काठमाडौँ /१९ असार – इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोशिएसन अफ नेपाल ( आइप्यान)ले विदेश अध्ययनमा गएका विद्यार्थीहरूले विदेशमा निरक्षर व्यक्तिहरूले गर्ने काम गर्न बाध्य भएको शिक्षा मन्त्रालयलाई सुझाब दिएको छ । विदेशी शिक्षण संस्थाको सम्बन्धनमा नेपालमा सञ्चालित शिक्षण संस्थाहरूको अध्ययनका लागि गठित विज्ञ समितिलाई पत्र बुझाउँदै सो सुझाब दिएको हो ।
आइप्यानले विदेश अध्ययनमा गएका विद्यार्थीहरूले पढ्न गएको तह पुरा गर्न नसक्ने, आर्थिक समस्यामा पर्ने, योग्यता अनुसारको काम नपाउने, सामान्य निरक्षर व्यक्तिहरूले गर्ने (मजदुर वर्गे) स्तरको काम गर्न बाध्य हुने, बस्नको लागि कोठा समेत नपाएर सडक र पार्कमा अलपत्र अवस्थामा रहेको लगाएतको सुझाब दिदैँ नेपालबाट युवा पलायनलाई रोक्न आग्रह गरेको छ ।
त्यसैगरी गुणस्तरीय शिक्षाको खोजीमा विकसित मुलुकहरूमा जाने विद्यार्थीहरू मध्येमा करिब ७० प्रतिशतले जुन विषय वा तहमा पढ्न गएका हुन त्यो विषय वा तह पुरा नै नसकेको तथ्य प्रस्तुत गरेको छ ।
यस्तो छ आइप्यनले शिक्षा मन्त्रालयमा पेस गरेको पत्र
अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीहरूले भोगिरहेका समस्याहरू :
विभिन्न समयमा गरिएका अध्ययन अनुसन्धानबाट के तथ्यहरू फेला परेको छ भने गुणस्तरीय शिक्षाको खोजीमा विकसित मुलुकहरूमा जाने विद्यार्थीहरू मध्येमा करिब ७० प्रतिशतले जुन विषय वा तहमा पढ्न गएका हुन त्यो विषय वा तह पुरा नै गर्दैनन् । तोकेबमोजिमको विषय वा तहको अध्ययनलाई निरन्तरता दिनेहरू मध्ये पनि अधिकांशले आर्थिक समस्याका कारणले आफ्नो अध्ययन नै पुरा गर्न सक्दैनन् । थोरै सङ्ख्याले मात्र आफ्नो अध्ययन पुरा गर्दछन्, तिनीहरूले पनि समयमा नै अध्ययन पुरा गर्न सक्दैनन् ।
अध्ययनका साथ–साथै रोजगारीको अभिलाषा सहित त्यहाँ पुगेका युवाहरू मध्ये विरलैले मात्र आफ्नो योग्यता अनुसारको काम पाउँछन् । बाँकी सबैले सामान्य निरक्षर व्यक्तिहरूले गर्ने (मजदुर वर्गले) स्तरको काम गर्न बाध्य छन् । क्यानडामा अध्ययनका लागि गएका विद्यार्थीहरूले बस्नको लागि कोठा समेत नपाएर सडक र पार्कमा अलपत्र अवस्थामा रहेका छन् । अन्य देशमा जानेहरू मध्ये पनि अधिकांशले कुनै न कुनै किसिमका समस्या र शोषणहरूको सामना गरिरहनु परेको छ । युवा विद्यार्थीहरूको पलायनले हामीले हाम्रो देशमा आर्थिक, पारिवारिक, सामाजिक तथा सांस्कृतिक लगायतका विभिन्न खाले समस्याहरूको सामना गर्नु पर्ने अवस्था सिर्जना हुदैछ । त्यसैले हामी सबै सचेत भएर सरकारको यसमा विशेष ध्यान पुग्नुपर्छ भन्ने हाम्रो विशेष अनुरोध छ । प्रत्येक वर्ष हजारौँको सङ्ख्यामा युवाहरू अध्ययनका लागि देशबाट पलायन हुँदा हामीले निम्नानुसारका समस्याहरू भोगिरहेका छौँ :
१. आर्थिक रूपमा सक्षम र औसत भन्दा राम्रो पढाई भएका राम्रो सम्भावना बोकेका युवाहरू हाम्रो देशबाट विदेशीरहेका छन् । जसले गर्दा मानवपुँजीका साथ–साथै हरेक वर्ष अरबौँ रकम समेत बाहिरिरहेको छ ।
२. युवाहरूको पलायनका कारण नेपाली विश्वविद्यालयहरू र शिक्षण संस्थाहरूले विद्यार्थी नै पाउन छोडेका छन् । विदेशमा गएकाहरू पनि अधिकांशले नेपालका शिक्षण संस्थाहरूको भन्दा कम गुणस्तरका शिक्षण संस्थामा अध्ययन गरिरहेका छन् । धेरै त एकेडेमीक भन्दा पनि भोकेस्नल कोर्सहरू र भाषा अध्ययन गरिरहेका छन् । जसका कारण उनीहरूको दीर्घकालीन करियर ग्रोथमा पनि समस्या आउँछ ।
३. नेपालको श्रम बजारले सक्षम युवाहरूको अभाव भोगीरहेको छ। उद्योग व्यवसायको विस्तारका लागि आवश्यक जनशक्तिको अभाव भईरहेको छ । जसले गर्दा उत्पादनमा मात्रै होइन उपभोगमा समेत ह्रास आईरहेको छ ।
४. युवाहरूको पलायनका कारण नवप्रवर्तन, उद्यमशीलता र स्टार्टअप इकोसिस्टमको विकास र विस्तारमा अवरोध सिर्जना भईरहेको छ ।
५. एउटा युवालाई हुर्काउँदा तथा कक्षा १२ सम्ममा पढाउँदा राज्य र अभिभावक सरदर २५ लाख रूपैयाँ लगानी भएको हुन्छ । हुर्की सकेर परिवार, समाज र देशका लागि योगदान गर्नसक्ने अवस्थाका हजारौं युवाहरू देशबाट पलायनहुँदा दीर्घकालीन रूपमा देशलाई नोक्सानीको हिसाब किताब नै छैन ।
६. आर्थिक अवस्था कमजोर हुने परिवारका युवाहरू आफ्नो सम्पूर्ण सम्पत्ति बैँकमा धितो राखी ऋण लिएर विदेशिएका हुन्छन् । उता तिनीहरूले आफै कमाएर अध्ययन शुल्क पनि तिर्न सक्दैनन् । यता बैँकको ऋण तिर्न नसक्दा बैंकहरूले सम्पत्ति लिलामी गर्दा परिवारको बिचल्ली भईरहेको छ ।
७. यहाँ आमाबुवा तथा विदेशमा छोराछोरी दुबैमा एक्लोपन बढ्दो छ । मूलतः आर्थिक समस्याका साथै परिवारबाट टाढा हुँदा कयौँ युवाहरू डिप्रेसनको सिकार भएका छन् र आत्महत्या गर्नेको सङ्ख्यामा पनि वृद्धि भईरहेको छ । युवाहरू पलायन हुँदा अधिकांशका आमाबुबा बिरामी हुँदा अस्पताल पुर्याउने वा हेरविचार गर्ने समेत कोही छैनन् ।