चक्र विज्ञानमा मैले जे सिके, अब विद्यालयमा योग व्यायाममा ध्यान दिन जरुरी छ

काठमाडौं/१३ भदौं – जीवन विज्ञानको प्रयोगशालामा म विगत सात वर्षदेखि योग व्यायाम प्राणायाम र ध्यान गरिरहेकी छु । सुरुमा म जुमबाट जोडिए र पछि मीनभवन कमर्स क्याम्पसमा भौतिक रुपमा उपस्थित भएर योग ध्यान गरिरहेकी छु । बिहान ५ बजे सुरु भएर ६ः१५ बजेसम्म सञ्चालन भइरहेको हुन्छ । इच्छा लाग्ने साथीहरू यहाँ आउन सक्नुहुन्छ र यहाँ कुनै प्रकारको शुल्क तिर्नु पर्दैन ।


योग प्रणायामबाट मलाई फाइदा भएको महसुस गरेकी छु ।कडा खालका रोगहरू सन्चो हुन्छ त म भन्दिन तर शरीरमा एकखालको स्फूर्ति आएको, शरीरमा जाँगर उत्साह भरिएको, साथीहरूसँग रमाइलो गर्न मन लाग्ने, डर लाग्ने समस्या कम भएको,आरामसँग निद्रा लाग्ने समेत भएको छ ।


प्रयोगशालामा योग गरिरहदा प्रशिक्षकज्यूहरू र साथीहरूले चक्र विज्ञान तालिममा जान भनिरहनु भएको थियो । त्यसैले मैले अनलाइन फर्म भरे । २०८१ भाद्र ८ गतेदेखि १४ गतेसम्म आनन्द इभेन्ट वानेश्वरमा सञ्चालन भएको थियो । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन भएको चक्र विज्ञान कार्यक्रममा सहभागीहरू बडो अनुशासित भएर वस्नुपर्ने रहेछ भित्र पसेपछि मोबाइल अफ गर्ने, एकआपसमा बोल्न मनाही अथवा मौन वस्नुपर्ने र निश्चित समयमा गुरुसँग प्रश्नोत्तर गर्न भने पाइने रहेछ ।हामी सहभागी जम्मा ४७५ जना, स्वयंसेवक र कर्मचारी सहित ५०० बढी थियौ । मैले गुरुहरूका भनाइ एवं प्रवचनलाई टिपोट गरेर प्रस्तुत गरेकी छु ।


गुरुहरूको भनाइ अनुसार मानिसको शरीरमा निम्न अनुसार सातवटा चक्र हुन्छन् :
१. मूलाधार चक्र
२. स्वाधिष्ठान चक्र
३. मणिपूर चक्र
४. अनाहत चक्र
५. विशुद्धि चक्र
६. आज्ञा चक्र
७. सहस्रार चक्र
चक्रहरू भौतिक शरीरको अंगहरू होइनन यी सूक्ष्म हुन् । आँखाले देख्न सकिदैन तर यिनीहरूलाई क्रियाशील बनाउने क्रियाकलाप गरियो भने अनुभव गर्न सकिन्छ । जसरी सूक्ष्म शरीरका अंग बुद्धि, विचार, सोचाइ आदि देख्न सकिदैन त्यसै गरी चक्र पनि देखिदैन । हामीले सात दिनको कार्यक्रममा हरेक दिन एउटा एउटा चक्रमा ज्ञान हासिल गरेका थियौ ।


१. मूलाधार चक्रः काम : शारीरिक स्वास्थ्य र कर्ममा सफलता


मूलाधार चक्र मानिसको शरीरको पछाडि मेरुदण्डको तल पुच्छरे हड्डीमुनि सानो केराउको दाना जत्रो रातो रङको हुन्छ । आँखा बन्द गरेर मूलाधार चक्रमा ध्यान केन्द्रित गर्दा रातोपत्र देखिन्छ । इन्द्रियमा यो चक्र गन्ध हो । पंचतत्वमा पृथ्वी तत्व हो, स्वाद नुनिलो, मुख्य क्रिया निष्कासन, पाण्डवमा सहदेव मानिएको छ । मूलाधार चक्रको शत्रु अथवा राक्षस आलस्य हो । यसलाई जगाउने मुख्य आसन अञ्जनी,अश्विनी क्रिया हो भने योग,व्यायाम, प्राणायाम, ध्यान आदि दिनहुँ आवश्यक मानिएको छ ।
मूलाधार चक्र कमजोर भएमा शरीरको नचाहिने कुराहरू निष्कासनमा समस्या हुन्छ । मुख्य काम निष्कासन हो । यो कमजोर भएमा हड्डी कमजोर हुन्छ र घामबाट भिटामिन डी लिन सक्दैन मूलाधार चक्र कर्मयोग हो अर्थात् काम हो । कुनै पनि काम मन लगाएर गर्नु अथवा ध्यानपूर्वक गर्नु ।मूलाधार चक्र बलियो भएमा शारीरिक स्वास्थ्य र कर्ममा सफलता मिल्ने कुरा विश्वास गरिएको छ । काममा अल्छी यो चक्रलाई मन पर्दैन ।


