काठमाडौँ /२१ असार – विद्यालयको पोसाकमा भ्रष्टाचार गर्ने विरुद्ध मुद्दा दायर गरिएको छ । धनुषाको मिथिला बिहारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदरश यादव, लेखापाल सुभाष कुमार झा,जिन्सी शाखाका प्रमुख खरिदा उपेन्द्र यादवले विद्यालय पोसाक खरिद गर्दा भ्रष्टाचार गरेको पाइए पछि मुद्दा दायर गरिएको हो ।
उनीहरूले श्री आधारभूत विद्यालय र श्री रामजानकी प्राथमिक विद्यालयमा विद्यार्थी सिकाई अभिवृद्धि कार्यक्रम अन्तर्गत कुनै काम नगरी भुक्तानी लिएको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा भ्रष्टाचार गरेको पाइएको अख्तियार अनुसन्धान आयोगले जनाएको छ ।
विद्यालयमा पोसाक खरिद गर्दा सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद नियमावली बमोजिम लागत अनुमान तयार गरी कम्तीमा ३ वटा आपूर्तिकर्तासँग लिखित रूपमा दरभाउपत्र माग गरी खरिद मूल्याङ्कन समितिबाट निर्णय गराउनु पर्नेमा सो नगरी पालिकामा सूचीकृत रहेको भनी ३ वटा आपूर्तिकर्ताको झुट्टा दरभाउ पत्र तयार गरी खरिद मूल्याङ्कन समितिको बैठकमार्फत मूल्याङ्कनसमेत नगराई कार्यालयको टिप्पणी आदेश मार्फत मूल्याङ्कन गरी पैन्ट, स्कर्ट, सर्ट, जुत्ता, टाई, बेल्ट र मोजा समेत गरी ७ प्रकारका पोसाक सामग्री एकमुष्ट रुपमा २ सय ९५ सेटको रु ९ लाख ९६ हजार ६ सय ६० भुक्तानी लिएको आयोगको आरोप छ ।
साथै खरिद भएका पोसाकको नमुनासहित सामग्रीहरूको मूल्य एकिन गर्दा प्राप्त दररेट अनुसार खरिद भई विद्यालयलाई बुझाइएका सामग्रीहरूको जम्मा मूल्य रु.४ लाख ६१ हजार ९ सय ५० मात्रै पर्ने देखिएकोबाट उक्त सामग्रीहरू प्रचलित बजार मूल्य भन्दा रु.५ लाख ३४ हजार ७ सय १० बराबरको रकम अस्वाभाविक रूपमा बढी मूल्य भुक्तानी लिएको विज्ञप्तिमा उल्लेख छ ।