काठमाडौं/११ भदौं – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको पदक तथा प्रमाण पत्र अहिलेसम्म कुनै पनि शिक्षकहरूलाई दिएको छैन । यो वर्षको शिक्षा दिवस मनाउने सवालमा तामझाम गर्दै गर्दा शिक्षा मन्त्रालयले नामावली पनि प्रकाशन गरेर ७७ जिल्लाका शिक्षकहरूलाई न पदक दियो, न प्रमाण पत्र उपलब्ध गरायो ।
शिक्षा मन्त्रालयले यो वर्षको शिक्षा दिवसका लागि नारा तय गर्दै गर्दा शिक्षा क्षेत्रमै योगदान दिएका शिक्षकहरूलाई बिर्सिएर आर्थिक अभावको कारण देखाउँदै आफूहरूलाई जसरी सजिलो हुन्छ त्यसैगरी शिक्षा दिवस मनाउने तयारी गरेको छ । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ जारी भएको दिन असोज २ गतेलाई शिक्षा दिवसका रूपमा मनाउदै आएको मन्त्रालयले त्यसको अर्को वर्ष २०७६ सालमा शिक्षा दिवस पदक पाउने शिक्षकहरूलाई अहिलेसम्म पुरस्कृत गरेको छैन ।


नामावली नै सार्वजनिक गरेर अहिलेसम्म पुरस्कृत नगर्नु र शिक्षा दिवस माउनकै लागि १ सय ३० जनाको सदस्यीय जम्बो समारोह समिति गठन गर्नु शिक्षा मन्त्रालयको कर्मकाण्डी शिक्षा दिवसका रूपमा हेर्न सकिन्छ । प्रत्येक वर्ष राष्ट्रिय शिक्षा दिवस मनाउन शिक्षा मन्त्रीको अध्यक्षतामा मन्त्रालयले नै मूल समारोह समिति गठन गर्ने अभ्यास हुँदै आएको छ ।
यति मात्रै नभई आदर्श वाक्य राख्ने भन्दै हरेक वर्ष एउटै कर्मचारीलाई यसको जिम्मा लगाइन्छ । यसरी निर्माण भएका आदर्श वाक्यले देशको शिक्षाको मर्म एकातिर वाक्य अर्को तिर हुने देखिएकै छ । आदर्श वाक्य आदर्श कै रूपमा रहन्छ तर शिक्षाको वास्तविक अवस्था बोलेको हुँदैन ।
मन्त्रालयले विभिन्न उपसमिति बनाएर शिक्षा दिवस मनाउन विभिन्न काम गरिहेको छ । साथै गत वर्षको पदक पनि अहिलेसम्म नदिएको मन्त्रालयले राष्ट्रिय शिक्षा पुरस्कारका लागि आवेदन मागेको छ । बजेट अभाव देखाउँदै तर्कने मन्त्रालयले पदक विनाको प्रमाणपत्र बाढने तयारी थालेको छ ।
४० औँ राष्ट्रिय शिक्षा दिवसको पदक तथा प्रमाण पत्र पाउने नामावली रहेका शिक्षकहरू पटक पटक शिक्षा मन्त्रीलाई भेटेर मन्त्रालयको धारणा माग्ने गरेका छन् । शिक्षा सचिवलाई समेत पटक पटक भेटेर जानकारी गराउँदा पनि अनभिज्ञ जस्तो जवाफ पाउने गरेको उनीहरूको गुनासो छ । अहिलेकी शिक्षा मन्त्री विद्या भट्टराईलाई समेत यस बारेमा जानकारी गराएको उनीहरूले बताए । तर के रहेछ हामी हेर्छौ भन्ने बाहेक जवाफ केही नआएको शिक्षकहरूको गुनासो छ ।
तसर्थ नामावली सार्वजनिक गरेर पदक नदिने तथा पदक नै उधारो बाढेर शिक्षा दिवस मनाउने शिक्षा मन्त्रालयसँग पनि इमान्दारीताको खडेरी परेकै हो त ? नामावली सार्वजनिक गरिएका शिक्षकहरूको सम्मान कि अपमान ?