मूलाधार चक्र कमजोर भएमा के हुन्छ
१. शरीर, मन, भावना र चेतनामा कमी आउछ
२. हड्डी कमजोर हुन्छ
३. गन्ध कम हुन्छ
४. जतिवेला पनि अल्छी आलस्य लागिरहन्छ
५. शरीर अस्वस्थ, ऐयाआथ्था भइरहने, भित्रैबाट कमजोर महसुस भइरहने हुनसक्छ । त्यसैले यसको नाम नै मूल आधार चक्र हो ।


बलियो बनाउन के गर्ने


१. आफ्नो शरीरमा भएको मन, भावना र चेतना जगाउने अभ्यास गर्ने
२. अभ्यासलाई व्यवहारमा ल्याउने
सुख र खुसी खोज्ने मानिसले वर्तमानबाट लिनुपर्छ ।वर्तमान अहिले नै जे गरेकोछ त्यसबाट खुसी हुने हो । काम अहिले गर्ने सुख र खुसी भोलि अथवा भविष्यको आशा गर्ने हो भने दुःखी भइन्छ ।म जे काम गर्छु अहिले नै गर्छु र सुख र खुसी पनि अहिले नै हन्छु ।कुनै पनि काम गर्दा ध्यान लगाएर खुसीसाथ गर्दा आनन्द आउछ, काममा ध्यान लागेन भने आनन्द आउदैन । दुःखमा ध्यान छिटो जान्छ । मन स्थिरतामा एकाग्र बनाउनुपर्छ हात खुट्टाले एउटा काम गर्ने मनले अर्कै काम सोच्ने हो भने काम अथवा कर्मयोग भएन । जे काम गरे पनि होस अघि सार्ने गर्नुपर्छ ।


ध्यान लगाउने कला


कसैको आशीर्वादले ध्यान लाग्दैन त्यो त भ्रम मात्र हो ।मानिस कर्मयोगी हो जीवन विज्ञानले कर्म गर्न सिकाउँछ । कर्म नगरेसम्म केही पनि पाइदैन, ध्यानको सुत्र सिक्नुपर्छ । त्यसको लागि
१. आफू कहाँ छु थाहा पाउने र त्यहीबाट सुरु गर्ने ।
२. तीन पटक लामो र गहिरो श्वास फेर्ने आँखा बन्द गरेर नाकको टुप्पोमा र श्वासमा ध्यान दिने
३. बिहान श्वास र नाकको टुप्पोमा ध्यान लगाएर जति सकिन्छ त्यति समय वस्ने (५ देखि १५ मिनेट) समय सकेसम्म बढाउदै लाने
४. दिनभरी काममा ध्यान दिएर गर्ने,कर्मयोग गरेपछि मूलाधार चक्र सक्रिय हुन्छ ।
मानिसले जे गरेर भए पनि सुख खोजेको हुन्छ र खुसी हुन चाहन्छ । सम्पत्तिले सुविधा र सुख दिन्छ तर खुसी नदिन पनि सक्छ किन कि सुख परिस्थिति बनाउनमा हैन बरु मनस्थिति बनाउनमा हुन सक्छ । दुःख मात्र अनुभव गर्ने मनलाई सुखी र खुसी बनाउन यही योग ध्यानले मदत गर्न सक्छ ।


२. स्वाधिष्ठान चक्र
यो चक्र नाभिको तल मूलाधार चक्रभन्दा माथि हुन्छ ।यसको रङ सुन्तला हुन्छ । यो चक्रको केन्द्रबिन्दु एकाग्रता हो भने राक्षस अथवा शत्रु असन्तुष्टि हो ।मन र भावनासँग जोडिएर हरेक काम ध्यानपूर्वक गर्नु यो चक्रको मुख्य काम हो । पंचतत्वमा जल हो,जलको क्षेत्र हो, यहाँ हात राखेर विचार गर्दा चिसो अनुभव हुन्छ। इन्द्रियमा स्वाद,मुख्य क्रिया प्रजनन, पाण्डवमा नकुल, दिव्य स्वाद पिरो र मुख्य आसन वद्धकोणासन हो भने योग, व्यायाम, प्रणायाम, ध्यान आदि दिनहुँ आवश्यक मानिएको छ ।


यो चक्र निष्कृय भएमा मानिस जे काममा पनि असन्तुष्ट देखिन्छ । सामान्य कुराकानीमा पनि यो भएन, उ भएन, म असफल भएँ, म सकिए मात्र भनिरहेको हुन्छ भने उसको स्वाधिष्ठान चक्र निष्कृय छ भन्ने बुझिन्छ । सुख, खुसी र आनन्द भन्ने उसलाई कहिले लाग्दैन, अतृप्त मन प्रेत आत्मा हो,इन्द्रियमा यो स्वाद भएकाले जे खाँदा पनि गनगन गर्ने वा खाँदै नखाने मीठो पाए धेरै खान्छ । हरेक विषय अति चाहन्छ जसले रोग लाग्न थाल्छ ।


