सहिदका परिवारको शिक्षाका लागि काँग्रेसले १० करोडको अक्षय कोष स्थापना गर्ने

भक्तपुर/२७ साउन – सहिद परिवार र प्रजातन्त्र सेनानीको शिक्षा स्वास्थ्यका लागि नेपाली काँग्रेसले १० करोड रुपैयाँ रासीको अक्षय कोष स्थापना गर्ने भएको छ । स्व. श्याम बहादुर कार्कीको १७ औं स्मृति दिवसको अवसरमा शनिवार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै काँग्रेसका महामन्त्री गगन कुमार थापाले सो जानकारी दिएका हुन् ।


प्रजातन्त्रका सेनानी र सहिदका परिवारले आफ्नो योगदानको प्रतिफल पाउन नसकेको बताउँदै महामन्त्री थापाले उनीहरूलाई स्वास्थ्य र शिक्षाको अवसरबाट वञ्चित नहुन् भन्ने उद्देश्यले अक्षयकोष स्थापना गर्न लागिएको बताए ।


हाल पार्टीमा आबद्ध रहेकाहरूलाई पनि भविष्यमा आफ्नो परिवारको अवस्था के होला भन्ने तनाबबाट मुक्त रहनका लागि पनि उक्त अक्षयकोषले मद्धत पु¥याउने महामन्त्री थापाको भनाइ थियो । कार्यक्रम बोल्दै महामन्त्री थापाले पार्टी कार्यालयमा स्थापना गरिएको पुस्तकालयमा प्रजातान्त्रिक आन्दोलनका योद्धा, प्रजातन्त्र सेनानी लगायतका सामाग्री समेत राखिने जानकारी दिए ।


महामन्त्री थापाले अहिलेको समयमा “मानिसहरूमा देश सक्किसक्यो, हामी भत्किसक्यो, हामी मक्किसक्यौँ “ भन्ने भाष्य बन्दै गएको बताए । मानिसहरूमा सबै नराम्रो मात्र हुँदै छ, राम्रो केही छैन भन्ने विचार धेरैले राख्ने गरेको बताउँदै महामन्त्री थापाले सबै नराम्रो मात्र भने नभएको दाबी गर्नुभयो । “हामीले सोचेअनुसार प्रगति गर्न सकेनौँ, धेरै गर्न सक्ने थियौँ, तर विभिन्न कारणले भएन, तर त्यसो भन्दैमा हामी सक्किसक्यौँ, मक्किसक्यौँ भन्न चाहिँ मिल्दैन ।“, थापाले भने ।


हाल धेरैजस्तो युवाहरूमा विदेश जाने ट्रेन्ड बढिरहेको बताउँदै महामन्त्री थापाले युवा विदेशीनुलाई मात्रै नराम्रो भन्न नमिल्ने बताए । रोजगारी र शिक्षाका लागि त विकशित देशका मानिस पनि अन्य देशमा जाने गरेको उदाहरण प्रस्तुत गर्दै महामन्त्री थापाले त्यसैलाईनै नराम्रो भन्न चाहिँ नमिल्ने उनको भनाई थियो ।


कमाएर वा पढेर नेपाल फर्किन्छु भन्ने सोच्नु सामान्य हो, तर सबै बिग्रिसक्यो सोचेर विदेशीनु चाहिँ डरलाग्दो हुने महामन्त्री थापाको भनाइ थियो ।


कार्कीको १७ औ स्मृति दिवसकै अवसरमा स्थानीय गणेश आधारभूत विद्यालयका १ सय ८ जना विद्यार्थीलाई स्टेशनरी समान, ब्याग लगायतका सामान वितरण गरिएको थियो ।