिएको छ ।