काठमाडौँ /२ असोज – प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को माध्यमिक शिक्षा, परीक्षा (एसइई) को आगामी परीक्षामा कम्तीमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन मुख्य विषयमा प्रतिभाशाली विषय शिक्षकबाट सूचना र प्रविधिको देशव्यापी रूपमा अतिरिक्त कक्षा सञ्चालन गर्न सरकारले विशेष पहल गरिरहेको बताएका छन् । राष्ट्रिय शिक्षा दिवस २०८१ का अवसरमा शुभकामना दिँदै सो कुरा बताएका हुन् ।
उनले अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षाको लक्ष्य हासिलका लागि तीनै तहका सरकारबीच आपसी समन्वय, सहकार्य र सहअस्तित्वमा आधारित भएर लगानीमा साझेदारी अभिवृद्धि गर्नुपर्ने अवस्था रहेको बताउका छन् । यसैगरी भएको लगानी र स्रोत साधनको प्रभावकारी एवं रचनात्मक उपयोग भई गुणस्तरीय शिक्षा मार्फत रोजगारी तथा नैतिक आचरणयुक्त नागरिक र समाज निर्माण गर्नु आवश्यक रहेको उनको भनाई छ ।
‘आधारभूत तहको खुद भर्ना दरमा सुधार आएको देखिए पनि विद्यार्थीको टिकाउ दर बढाउन हामीले अझै मिहिनेत गर्नुपर्ने देखिएको छ । यसमा थप सुधार गर्न विविधता व्यवस्थापन गर्दै शिक्षालाई स्थानीय ज्ञान, सीप र प्रविधिलाई जोडी आधुनिकीकरण गर्न र देशमा नै रोजगार एवं स्वरोजगारका अवसर सिर्जना गर्नुपर्नेछ । यसका लागि प्राविधिक शिक्षा एवं व्यावसायिक तालिममा थप लगानी गर्दै उत्पादनशील, सीपयुक्त जनशक्ति निर्माणमा हाम्रो प्राथमिकता रहेको छ । शिक्षा क्षेत्रमा बजेटको अंश वृद्धि गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न र विद्यालय शिक्षा विधेयक, २०८१ लाई छलफल सहित पारित गराउन सरकार प्रतिबद्ध छ’ उनले भनेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा पिछडिएका वर्ग, क्षेत्र, लिङ्ग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको अवसरको समान वितरण गर्नु एवं प्रदेशगत र स्थानीयगत शिक्षाका सबै तह र अवसरमा हुने असमानता हटाई समान अवसर र लाभको सुनिश्चितता गर्नु अपरिहार्य रहेको बताए ।
साथै विद्यालय तहदेखि उच्च शिक्षा सम्मको शिक्षालाई प्रतिस्पर्धी, व्यावसायिक, सीपमूलक, रोजगारमूलक, सूचना र प्रविधिमा आधारित बनाई विश्वमा उत्पन्न लाभ र अवसरको उपयोगसँगै नवीन र सिर्जनशील कार्यमा केन्द्रित बनाउन र मर्यादित वातावरणमा सिक्न र सिकाउन प्रतिबद्ध हुनु पर्नेमा जोड् दिएका छन् ।