सुख इन्द्रियहरुबाट मिल्छ, खुसी मनबाट जन्मिन्छ भने आनन्द आत्माबाट जन्मिन्छ । यी तीनै कुरा जीवनमा आवश्यक छन् तर खुसी र आनन्द हुनमा विशेष ध्यान दिनु जरुरी हुनसक्छ । बाहिर बाहिर मात्र सुख र खुसी खोज्दा अरूको आशा गर्दा दुःखी,झगडालु, रिसाहा, अनैतिक, भ्रष्ट हुन सकिन्छ। धेरै जनाले बाहिर खोज्ने गर्दछन् तर आफूभित्र भएको क्षमता,भित्र भएको दिव्यताको अनुभव नगर्ने रहेछौ । एकछिन आँखा बन्द गरेर आफ्नो आत्मगुफामा नियाल्न सक्नुपर्छ । आन्तरिक व्यवस्थापन मिलाउने विधि नै यही अभ्यास हो ।


स्वाधिष्ठान चक्र सक्रिय बनाउन सकेमा पानी पनि अमृत, पृथ्वी वैकुण्ठ र मान्छे ईश्वर लाग्न सक्छन । धेरैजसो मानिसलाई यस्ता कुरा विश्वास लाग्दैन, वाहियात, फन्टुस,वेकारका कुरा लाग्दछन तर गरेर हेर्दा, विचार गर्दा यसमा सत्यता छ, मेहनत नगरी त कहाँबाट पाइएला र ? हेराइ र अनुभव महत्वपूर्ण होला त्यो आफ्नो ठाउँमा छ । बोलिरहने र बाहिर मात्र हेर्न खोज्ने व्यक्ति कहिले पनि सुखी र जितीहाल्ने होइन, सुन्ने व्यक्ति महान हो । सुन्नलाई धरै शक्ति र धैर्य चाहिन्छ । कुनै बेला न्यूनतम र आवश्यक मात्र बोल्नु बुद्धिमानी हुनसक्छ ।मौन वस्नु पनि कुनै बेला फाइदाजनक हुन्छ ।


जे काम गर्दा पनि जाँगर,शक्ति अथवा उर्जा लगाएर गर्नुपर्छ ।खाना खाएपछि पचाउन पनि उर्जा चाहिन्छ, पढ्न उर्जा÷शक्ति, जाँगर दुवै आवश्यक हुन्छ ।कहाँबाट आउछ उर्जा, जाँगर त्यसको स्रोत के हो ? हाम्रो शरीरमा शक्तिको स्रोत छ ।त्यो हो कुण्डलिनी क्षेत्र । यो क्षेत्र शक्तिको ठूलो स्थान हो ।कुण्ड भनेको कुवा हो र कुवा जस्तो ठाउँ कुण्डलिनी क्षेत्र हो । कुण्डलिनी जीवन उर्जा यसैलाई भनिन्छ र यसलाई अमृत पनि भनिन्छ। त्यो बृहत् दिव्य सूक्ष्म भन्दा पनि सूक्ष्म तर वस्तु देख्न सकिदैन, टाढा छ तर बुझ्ने र देख्नेका लागि त्यही गुहामा लुकेको छ, छेवैमा छ भनिन्छ। यही उर्जाको कारणले हामी हरेक काम गर्न सकेका छौ ।यो कुण्डलिनी उर्जा सबैमा निहित छ यदि नभएको अवस्थामा मृत घोषणा गर्दछन तर यही भएको उर्जालाई एक ठाउँमा थुप्रिन जम्मा हुन नदिएर जगाएर शरीरका सबै ठाउँमा पठाउन पनि यी सबै आवश्यक मानिन्छ ।शक्तिलाई जगाइरहन हामीले अश्विनी क्रिया, उर्जा जागरण प्रणयाम, नमस्कार प्रणयाम, कपालभाती गर्नुपर्छ नमस्कार प्रणयामले मनलाई मिलाउने काम गर्छ, फोक्सो सफा गर्छ, टाउको दुखाइ कम हँदै जान्छ ।


जीवनशैली क्रियाशील बनाउँदा यो कुण्डलिनी शक्ति शरीरका सबै भागमा पुग्छ । यदि उर्जा वा श्वास पुगेन भने जहाँ पुग्दैन त्यहीबाट दुख्न सुरु हुनसक्छ । लामो र गहिरो श्वासले कुण्डलिनी लगायत सबै अङ्गलाई स्वस्थ बनाउँछ । श्वास लिन जानेमा मात्र पनि रोगहरू कम हुनसक्छन ।


