काठमाडौँ /८ भदौ – इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीहरूलाई सहज विद्यार्थी कर्जा कार्यक्रम अन्तर्गत सहुलियतपूर्ण बैक कर्जा सुविधा उपलब्ध हुने भएको छ । हिलसाईड कलेज अफ इन्जिनियरिङ कलेजमा भर्ना हुने विद्यार्थीहरूलाई बैक कर्जा सुविधा उपलब्ध गराउने भएको हो ।
इन्जिनियरिङ शिक्षा पढ्ने चाहाना भएका विद्यार्थीहरूलाई आर्थिक कारणले वञ्चित हुन नपरोस भन्ने उदेश्यले हिलसाईड हलेज अफ इन्जिनियरिङ र माछापुच्छ्रे बैँकबिच सहुलियतपूर्ण बैक कर्जा उपलब्ध गराउने सहमति भएको छ ।
सहमति अनुसार विद्यार्थीलाई अध्ययन गर्नका लागि २ लाखदेखि १० लाखसम्म सहुलियत बैक कर्जा उपलब्ध हुनेछ । अध्ययन अवधिमा सामान्य व्याज मात्रै तिरे पुग्ने (बेसरेटमा २ प्रतिशत मात्र थप), ५ वर्ष वा कोर्स पूरा भई पास भएको मिति पछि ६० किस्तामा सावाँ व्याज बुझाउन सकिने, बैँकले नियुक्त गर्ने भ्यालुएटरको लागि यो सुविधा लिई अध्ययन गरेकालाई प्राथमिकता दिने, विद्यार्थीले कलेजलाई तिर्नुपर्ने शुल्क एकमुस्ट वा कलेजले तोकेको किस्ता अनुसार बैँकले तिरिदिने लगायतका सुविधा दिने भएको छ ।
विद्यार्थीहरूको चाहाना इन्जिनियरिङ पढ्ने भएपनि खासगरी सामुदायिक विद्यालयबाट साइन्स वा इन्जिनियरिङ र डिप्लोमा अध्ययन गरिरहेका विद्यार्थीहरू आर्थिक कारणले इन्जिनियरिङ पढ्न नसकेको पाइएपछि त्यसको समाधानका लागि सहुलियतपूर्ण बैक कर्जा सुविधा उपलब्ध गराउने सहमति भएको क्याम्पस प्रमुख डा. समित थापाले बताए ।
उनले अध्ययन सकेपछि कमाएर तिर्न सक्ने गरी सहज विद्यार्थी कर्जा कार्यक्रम लागु गरिएको र हिलसाईड कलेज अफ इन्जिनियरिङ कलेजमा भर्ना हुने वा अध्ययनरत विद्यार्थीहरूले यो सुविधा उपयोग गर्न सक्नेगरी व्यवस्था गरिएको जानकारी दिए ।



