एसईई परीक्षा पूर्व निर्धारित समयमा हुने, त्रासमुक्त वातावरणमा सम्पन्न गर्न मन्त्रालयको आग्रह

काठमाडौं/४ चैत–यस वर्षको माध्यमिक शिक्षा (एसईई) परीक्षा पूर्व निर्धारित समय तालिका अनुसार नै हुने भएको छ ।
कोरोना संक्रमणका कारण चैत ६ गतेबाट सञ्चालन हुने भनिएको एसईई परीक्षा पटकपटक सर्ने हल्ला भएको भएपनि शिक्षा मन्त्रालयले आज एक सूचना जारी गर्दै एसईई परीक्षा नसर्ने जानकारी दिएको हो ।
स्वास्थ्य क्षेत्रका विज्ञ तथा शिक्षाका सरोकारवालाहरुसँगको परामर्श र छलफल, उपप्रधानमन्त्रीको संयोजकत्वमा गठित नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय अनुुगमन समितिमा भएको छलफल र विश्लेषणका आधारमा एसईई परीक्षा पूर्व निर्धारित मितिमा नै हुने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार परीक्षा अवधिभरी सबै परीक्षा केन्द्रमा स्वास्थ्य सहायत प्रदान गर्न हेल्थ डेस्क राख्ने भएको छ । यसका लागि मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहहरुलाई अनुरोध समेत गरेको छ । परीक्षाका समयमा विद्यार्थीमा कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर मन्त्रालयले यस्तो गर्न लागेको हो ।
परीक्षा हलभित्र जानुअघि परीक्षार्थी, कर्मचारी तथा परीक्षामा संलग्न अन्य सबैको तापक्रम जाँच गरिनेछ भने परीक्षाका क्रममा कुनै विद्यार्थीमा ज्वरो देखिएमा अस्पताल लगेर उपचारको व्यवस्थासमेत हेल्थ डेस्कबाट गरिनेछ ।
मन्त्रालयले यति बेला कोरोनाको संक्रमण रोकथाम गर्न र एसईई परीक्षालाई मनोवैज्ञानिक एवम् त्रासमुक्त वातावरणमा सम्पन्न गर्न आग्रह गरेको छ । प्याब्सन, एन–प्याब्सन लगायतका शैक्षिक संस्थाहरुले यस्तो संक्रमणको अवस्थामा परीक्षा सञ्चालन नगरी विद्यालय बन्द गर्न माग गरेका भएपनि शिक्षा मन्त्रालयले भाइरसले महामारीको रुप नलिएको भन्दै एसईई परीक्षा नसर्ने बताउँदै आएको थियो ।
यस वर्षको एसईई परीक्षामा देशभरका कुल ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी परीक्षा दिँदैछन् भने १ हजार ९ सय ९५ वटा परीक्षाकेन्द्र तोकिएको छ । मन्त्रालयले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको र परीक्षार्थीहरु परीक्षा केन्द्रमा पुुगेको जानकारी दिएको छ ।
मन्त्रालयले कोरोना भाइरसको जोखिम एवम् सन्त्रास बढिरहेको अवस्थामा सतर्कता अपनाउन समेत आग्रह गरेको छ । चैत ५ गतेबाट परीक्षा सकिएका कक्षा १ देखि ९ सम्मका ७० लाख विद्यार्थीहरुलाई घर बाहिर नजाने समेत आग्रह गरेको छ ।