३. मणिपूर चक्र


मणिपूर चक्रको केन्द्रबिन्दु मान्छेको इच्छाशक्ति हो।यो चक्र क्रियाशील हुने बित्तिकै मानिसको काममा इच्छाशक्ति बढ्छ । कुनै पनि काम राख्न, साँच्न मन लाग्दैन।यसको रङ पहेँलो, पञ्चतत्त्वमा अग्नि, दिव्य स्वाद अमिलो हुन्छ, इन्द्रियमा दृश्य हो, मुख्य क्रिया पाचन प्रणाली पर्दछ भने यसको शत्रु अथवा राक्षस अव्यवस्थित जीवनशैली हो । पाण्डवमा यो अर्जुन मानिएको छ ।


यो चक्रको स्थान नाभि वरिपरि हो पञ्चतत्त्वमा यो अग्नि हो । यो चक्र निष्कृय भएमा पाचन प्रणाली कमजोर हुने, निद्रा कम लाग्ने हुन सक्छ । अव्यवस्थित जीवनशैलीका कारणले खानपान, सुत्ने, उठ्ने समय एकनास नहुदा चक्र÷शरीर बिग्रिन सक्छ ।
पाचन प्रणाली कमजोर हुने मुख्य कारण तनाव र अव्यवस्थित खानपान हो यसको लागि मणिपूर जगाउनु पर्छ । आसनमा नौकासन, उर्जा जागरण प्रणयाम, नमस्कार प्रणयाम, हुक्कार प्रणयाम गरेर सक्रिय बनाउन सकिन्छ । यी व्यायामले व्यायाम र प्रणयाम दुवै हुन्छ । लामो र गहिरो स्वास लिने र फाल्ने यसरी स्वास लिँदा नाभिसम्म पु¥याउने लामो नै फाल्ने गर्नुपर्छ । हाम्रो शरीरका अंगहरूले अक्सिजन मागिरहेका हुन्छन छोटो स्वास लिँदा शरीरका सबै भागमा नपुग्न सक्छ जहाँ स्वास पुग्दैन त्यहाँ रक्तसञ्चार कम भएर चक्र निष्कृय हुन्छ र शरीर दुख्छ ।


लामो र गहिरो श्वास, शरीरको ढाड, कम्मर, गर्दन सिधा र माथि उल्लेखित व्यायाम गर्दा मानिसमा अर्कै हिम्मत बढ्छ काम गर्न जाँगर लाग्छ अल्छी भन्ने त कता जान्छ कता । एक्काइस दिनसम्म लगातार गरेर हेर्दा अनुभव हुन्छ । नयाँ काम र नयाँ विचारले जीवन पटक पटक जन्मने हो,त्यसैले आफूलाई निरन्तर नयाँ वनाइरहनु पर्ने हुन्छ त्यसको निम्ति फेरी पनि चक्रहरू जगाउने क्रियाकलापमा लाग्नु जरुरी छ ।


लक्ष्य पनि नयाँ नयाँ लिनुपर्छ, नयाँ किताब पढ्ने, नयाँ ठाउँ घुम्न जाने, नयाँ काम गर्ने, चाहे सानो काम नै किन नहोस । नयाँ खालको खानेकुराहरू बनाएर खाने ।सिर्जनशील हुने र चक्र खुलेपछि यस्तो स्वभाविक आउँछ । ईश्वरले पनि क्षमतावान र मेहनती मान्छे मन पराउँछन अल्छी र अव्यवस्थित मान्छे मन पराउदैनन् । लक्ष्य नभएको मान्छको गन्तव्य पनि त हुदैन ।


यो चक्र निष्कृय हुँदा के हुन्छ


मणिपूर चक्र जब बढी नै निष्कृय हुन्छ त्यति वेला मान्छे बिनाकारण डराउने गर्छ ।विना योजना काम गर्दा जीवन अस्तव्यस्त हुने, उसको घर कोठा, लगाउने, खाने व्यवस्थित हुँदैन, फलत मानिस ढाड कम्मर झुकाएर कुप्रो परेर झोक्राएर वस्छ । उसको आत्मविश्वास गयो, डिप्रेसन भयो, मणिपूर चक्र गयो भनेर बुझि जगाउने क्रियाकलाप गर्नुपर्ने हुन्छ ।


४. अनाहद चक्र


चक्र विज्ञान तालिमको चौथो दिन हामी अनाहद चक्रमा पुग्यौ । हरेक दिन एक एक चक्रमा ज्ञान हासिल गर्दै त्यसैसँग सम्बन्धित व्यायाम प्रणयाम आसन योग कीर्तन ध्यान गर्दै आएका थियौ । शरीर हलुका भएको र रमाइलो महसुस भएको थियो ।


