नवलपरासी (पूर्व)/३२ साउन – माननीय शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई ज्यू, नमस्कार !
नेपालको सार्वजनिक शिक्षा क्षेत्र कसैको पनि चासो र रुचिको विषय नबनेकै बेला हजुर शिक्षामन्त्री बन्नु भएको छ। शुभकामना ।यहाँ प्रत्येक वर्ष करिब ४ जना शिक्षा मन्त्री नियुक्त हुँदै निवृत्त हुँदै गर्दछन्। तर सार्वजनिक शिक्षामा आज सम्म २०२८ सालकै ऐन र २०५९ कै नियमावली सक्रिय छन् ।
लामो समय सामुदायिक विद्यालयमा स्थायी सेवा गरेका शिक्षकहरूको ग्रेड स्थगित गरेर राज्यले ठूलो अपराध गरेको छ । ग्रेड स्थगित गरे पछि एक श्रेणी वा तह बढुवा गर्नु पर्नेमा २०६०/२०६३ मा स्थायी भएका र २०७२ मा स्थायी भएका समान तह र श्रेणीका शिक्षकहरूको सेवा सुविधा समान गराइयो।वरिष्ठताको धज्जी उडाइदियो, सरकारले । अर्को कुरा,२०६८ सालमा १२ वर्ष स्थायी सेवा गरेका शिक्षकहरूको एक पटकका लागि भनेर एक श्रेणी बढुवा गरीयो।त्यसपछिका शिक्षक अपराधी थिए र सजाय दिइयो ? २०६०/६३ मा स्थायी भएका शिक्षकहरूलाई बढुवा गर्दा राज्यलाई खासै आर्थिक भार पर्दैन।२० वर्षमा दियो हुन चाहनेहरुका लागि पेन्सनमा केही सुविधा थपिने मात्रै हो ।
२० वर्षमै निवृत्त हुनेको सङ्ख्या अत्यन्तै न्यून हुनेछ । कम्तीमा पनि मन्त्री पदको ठेगान नहुने अवस्थामा मन्त्री परिषदमा प्रस्ताव लगेर १० वा १२ वा १५ बर्ष स्थायी सेवा वा स्थायी वा अस्थायी सेवा जोड्दा २५ वर्ष सेवा गरेका सबै शिक्षकहरूलाई एक श्रेणी स्वत बढुवा गरि शिक्षकहरूको मनोबल बढाइ दिनु हुनेछ भन्ने कुरामा आशावादी छौँ।३० वर्ष सम्म पनि शिक्षक बढुवा हुन नसक्नु दुर्भाग्यपूर्ण छ । यो कार्यले तपाईँको प्रशंसा जीवनभर हुनेछ र शिक्षक कक्षा कोठामा उच्च मनोबलका साथ प्रवेश गर्नेछन्।यसले शैक्षिक गुणस्तर वृद्धि गर्न अहं भूमिका खेल्ने छ । कुनै किसिमको दलीय षड्यन्त्रको शिकार नबनी शिक्षकहरूको हकहितमा यो एउटा मात्रै निर्णय गर्नु भयो भने तपाईँ ऐतिहासिक शिक्षा मन्त्रीमा अभिलेखिकरण हुनुहुनेछ ।
सङ्घीय शिक्षा ऐनले शिक्षालाई संविधान अनुरूप संघको मातहतमा राखेर शिक्षकहरू माथि हुने दलीय हस्तक्षेपलाई निरुत्साहित गर्न पहल गर्नुहोला।हजुर कुनै दलको सांसद हो तर आम जनता र शिक्षकहरूको शिक्षा मन्त्री भएकोले आम शिक्षकहरूको हकहितका लागि काम गर्नु हुनेछ भन्ने विश्वास गरेका छौँ ।
कुसुम न्यौपाने
शिक्षक,जनता मा वि अरुणखोला,नवलपरासी (पूर्व)