प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम परिमार्जन हुने (यस्तो छ तयारी)

काठमाडौँ /१ कार्तिक – पाठ्यक्रम विकास केन्द्रले प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम परिमार्जन गर्ने भएको छ । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले एक वर्षे अवधिको प्रारम्भिक बालविकास र शिक्षा कायम गरेपनि त्यसको लक्ष्य र उदेश्य प्रस्ट नभएको भन्दै परिमार्जन गर्ने भएको छ ।


त्यसैगरी सक्षमता राष्ट्रिय पाठ्यक्रम प्रारूप अनुसार नभएको र त्यसलाई राष्ट्रिय पाठ्यक्रम प्रारूप अनुसार बनाउनु पर्ने भएकाले परिमार्जन गर्न लागेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।


परिमार्जन हुने पाठ्यक्रममा बालबालिकाको समग्र विकास, आधारभूत सिप सिकाइका क्षेत्र र विषयगत सिप सिकाइका क्षेत्र गरी ३ क्षेत्र कायम गरिने छ । अहिले भएको पाठ्यक्रममा दुई क्षेत्र मात्रै कायम गरिएको छ । साथै कार्यघण्टा पनि वृद्धि गर्न लागिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार अहिलेको पाठ्यक्रममा आधारभूत सिप सिकाईका क्षेत्रमा कायम गरिएको विस्तृतीकरणमा ३ सय ८४ र विषयगत सिकाई क्षेत्रमा १ सय ९२ गरी कुल ५ सय ७६ कार्यघण्टा रहेको छ ।


अब परिमार्जन हुने पाठ्यक्रममा यसलाई बढाएर कुल ८ सय ६४ कार्यघण्टा कायम गरिने जनाएको छ । बालबालिकाको समग्र विकास २ सय घण्टा, आधारभूत सिप सिकाइका क्षेत्र २ सय ४० घण्टा र विषयगत सिप सिकाइका क्षेत्र २ सय ३२ गरी ६ सय ७२ घण्टा र बाह्य खेल र आराम गर्ने समय १ सय ९२ घण्टा गरी कुल ८ सय ६४ घण्टा कायम गरिएको छ । केन्द्रको तयारी अनुसार प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम १३ वटा विषयहरू परिमार्जन गर्ने तयारी गरेको छ ।


यस्तो छ केन्द्रको तयारी
१. अहिले भएको : लक्ष्य र उदेश्य नभएको ।
परिवर्तन गरिएको : लक्ष्य र उदेश्य राखिएको ।
औचित्य : लक्ष्य र उद्देश्य राख्दा थप प्रस्ट हुने भएकाले ।


२. अहिले भएको : सक्षमता राष्ट्रिय पाठ्यक्रम प्रारूप अनुसार नभएको ।
परिवर्तन गरिएको : राष्ट्रिय पाठ्यक्रम प्रारूप अनुसार बनाइएको ।
औचित्य : राष्ट्रिय पाठ्यक्रम प्रारूप अनुसार बनाउनु पर्ने भएकाले ।


३. अहिले भएको :
आधारभूत सिप सिकाइका क्षेत्र र विषयगत सिप सिकाइका क्षेत्र गरी २ क्षेत्र मात्र छुट्याइको ।
परिवर्तन गरिएको :
बालबालिकाको समग्र विकास, आधारभूत सिप सिकाइका क्षेत्र र विषयगत सिप सिकाइका क्षेत्र गरी ३ क्षेत्र कायम गरिएको ।
औचित्य : प्रारम्भिक बालविकास र शिक्षाका सिद्धान्तअनुसार मिलान गरिएको ।


४. अहिले भएको : सिप सिकाइका क्षेत्र र कार्यघण्टा ५ सय ७६ कार्यघण्टा रहेको ।
परिवर्तन गरिएको :
बालबालिकाको समग्र विकास २ सय घण्टा, आधारभूत सिप सिकाइका क्षेत्र २ सय ४० घण्टा र विषयगत सिप सिकाइका क्षेत्र २ सय ३२ गरी ६ सय ७२ घण्टा र बाह्य खेल र आराम गर्ने समय १ सय ९२ घण्टा गरी कुल ८ सय ६४ घण्टा कायम गरिएको ।
औचित्य :
५ सय ७६ घण्टा कसरी निकालिएको प्रष्ट नभएको, परिमार्जित कार्यघण्टा विद्यालय खुल्ने समय (४.३० घण्टा) गुणा खुल्नु पर्ने दिन (१९२ दिन) अनुरूप रहेको ।