यो चक्र नाभिभन्दा माथिको हृदयक्षेत्र प्रेमको क्षेत्र हो । यसको रङ हरियो, शत्रु/राक्षस अपेक्षा एवं आशा हो, भने मित्र प्रेम हो, यसको मुख्य काम श्वासप्रश्वास र चक्तसंचार गर्नु मानिन्छ । इन्द्रियमा स्पर्श, पंचतत्वमा यो वायु हो । मानिसका भावनासँग सम्बन्धित कामकुराहरू यसमा आउँछन् । दिव्य स्वाद गुलियो,पाण्डवमा भीम, आसन उष्टासन राम्रो मानिन्छ प्रणयाम व्यायाम त माथिका सबै आवश्यक मानिन्छन् ।


हृदय प्रेमको क्षेत्र हो, मानिसमा हुने एकआपसको प्रेम, माया भाव यही चक्र सक्रिय भएमा जागृत हुन्छ । यो चक्र सक्रिय भएको व्यक्ति दयालु, मायालु र प्रेमले भरपुर हुन्छन् । यस्ता व्यक्तिले सेवा प्रदायक व्यवसायहरू जस्तो होटेल रेस्टुरेन्ट व्यवसाय, संघ संस्थामा काम गर्न मन पराउछन् र त्यसैमा प्रगति पनि हुने गर्दछ । यो चक्र सक्रिय भएका मानिसले कसैले केही काम गरिदिए हुने भनेर आशा अपेक्षा गर्दैनन् ।


अनाहत चक्र प्रेमको अवस्था भएकाले यस्ता व्यक्तिको प्रेम जति फैलायो त्यति फैलिएको हुन्छ ।प्रेमको उचाइमा पुगेपछि परमात्मा भेटिने विश्वास गरिन्छ । यो चक्रको मुख्य काम श्वासप्रश्वास एवं रक्तसञ्चार हो र यो कुण्डलिनी उर्जा पनि हो मूलाधार चक्रदेखि सहस्रधार चक्रसम्म यो उर्जा हिँडिरहन्छ यदि यो उर्जाको विच्छेद भएमा मानिसको मृत्यु हुन्छ । त्यसैले कुण्डलिनी उर्जालाई भगवान मानिन्छ । यसलाई सक्रिय बनाइ रहन जरुरी छ ।


प्रेम र मोह दुई फरक कुरा हुन् । धेरै मान्छहरूले प्रेम बुझ्दैनन मोह बुझ्दछन् । प्रेम यस्तो चीज हो जसको कुनै बन्धन हुन्न । प्रेमलाई कृष्ण पनि भनिन्छ । कुनै कुरासँग प्रेम परेपछि अति प्यारो लाग्छ, निःस्वार्थ प्यारो, मोहलाई कंश भनिन्छ, आफ्नो खुसी र स्वार्थको लागि प्रयोग गरेको हुन्छ ।मन लागेको स्वार्थ र खुसी नपाएमा जोसुकै हुन् जहाँसुकै होस न छाडिदिन्छ ।


प्रेम लिनमाभन्दा दिनमा स्थापित गर्नुपर्छ र त्यही माध्यमबाट सेवा दान र पुण्य ले भरिएको जीवन जीउन सकिनेछ । प्रेमको शत्रु अपेक्षा एवं आशा हो भने अपेक्षा धेरै राख्नु राक्षसीपारा मानिन्छ ।प्रेमले गर्न नसक्ने केही छैन, प्रेममा ठूलो शक्ति छ, जहाँ प्रेम त्यहाँ भगवान (Love is god) त्यसैले विद्वान त्यो हो जसले अढाई अक्षर प्रेम जान्यो बुझ्यो ।


अनाहद चक्र निष्क्रिय भए के हुन्छ ?


यस चक्रको शत्रु अपेक्षा मानिन्छ । धेरै आशा अपेक्षा राख्ने मानिस जहिले पनि दुःखी हुन्छन् । सहयोग पाउँदा पनि खुसी देखिदैनन्, कुनै चीज पनि राम्रो देख्दैनन, झगडालु स्वभावका, रिसाहा र अव्यावहारिक हुन्छन् ।केही गरे पनि जस भन्ने कसैलाई दिंदैनन् र नैतिक पतनतिर उन्मुख, विवेक हराउनु, निर्णय लिन नसक्नु जस्ता दुर्बलता यसै चक्रको निष्कृयताले हुन गएको मानिएको छ ।


५. विशुद्ध चक्र


विशुद्ध चक्र आकाशतत्व प्रधान चक्र हो । यो चक्रको इन्द्रियमा शब्द अथवा वाणी हो, यसको रङ निलो आकाशे, पंचतत्वमा आकाश,आकाशको अर्थ व्यापकता हो,केन्द्र विचार हो भने अवस्था अभिव्यक्त गर्नु र मुख्य क्रियामा वाणी/व्यक्तित्व हो ।दिव्यस्वाद तितो मानिन्छ । पाण्डवमा विशुद्धि चक्रलाई युधिष्ठिर मानिएको छ । यसलाई जगाउने मुख्य आसन मत्स्यासन , उज्जाइन, सिंहासन हो भने माथि उल्लेखित सबै व्यायाम प्रणयाम योग ध्यान त चाहियो नै ।


