काठमाडौं/५ कार्तिक – प्याब्सनले तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन–२०८१ मङ्सिर १४ र १५ गते गर्ने भएको छ । शिक्षा क्षेत्रका अग्रणी व्यक्तित्वहरू, विद्यालयका संस्थापक प्रिन्सिपल, शैक्षिक निर्देशक र अग्रणी शिक्षकहरूका लागि लक्षित गर्दै सम्मेलनको आयोजना गरेको हो ।
सम्मेलनमा विद्यालयको स्तर उन्नति, कक्षा कोठाको सुधार, शैक्षिक नेतृत्वको विकास, र शिक्षक–विद्यार्थीको शैक्षिक गतिविधिलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा गहन छलफल गरिने प्यब्सनका अध्यक्ष डिके ढुंगानाले बताएका छन् ।
शैक्षिक सम्मेलनमा फिनल्यान्ड र बेलायत जस्ता शिक्षामा अग्रणी देशहरूबाट प्रतिष्ठित वक्ताहरूले आफ्ना अनुभव र सफल शैक्षिक मोडलहरू प्रस्तुत गर्ने, सम्मेलनलाई नेपाल सरकारको शिक्षा मन्त्रालय र ब्रिटिस काउन्सिलद्वारा सहजीकरण हुने उनले बताए ।
सम्मेलनमा भुटान, पाकिस्तान, बङ्गलादेश, श्रीलंका, भारत र भियतनामबाट पनि सहभागिता रहने जनाइएको छ । साथै दुई दिनसम्म चल्ने यस सम्मेलनमा १२ भन्दा बढी सेसनहरू हुनेछन्, जसमा विविध शैक्षिक विषयका छलफल, नीतिगत बहस, र विद्यालय सुधारका लागि प्रभावकारी उपायहरूको खोजी गरिने प्यब्सनको भनाई छ ।
त्यसैगरी विद्यालय व्यवस्थापन, शिक्षक प्रशिक्षण, र शैक्षिक नेतृत्वको सुदृढीकरणमा महत्वपूर्ण सुझावहरु प्रस्तुत गरिने र अन्तर्राष्ट्रिय स्तरको शिक्षा नेपालमा नै प्रदान गरी नेपालबाट बाहिरिने विद्यार्थी रोक्न र नेपालमा नै विदेशी विद्यार्थी अध्ययन गराई नेपाललाई शैक्षिक गन्तव्य बनाउने सम्मेलनको उद्देश्य रहेको छ ।
सम्मेलनमा ५० भन्दा सामुदायिक विद्यालयका शिक्षकहरूलाई समेत सहभागी गराइने प्यब्सनले जानकारी दिएको छ ।



