काठमाण्डौं/४ चैत– प्रदेश नं. ७ स्थित बैतडीका २७ जना विद्याथीहरू यहि चैत ६ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा (एसईई) को परीक्षा दिनबाट वञ्चित भएका छन् ।
शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका अनुसार पचहत्तर प्रतिशत हाजिर नपुगेका कारण २२ जना छात्र र पाँच जना छात्रा गरी २७ जना विद्यार्थीहरू परीक्षा दिनबाट वञ्चित भएका हुन् ।
चैत ६ गतेदेखि सञ्चालन हुने एसईईमा बैतडीबाट पाँच हजारभन्दा बढी परीक्षार्थी सहभागी हुने भएका छन् । नियमित, ग्रेड वृद्धि र प्राविधिक धारका गरी जिल्लामा ५ हजार ६ सय ९४ परीक्षार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइका प्राविधिक सहायक एवं सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिए । उनका अनुसार नियमिततर्फ २ हजार ५ सय ५३ छात्र र २ हजार ६ सय ४५ छात्रा गरी ५ हजार १ सय ९८ परीक्षार्थी रहेका छन् ।
एसईई परीक्षाका लागि जिल्लामा २६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । सो जिल्लाभित्र रहेका ११९ सामुदायिक विद्यालय, ४ वटा संस्थागत र १ खुल्ला गरी कूल १२४ विद्यालयका विद्यार्थी एसइई परीक्षामा सामेल हुने बताइएको छ ।