शत्रु/राक्षस अज्ञानता अर्थात् ज्ञानको अँध्यारो हो भने मित्र ज्ञानको क्षेत्र हो । कुण्डलिनी उर्जाको शरीर सीमा पनि यही विशुद्धि चक्रसम्म मानिएको छ । कुण्डलिनी उर्जा आकाशतत्व माथि विजय प्राप्त गरेर विशुद्ध चक्र हुँदै आज्ञाचक्रमा प्रवेश हुन्छ र आकाशको अर्थ यही व्यापकता हो ।


बिहान उठ्दा दिनभरि गर्ने कामको लक्ष्य बनाउने कसरी गर्ने (ज्ञान) चाहिन्छ त्यसै गरी जीवनको पनि लक्ष्य बनाउनुपर्छ । यसमा बुद्धिको प्रयोग गर्ने जुन चिन्तन हो ।योजना बनाएर चल्ने व्यक्ति कामको भक्त हो जसले सम्मानपूर्वक काम र मेहनत गर्छ उ ईश्वरको पनि भक्त हुनसक्छ । मनमा आएको विचार ईश्वरले तथास्तु त्यसैले “तिमीभित्र जे विचार उठ्छ म त्योभन्दा पहिले बसेको हुन्छु जे विचार गर्छौ त्यो म दिन्छु“ भनेर गीतामा उल्लेख छ ।


विशुद्ध चक्र सरस्वतीको केन्द्र हो ज्ञान भन्दा पवित्र अरू केही छैन र मैले रोजेको विचार जन्माउने ध्यानको गहिराइबाट हो । मैले चाहे अनुसारको जीवन जीउन पुराना दुःखका काम कुराहरू नसम्झने फाल्ने र नयाँ जीवन जीउन बोली विचार काम व्यवहार सबै नयाँ र सकारात्मक बनाउन आवश्यक छ ।


विशुद्ध चक्र पूर्णतामा तीन कुरा : स्वीकार, समर्पण र सेवा


१. स्वीकार राती ओछ्यानमा सुत्न जाँदा दिनभरीका सबै क्रियाकलापहरू स्वीकार गर्ने
२. समर्पण भगवान चिन्न भगवानप्रति समर्पण भए जस्तै अरू ज जसलाई चिन्नुछ उसैप्रति समर्पण हुने ।
३. सेवा आफ्नो लक्ष्यमा पुग्नुछ भने सेवाभावमा काम गर्ने लक्ष्यमा पुग्न लोभीपापी हुँनुहुँदैन ।


लक्ष्यमा पुग्न सकेसम्म आफूले गल्ती गर्दै नगर्ने आफ्नो काम गर्दै जाने अरूको गल्ती र दोष नहेर्ने अरुको दोष देख्न छाडेपछि मन शान्त हुने कुरा यहाँनेर विश्वास गरिन्छ


विशुद्ध चक्र निष्कृय हुँदा के हुन्छ ?


यो चक्र निष्कृय हुने बित्तिकै उदानप्राणको सक्रियतामा खलबल भइ स्वरभङ्ग हुन जान्छ फलस्वरूप व्यक्ति लाटो लठेब्रो हुन सक्ने मानिन्छ । ज्ञानको चक्र निष्कृय हुनाले मानिसको बोलीमा रुखोपना आउँछ, गलामा क्यान्सर हन सक्छ, टन्सिल, थाइराइड, क्षयरोग, गर्दन नचल्ने दुख्ने साना साना कुरामा रिस उठ्ने, चिन्ता लागिरहने, स्मरण शक्ति कम हुदै जाने, बोलीको मिठास हराउने, पढन मन नलाग्ने, पढन बसेमा नबुझ्ने र एकैछिनमा बिर्सनेहुन्छ । ज्ञान उपदेश कसैले दिए मन पर्दैन झर्को मात्र मान्ने आदि विपत्ति जन्मन्छन । यस्तो हुन नदिन शक्ति सञ्चालन गरी यसलाई स्वस्थ एवं सक्रिय राख्नुपर्छ ।


विद्यालयमा शिक्षकले पढाउँदा बालबालिकाले पढ्दा ध्यान दिनुपर्ने कुरामा बोली व्यवहार र मन एकै ठाउँमा ल्याउनु पर्छ त्यसको लागि केही समय छुट्याएर विद्यालयमा योग व्यायाम प्रणयाम ध्यान जरुरी भइसकेकोछ । पढ्ने लेख्ने आँखाले मात्र होइन मनले, दिमागले पनि हो । मन अन्त डुलाएर पढेको सम्झन सकिन्न । होस अर्थात् ध्यानमा पढ्नु पर्छ । ध्यानको गहिराइबाट मैले रोजेको विचार आउँछ । काम गर्दा जे सोच्यो त्यही गर्ने जे बोल्यो त्यही गर्ने । गर्ने एउटा सोच्ने अर्को भएपछि मेमोरी हराउँछ । पढ्दा लेख्दा जे काम गर्दा पनि होसमा गर्ने ध्यानले गर्नुपर्छ ।