५. अहिले भएको : बाह्य खेल र आराम गर्ने समय छुट्टै व्यवस्था नभएको ।
परिवर्तन गरिएको :
बाह्य खेल र आराम गर्ने समय (कम्तीमा दैनिक १ घण्टा कुल १९२ घण्टा) कायम गरिएको ।
औचित्य : प्रारम्भिक बालविकास र शिक्षाका सिद्धान्तअनुसार आवश्यक भएकाले ।


६. अहिले भएको : समग्र विकासका क्षेत्रहरूलाई विस्तृतिकरण नगरिएको ।
परिवर्तन गरिएको :
प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड अनुसार समग्र विकासका क्षेत्रहरूलाई विस्तृतिकरण गरिएको ।
औचित्य :
प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड अनुसार मिलान गर्नु पर्ने भएकाले, साथै शिक्षकको बुझाइ पनि सहज हुने भएकाले ।


७. अहिले भएको :
आधारभूत सिप सिकाइका क्षेत्र तथा सिकाइ उपलब्धिहरू रूपमा नभएको ।
परिवर्तन गरिएको :
आधारभूत सिप सिकाइका क्षेत्र तथा सिकाइ उपलब्धिहरू विस्तृत रूपमा समावेश गरिएको ।
औचित्य :
प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड अनुसार मिलान गर्नु पर्ने भएकाले, साथै शिक्षकको बुझाइ पनि सहज हुने भएकाले ।


८. अहिले भएको :
विषयगत सिकाइका क्षेत्र तथा सिकाइ उपलब्धिको विस्तृतिकरण नभएको ।
परिवर्तन गरिएको :
विषयगत सिकाइका क्षेत्र तथा सिकाइ उपलब्धिको विस्तृतिकरण विस्तृत रूपमा समावेश भएको ।
औचित्य :
प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड अनुसार मिलान गर्नु पर्ने भएकाले, साथै शिक्षकको बुझाइ पनि सहज हुने भएकाले ।


९. अहिले भएको :
विषयवस्तुमा आधारित एकीकृत सिकाइ विधि नभएको (२ घ मा खाली छोडिएको) ।
परिवर्तन गरिएको :
विषयवस्तुमा आधारित एकीकृत सिकाइ विधिबारे विस्तृतीकरण र उदाहरण दिइएको ।
औचित्य :
राष्ट्रिय पाठ्यक्रम प्रारूपको निर्देशानुसार एकीकृत सिद्धान्तलाई प्रस्ट पार्न नमुना आवश्यक भएकाले ।


१०. अहिले भएको :
(५.३) अपाङ्गता भएका बालबालिकाहरूको सन्दर्भमा बालविकास कार्यक्रममा सामान्य विवरण रहेको ।
परिवर्तन गरिएको :
शिक्षकको भूमिका तथा कक्षालाई समावेशी बनाउन सकिने तरिकाहरू थपिएको ।
औचित्य :
प्रारम्भिक बालविकासमा अपाङ्गता भएका बालबालिकाको समावेशिता ०.५ प्रतिशत जति मात्र रहेको तथा प्रारम्भिक बालविकासमा अपाङ्गताको पहिचान र सहयोग भए माथिका कक्षामा पनि सहज हुने भएकाले ।


११. अहिले भएको :
अनुसूची १ को दैनिक कार्यतालिका अघिपछि शिक्षकले गर्नुपर्ने काम उल्लेख नभएको ।
परिवर्तन गरिएको :
नोटमा बालबालिकासँग बिताउने ४.३० बाहेक शिक्षकले अघिपछि गर्नुपर्ने काम उल्लेख गरिएको ।
औचित्य :
शिक्षकको तयारी समय बिना गुणस्तरीय शिक्षण सिकाइ सम्भव नभएकाले ।


१२. अहिले भएको : अनुसूची २ नभएको ।
परिवर्तन गरिएको : अनुसूची २ मा एकीकृत विषय क्षेत्रहरू राखिएको ।
औचित्य :
राष्ट्रिय पाठ्यक्रम प्रारूपको निर्देशानुसार एकीकृत सिद्धान्तलाई प्रस्ट पार्न नमुना एकीकृत विषय क्षेत्रहरू आवश्यक भएकाले ।


१३. अहिले भएको : अनुसूची २ नभएको ।
परिवर्तन गरिएको :
अनुसूची ३ मा प्रारम्भिक सिकाइ तथा विकास प्रगति उल्लेख नगरिएको ।
औचित्य :
पाठ्यक्रमले सुझाएको निरन्तर मूल्याङ्कनको तरिकालाई थप प्रस्ट पार्न तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट हुने शिक्षक पेसागत विकाससँग सामञ्जस्यता कायम गर्न ।