बालदिवसको अवसरमा कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न

काठमाडौं/२८ भदौं – बालदिवसको अवसरमा बुढानीलकण्ठ नगरस्तरीय कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ । बुढानीलकण्ठ स्थित इम्पेरियल वर्ल्ड स्कुल र श्री मदन आश्रित आदर्श माध्यमिक विद्यालयको संयुक्त आयोजनामा प्रतियोगिता आज सम्पन्न भएको हो ।


प्रतियोगिता सामुदायिक विद्यालय र निजी विद्यालयको साझेदारीमा योजना गरिएको थियो । बालअधिकारको सम्मान, समृद्ध राष्ट्रको पहिचान भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा बुढानीलकण्ठ नगर पालिका भित्रका करिब १९ सामुदायिक विद्यालय र ५ निजी विद्यालयको सहभागिता रहेको थियो ।


इम्पेरियल वर्ल्ड स्कुलकी प्रिन्सिपल जुनीता शाही कार्कीले प्रतियोगिता सामुदायिक निजी साझेदारी कार्यक्रम अन्तर्गत बालदिवसको अवसर पारेर बुढानीलकण्ठ नगरस्तरीय कविता लेखन तथा वाचन प्रतियोगिता आयोजना गरिएको बताउँदै यस्ता प्रतियोगिताले विद्यार्थीलाई साहित्यप्रति रुचि जगाउने बताइन । साथै बालबालिकाहरूको सम्मानका लागि बालदिवसको अवसर पारेर कार्यक्रम आयोजना गरिएको उनको भनाई थियो ।


उनले यो साझेदारीले निजी र सामुदायिक विद्यालयबिचको सम्बन्ध प्रगाढ हुनुका साथै अरू विद्यालयहरूलाई पनि यस्ता कार्यक्रमको आयोजना गर्न हौसला मिल्लने बताइन । प्रतियोगितामा निजी विद्यालय भन्दा धेरै सामुदायिक विद्यालयको सहभागीता थियो ।

बुढानीलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामाले निजी विद्यालय र सामुदायिक विद्यालयबिच विभेद गर्न नहुने बताउँदै इम्पेरियल वर्ल्ड स्कुल र श्री मदन आश्रित आदर्श माध्यमिक विद्यालयबिचको साझेदारी पालिकाभरीमा नमुना भएको उल्लेख गरीन । उनले विभिन्न बाहानामा सरकारको मुख ताक्नु भन्दा यस्तै साझेदारी सबै विद्यालयले सिकाई आदान प्रदान गर्नुपर्ने उल्लेख गरिन ।


प्रतियोगिताको निर्णायक मण्डलमा प्रभा भट्टराई, श्याम प्रसाद दुलाल र भगवती पाण्डे रहेका थिए भने मौलिक माध्यमिक विद्यालयका छात्रा टेक बहादुर मगर सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका छन् । त्यसैगरी ग्राम शिक्षा मन्दीर माध्यमिक विद्यालयका छात्रा डेनिस राई तृतीय स्थान, भक्ति इन्टरनेशनल स्कुलका नीति अधिकारी द्वितीय स्थान र आत्म विकास आधारभूत विद्यालयका छात्र प्रशान्त तामाङ प्रथम हुन सफल भए ।


इम्पेरियल वर्ल्ड स्कुलले बुढानीलकण्ठ नगरपालिकामा रहेको श्री मदन आश्रित आदर्श माध्यमिक विद्यालयलाई शिक्षक तालिम र कक्षा कोठा व्यवस्थापनमा सहयोग गर्दै आएको छ भने विद्यार्थीहरूबिच सिकाई आदान प्रदान गर्दै आएको छ ।