बालबालिकाको स्मरण शक्ति एकनासको हँदैन । कसैको एकै पटकमा सिक्ने क्षमता हुन्छ कसैको धेरै पटक प्रयास गर्दा पनि भइरहेको हुदैन । सिक्ने क्षमता वंशानुगत र प्राकृतिक हुन सक्छ, कसैको शरीर कमजोर हुँदा पनि बिर्सने हुन सक्छ, कसैको मस्तिष्कमा चोटपटक लागेर पनि कमजोर हुनसक्छ र कसैको विशुद्ध चक्र निष्कृय भएर कमजोर हुनसक्छ । शिक्षकले पत्ता लगाइ सोही अनुसार सिकाइ क्रियाकलाप गर्नु जरुरी हुन्छ ।


योग ध्यानमा बालबालिकाको मन त्यति छिटो जाँदैन नाचगान छिटो जान्छ ।शिक्षक र विद्यालयले चाहने हो भने रुटिन बनाएर गर्दा कुनै गाह्रो कुरा पनि होइन । स्वास्थ्य नै धन र सर्वोपरि विषय हो स्वस्थ वालकले मात्र सिकाइ गर्न सक्ने कुरा आइनै रहेको छ ।


६. आज्ञाचक्र


छैठौँ दिनमा अझ उत्साह रमाइलो लागिरहेको थियो । प्रवचन, योगाभ्यास, प्रणयाम, भजन, ध्यान आदिमा । आज आज्ञाचक्रमा आइपुग्यौ ।यो चक्रको रङ प्याजी, शत्रु/राक्षस अस्थिरता हो भने मित्र अवस्था संकल्प वा ध्यान गर्नु हो । पाण्डवमा श्रीकृष्ण मानिन्छ स्वाद टर्रो र आसन शशांकासन ।


भृकुटी अर्थात् भूमध्य (दुई आँखा बीचको भाग) सँगछ । यो चक्र पनि भौतिक रूपमा देखिदैन यसको आज्ञा विना हाम्रो शरीरमा रौँ पनि हल्लिदैन त्यसैले आज्ञाचक्र भएको हुनसक्छ । धार्मिक हिसाबले यस चक्रलाई आराध्यदेव शिव मानिन्छ शिवको तेस्रो आँखा यही स्थानमा हुन्छ ।


आज्ञा चक्र सक्रिय भएको अवस्थामा शरीरमा आवश्यक हुने धेरै रसहरू उत्पादन गर्छ र यसको मुख्य भोजन भनेको ध्यान हो ।ध्यान गर्न सजिलो छ र गाह्रो पनि छ । शरीर र मन अस्थिर भयो भने ध्यान गर्न सकिदैन । पहिला शरीर शान्त बनाउने अनि मनलाई एक ठाउँमा ल्याउन खोज्ने तरमनले शरीर पनि स्थिर बनाउन दिदैन । संकल्प गर्ने शक्तिलाई जगाएर १५ मी जे सुकै होस म स्थिर वस्छु चाहे किराले टोकोस चाहे चिलावस चाहे खुट्टा दुखोस दृढ बसेमा ध्यान लगाउन सकिन्छ । कुनै पनि दुख वा सुख स्थिर वस्दैन । हाम्रो शरीर पनि त सधैँ रहदैन । चेतना आफूतीर फर्काउने तर मनले अझ पनि मान्दैन । स्थिर वस्न शरीरभरी अक्सिजन पुग्नुपर्छ त्यसको लागि लामो लामो स्वास लिने छोड्ने गर्नुपर्छ । मन शान्त हुन्छ र वस्न सकिन्छ ।


आज्ञाचक्र निष्कृय भएमा के हुन्छ ?
यो चक्र बिग्रिएमा अथवा निष्कृय भएमा इडा पिङ्गला र सुषुम्ना नाडीलाई नै अवरुद्ध पार्छ । शारीरिक रूपमा निष्कृय व्यक्ति एकाग्रचित्त हुन सक्दैन आन्तरिक स्थिरता हराउदै जान्छ दुखी हुन्छ रोग भोग र शोकले सताउछ । शक्ति सञ्चालन गरेर यसलाई सक्रिय बनाउन जरुरी छ ।


७. सहस्रार चक्र


सहस्रार चक्र शरीरको सबैभन्दा माथि टुप्पीमा अवस्थित हन्छ । यसको रङ बैगनी, केन्द्र बोध, अवस्था जान्नु हो भने क्रिया ॐ, पाण्डवमा वम्ह र आसनमा शीर्षासन र सर्वाङगासन । उपव्यक्त अनुसारका सबै योग व्यायाम प्रणयाम ध्यान पनि गर्न आवश्यक छ ।


यो चक्र सक्रिय भएमा मानिस शान्त स्वभावको हुन्छ, कहिले पनि हतार गर्दैन, जहाँ गयो त्यही वस्यो । यो चक्र नै शान्तिको क्षेत्र हो, जे मा पनि आनन्द मात्र अनुभव हुन्छ । ऋषिहरूले भनेका छन् कि आज्ञाचक्र र सहस्रार चक्र क्रियाशील हुँदा सोमरस जन्मन्छ । नराम्रो केही पनि लाग्दैन, मानिदैन र देखिदैन भन्ने विश्वास गरिन्छ । कसैले गाली गरेपनि यस्ता मानिसलाई केही फरक पर्दैन । सहस्रार चक्र सुदर्शन चक्रसँग जोड्छ । जे हेरेपनि राम्रो जे खायो त्यही मीठो लाग्ने विश्वास गरिन्छ ।


मान्यता के पनि छ भने धेरै जसो व्यक्तिमा यी दुई चक्र सक्रिय हुन धेरै नै परिश्रम एवं साधना गर्नुपर्ने हन्छ । सामान्य अवस्थामा यस्तो अदभूत गुण देख्न र अनुभव गर्न सकिदैन ।मानिस जतिबेला पनि मनको दुख अभाव र पिडामा बाँचीरहेको र आफूसँग भएको क्षमता शक्ति र उर्जा चिन्न खोजेको हुदैन सक्दैन पनि ।यो चक्र सक्रिय भएमा साधकलाई मेरुदण्डमा कुण्डलिनी उर्जा (प्राणशक्ति) को प्रवाह भएको स्पष्ट अनुभव हुने कुरा विश्वास गरिन्छ । धेरै पहिलेका परमहंस योगी र ऋषिमुनीहरूले अनुभूति गरेका कुरा ग्रन्थहरूमा उल्लेख हुन्छन र अहिले पनि महापुरुषहरूले यो अनुभव गरेका हुन्छन् ।


सहस्रार चक्र निकृय भएमा के हुन्छ ?


यो चक्र निष्कृय भएमा व्यक्तिलाई मोक्षलाभ हुदैन । व्यक्ति धर्म, सम्पत्ति र कामको चक्रव्यूहमा फसिरहन्छ ।


अन्त्यमा
आफ्नो काम आफै गर्ने आफ्नो कामको लागि कसैको आशा अपेक्षा नगर्ने हो भने पनि मन दुख्ने समस्या कम हुन्छ ।धेरै विरामी भएर विस्तारमा परेको बाहेक आफ्ना काम आफै गरौँ अझ अरूलाई सहयोग गर्नुमा धरै आनन्द आउनुपर्छ । आफ्नो काम आफै गर्न पनि त जाँगर लाग्नु पर्यो मन लाग्नु प–यो त्यो जगाउनको लागि यिनै चक्रहरूलाई सक्रिय बनाउने क्रियाकलापमा सम्लग्न हुनु आवश्यक छ । अव्यवस्थित खानपान धुलो–धुवा कामको चाप तनाव आदिले हाम्रो शरीरमा विभिन्न समस्या आइरहन्छन । जसरी हामीले शरीरलाई आवश्यक पर्ने भोजन दिनदिनै खानुपर्छ त्यसै गरी आसन, व्यायाम प्रणयाम योग ध्यान पनि गर्नुपर्ने हुन्छ ।यदि पत्यार लाग्दैन भने २१ दिनसम्म लगातार गरेर हेर्न र विचार गर्न सक्नुहुन्छ ।


अव संकल्प गरौँ कि मैले हरेक दिनको १ देखि डेढ घण्टा मेरो लागि छुट्याउछु । बाँकी समय अरूको लागि सेवा र कर्म गर्न छुट्याउँछु । बिहान व्रम्हमुहुर्त ३ देखि ६ बजे धेरै राम्रो मानिन्छ, नत्र ५ देखि ६, त्यो पनि नसके आफूलाई उपयुक्त हुने समय मेरा लागि ।


बिहान झुल्किन लागेको सूर्य मेरा लागि, बिहानको शीतल पवन मेरा लागि, यो निलो सुन्दर आकाश मेरा लागि ,यो धर्ती मेरा लागि र सँगै योग व्यायाम गर्ने साथीहरूको उर्जा अलिकति मेरा लागि, मेरो शरीर ठाउँ ठाउँमा दुख्छ तर मलाई दुख्दैन, म निराकार हुँ,, म एक बलियो आत्मा हुँ,मेरो शरीर मरेर जान्छ तर म मर्दिन, जहाँ उत्पत्ति त्यहाँ विनाश, मृत्यु त जन्मदा नै लिएर आएका छौं भनि आफूलाई सदा सदा सक्रिय, आनन्द, ध्यानी र ज्ञानी बनाउन सकिने देखियो ।


(लेखक रमा अर्याल पन्थी, भाषा आयोगमा कार्यरत हुनुहुन्छ । लेखमा समावेश गरिएका विषयहरु लेखकका निजी विचार हुन् ।)